

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको भूराजनीतिक अवस्थितिले संवेदनशीलता र चुनौती गम्भीर रहेको बताएका छन्। काठमाडौंमा आयोजित नेपाल-भेनेजुएला मैत्री सङ्घ घोषणा कार्यक्रममा उनले विश्व राजनीति एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताएका हुन्।
नेपालले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई अगाडि बढाउनु पर्ने उनको भनाइ थियो। ‘हामीले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने, हामीले पञ्चशीलको मान्यतालाई अवलम्बन गर्ने, संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई मूल आधार बनाउने, असंलग्नतालाई स्वीकार गर्ने र आफ्नो देशको राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई अगाडि बढाउनु पर्दछ। यसलाई हामीले केन्द्रबिन्दुमा राखेर यसमा विचलित नभई अरूसँग मैत्रीपूर्ण सम्बन्ध हामी राख्न चाहन्छौं,’ उनले भने।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालले छिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिने बताए। नेपालले भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिने बताए। ‘कुनै एउटासँग घनिष्ठ सम्बन्ध, अर्कोसँग अलि दूरीको सम्बन्ध हामी त्यसको पक्षमा छैनौं,’ श्रेष्ठले भने, ‘मुख्यतः हामी भारत र चीन दुवैसँग मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चाहन्छौं। त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वाभाविक रुपमा समनिकटताको आधारमा हुन्छ, दुवै देशसँग समानताको आधारमा हुन्छ।’
नेपालले आफ्नो राष्ट्रिय हितको पक्षमा उभिँदा कुनै पनि देशले आफ्नो विरुद्धमा गतिविधि गर्यो भन्न नमिल्ने पनि श्रेष्ठको भनाइ थियो। नेपालले सधैँ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आएको र आगामी दिनमा पनि त्यसबाट विचलित हुन नहुने उनले बताए।