चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार डा. केडी जोशी जलन उपचार केन्द्र नामकरण गरी सेवा पुन: सुरु गरिएको हो । जसमा १० जनरल बेड, ५ आईसीयू र तीनवटा अप्रेसन थिएटर छन् ।

नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए । उनकै नामबाट अस्पतालले केन्द्रको नामकरण गरेको हो ।

‘अबदेखि जलनका बिरामीलाई चाहिने सबै सुविधा वीर अस्पतालले दिन सक्छ । हामीले केन्द्रको रुपमा यसको नामाकरण गरेका छौं,’ डा. पौडेलले अनलाइनखबरसँग भने, ‘ जलेका बिरामी अन्य अस्पताल र विदेशमा समेत रिफर गर्नु नपर्ने गरी सेवा दिन्छौं ।’

नेपालजस्तो अल्पविकसित देशमा जलनको समस्या भयावह छ । चिकित्सकहरुका अनुसार जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन् । नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठूला अस्पतालमा ५ देखि १० बेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौं नै रेफर गर्ने चलन छ ।

‘जलनबाट बढी प्रभावित गरिब तथा विपन्न वर्गका हुन्छन् । सरकारी संस्थाले उहाँहरुको उपचार नगर्दा उपचारका लागि खेतबारी नै बेच्नुपर्ने अवस्था थियो,’ डा. पौडेलले भने, ‘ अबदेखि वीरले सर्वसुलभ र गुणस्तरीय सेवा दिन्छ ।’

अमेरिका लगायत विकसित मुलुकमा अत्याधुनिक उपकरण र स्तरीय उपचारका कारण ९० प्रतिशतसम्म जलेर आएका ५० प्रतिशत बिरामीलाई बचाएको रेकर्ड छ । तर नेपालमा ४० प्रतिशत जलेका बिरामीलाई पनि बचाउन हम्मेहम्मे पर्छ ।

हाल नेपालमा सबैभन्दा बढी सेवा दिइरहेको कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ ।उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको कीर्तिपुरको तथ्यांकले देखाउँछ । बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ ।