नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध संघर्ष जरुरी रहेको बताएका छन्। जनयुद्ध जनआन्दोलनको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य पेश गर्दै उनले सो कुरा बताएका हुन्।

सहिद प्रतिष्ठान नेपालले आज यहाँ आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा उनले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताए। महासचिव विप्लवले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको जिकिर गरे।

उनले देशमा नायकहरूलाई अपराधीजस्तो र अपराधीहरूलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान हो,’ उनले अगाडि भने, ‘जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। त्यसमा जनआन्दोलनको पनि भूमिका छ।’

महासचिव विप्लवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए। आफूहरूको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्‍याउने भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उनको भनाई छ। देशलाई समृद्ध बनाउने लक्ष्यका साथ आफूहरू नयाँ जिम्मेवारी लिन तयार रहेको पनि उनले बताए।