
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले हालै सम्पन्न उपनिार्वचन परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन् ।
पार्टीको गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई मंगलबार सम्बधोन गर्दै पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रुपमा आफूहरुलाई जनमतले अनुमोदन गरेको बताए । काँग्रेस र एमालेलेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफवाहलाई जनताले खारेज गरेको उनको भनाइ थियो ।
‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौं भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो’, पुनले भने, ‘कहिले एमालेले र कहिले काँग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं । उपचुनावको परिणमबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौं ।’
विगतका केही निर्वाचनमा तालमेल गर्दा काँग्रेस र एमालेले आफूहरुको मत लिएको तर आफूहरुलाई मत नदिएको पनि यो निर्वाचनले पुष्टि गरेको उनले बताए । उनले काँग्रेस र एमालेको जनमत घटेको र आफूहरुको बढेको दाबी गरे । जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा आफ्नो दल दोश्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो । निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुई दलीय व्यवस्थामा लैजाने र पालौलापो जनतालाई शासन गर्ने काँग्रेस–एमाले महत्कांक्षामा धक्का लागेको उनले बताए । ‘अब त्यो सम्भव छैन । बहुदलीय प्रतिस्पर्धा हुन्छ । माओवादीलाई माइनस गरेर जान तपाईंहरुले सक्नुहुन्न’, पुनले भने ।




