

काठमाडौँ। नेकपा माओवादी केन्द्रले आज मुख्य कार्यलय पेरिसडाँडा सहित देशभर विभिन्न कार्यक्रम गरी ३० औँ जनयुद्ध दिवस मनाएको छ ।
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।आज पेरिसडाँडामा आयोजित बिशेष कार्यक्रममा प्रथम शहीद दिल बहादुर रम्तेल सहित शहीदहरुको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रवक्ता अग्नी सापकोटा , हितमान शाक्य लगायतका नेताहरु उपस्थित भएका थिए ।
२०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
कार्यक्रममा प्रचण्डले जनयुद्धलाई कसैले पनि मेटाउने प्रयास गरे उनीहरु खरानी हुने चेतावनी दिएका थिए । उनले अब समाजवादी क्रान्तिको लागि सबै जनतालाई एकजुट हुन अपील पनि गरेका थिए ।
आज देशका दर्जनौँ माओवादीले जितेका पालिकाहरुमा सार्वजनिक विदा दिएर विभिन्न कार्यक्रम गरिएको छ ।
प्रचण्ड सरकारले जनयुद्ध दिवसका दिन विदा दिने निर्णय गरे पनि सर्वोच्च अदालतले उक्त विदा नदिन आदेश जारी गरको थियो ।
जनयुद्धका क्रममा देशमा करीब १७ हजार मानिसको मृत्यु भएको थियो । सँयौँ अझै वेपत्ता छन् भने हजारौँ घाईते तथा अपांग छन् ।

