माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको जनविरोधी कामले प्रतिक्रियावादी शक्ति उत्साहित भएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादीले प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने बताएका हुन् । 

काठमाडौंमा राजावादीहरूको गतिविधिप्रति संकेत गर्दै अध्यक्ष दाहालले केही दिन अभियान रोकिएको समेत बताए । ‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदैगर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं,’ दाहालले भने ।

काठमाडौंको राजनीतिक गतिविधिका कारण केही दिनपछि मात्र अभियानलाई निरन्तरता दिने योजना रहेको पनि उनको भनाइ छ । सोमबार बिहान पार्टी सचिवालयको बैठक बस्ने र अभियानसहित अन्य महत्त्वपूर्ण विषयमा छलफल गरिने उनले बताए ।हुलाकी राजमार्गकेन्द्रित माओवादी तराई-मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको पनि अध्यक्ष दाहालको भनाइ छ ।

‘हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौं। यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ। जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्,’ उनले भने ।