काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक राजावादी प्रदर्शनको घटनामा संलग्न भनिएका आठ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर गरिएको छ।

सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरि शर्माका अनुसार प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको घटनामा दुर्गा प्रसाईँसहित आठ जनालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यानसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

मुद्दा दायर गरिएकामध्ये दुर्गा प्रसाईँसँगै हरिहरि चौलागाईं, तारा राजावादीका नामले चिनिने सरोज गौतम, शतिश न्यौपाने, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारू रहेका छन्।

तीनकुनेस्थित प्रदर्शनका क्रममा सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो। घटनापछि व्यापक अनुसन्धान गर्दै प्रहरीले संलग्न व्यक्तिहरू पहिचान गरी अभियोग अघि बढाएको हो।

अदालतमा मुद्दा दर्ता भएसँगै घटनाले राजनीतिक तथा कानुनी क्षेत्रको ध्यान तानेको छ। प्रतिवादीमध्ये केही राजनीतिक रूपमा सक्रिय व्यक्तित्वहरू रहेका कारण यो मुद्दाले विशेष चर्चा पाउने निश्चित देखिन्छ।