
कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा नेताहरूले नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् । बुटवलमा आयोजित सम्मेलनको शनिबार उद्घाटन सत्रमा सहभागी नेताहरूले अहिलेसम्मका कमजोरी, नेतृत्व र आगामी कार्यदिशाको विषयमा धेरै समय खर्चिएका हुन् ।लुम्बिनी कांग्रेसको अहिलेसम्मको गतिविधिको समीक्षा, आगामी योजना र कार्यदिशाका लागि भएको सम्मेलनमा केन्द्रीय नेताले भने आगामी नेतृत्वको विषयमा जोड दिएका थिए ।
सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई अब नेतृत्व छोडेर अर्का नेता डा. शेखर कोइरालालाई जिम्मेवार दिन आग्रह गरे । ‘विचारका धनी, जोसिला युवालाई साथमा राखेर अघि बढ्ने, डा. साब हो । उहाँलाई अघि लगाएर यो देश बनाउनुपर्छ,’ उनले भने । भण्डारीले सभापति देउवातर्फ लक्षित गर्दै नेतृत्वले स्थानीय, प्रदेश र संघको निर्वाचनका बेला टिकट वितरण गर्दा गुट र व्यक्ति हेरेर गलत व्यक्तिलाई टिकट दिएकै कारण वडा, पालिका, प्रदेश र संघका धेरै सिट जितेर पनि कांग्रेस कमजोर बनेको आरोप लगाए ।
कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले भण्डारीको भनाइको प्रतिवाद गर्दै नेतृत्वमा बसेर नेतृत्वलाई नै गाली गर्ने र कांग्रेस कमजोर भयो भन्ने अधिकार कांग्रेसकै नेतालाई नभएको तर्क गरे । कांग्रेस स्थानीय, प्रदेश र संघमा पहिलो पार्टी बन्नुमा नेतृत्व र सभापति देउवाकै योगदान रहेको उनको भनाइ थियो ।
लगत्तै बोलेका सभापति देउवाले पनि भण्डारीलाई प्रत्युत्तर दिएका थिए । ‘यहाँ नेता चन्द्रजी धेरै चर्को बोल्नुभयो, उहाँ भाषण खुब गर्नुहुन्छ, बिरामी पर्नुभयो, उपचार गरेर आउनुभएको छ, उहाँलाई बधाई र शुभकामना पनि छ,’ उनले भने, ‘अब काम गर्ने बेला पनि आएको छ, मलाई विश्वास छ, काम पनि गर्नुहुन्छ अब । काम गर्न परो, जति बोल्न सजिलो हुन्छ, काम गर्न गाह्रो हुन्छ ।’ देउवाले बुद्ध जन्मस्थलमा भएको सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे । छोटो बोलेका उनले आफू कम बोल्ने तर काम बढी गर्ने नेता भएको पनि बताए । ‘म त कम बोल्ने मान्छे हुँ, थाहै छ,’ उनले भने, ‘कम बोल्ने, धेरै काम गर्ने विचार छ, हेरौं के हुन्छ ?’
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि पार्टीको नेतृत्व परिवर्तनमा जोड दिए । उनले सभापति देउवा ५ पटक प्रधानमन्त्री र २ पटक सभापति भइसकेकाले अब फेरि प्रधानमन्त्रीको दौडमा लाग्न नहुने सुझाव दिए । ‘सभापतिज्यू, तपाईंले हिजो कमैया मुक्ति, मधेश र एकताकाको विद्यार्थी आन्दोलनको पनि नेतृत्व गर्नुभयो र सफल पनि पार्नु भयो,’ उनले भने, ‘अब तपाईं प्रधानमन्त्री र सभापतिको दौडमा दौडनु हुँदैन, अब समकालीन कोही छ भने आऊ, नभए युवा अघि बढ भन्न सक्नुपर्छ ।’ नेता शर्माले एमाले र रास्वपाको मिसन ८४ अभियानप्रति लक्षित गर्दै अहिले देश ध्वस्त पार्ने, ध्वस्त पार्न दिने, केही नगर्ने अनि मिसन ८४ भन्दै हिँड्नेहरूलाई आफूहरूले शुभकामना दिने तर कांग्रेस देश बनाउने अभियानमा जुट्ने बताए ।
अर्का महामन्त्री गगन थापाले २०६० सालपछि जन्मिएको पुस्तालाई हेरेर पार्टी नेतृत्वले जिम्मेवारी हस्तान्तरण गर्न सुझाव दिए । ‘अहिले पनि युवापुस्ताले गणतन्त्र देखेको छैन । त्यो किन देखेको छैन भन्दा शीर्ष नेतृत्वले त्यो गणतन्त्रको मुकुट ढपक्कै ढाकिदिएका छन्,’ उनले भने, ‘त्यसैले अब हामीले त्यो मुकुट उल्टाइदिएर गणतन्त्र देखाइदिन जरुरी छ ।’ उनले बुद्धले सबै राजपाट छोडेको उपदेश जस्तै शीर्ष नेतृत्वले दोस्रो पुस्ताले गर्न सक्छन् भन्ने विश्वास गरेर जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताए । ‘त्यो जिम्मेवारी कांग्रेसले मात्र होइन, सबै पार्टीले दिनुपर्छ,’ उनले भने, ‘हामी दोस्रो पुस्ताले पनि समाल्छौं र सम्हालेर लैजाने विश्वास दिलाउनुपर्छ, दिलाउँछौं ।’
उद्घाटन सत्रको अन्तिममा बोलेका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसका नेताहरूमा त्यागको भावना विकास नभएसम्म देश परिवर्तन हुन नसक्ने बताए । कांग्रेस परिवर्तन गर्न निराशा अन्त्य गर्नु जरुरी रहेको र त्यसका लागि कांग्रेस नेतामा त्यागको भावना आउनुपर्ने उनको भनाइ थियो । ‘कांग्रेस परिवर्तन भयो भने देश पनि परिवर्तन हुन्छ,’ उनले भने । नेता कोइरालाले २०८२ सालमा पार्टीको अधिवेशन गर्न नसके पार्टीले थप पराजय बेहोर्नुपर्ने बताए । ‘कांग्रेसले २०८२ मा पार्टी–चुनाव गर्न सके र एकढिक्का भएर अघि बढ्न सकेमा अबको कुनै चुनावमा कसैको सहारा लिनु पर्दैन,’ उनले भने ।
दुई दिनसम्म चल्ने सम्मेलनमा शनिबारदेखि नै बन्दसत्र सुरु भएको छ । प्रदेश सभापति अमरसिंह पुनका अनुसार सम्मेलनमा ७ सय ५० भन्दा बढी प्रतिनिधिसहित जिल्ला सभापति, प्रदेशसभा सदस्य, ५२ वटै प्रदेश निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधिलगायत सहभागी छन् । बन्दसत्रमा पार्टीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस हुनेछ । आइतबार प्रतिवेदनमाथि छलफल र संघीयता कार्यान्वयनको अवस्था, संघीय सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकारलगायत विषयमा छलफलपछि निष्कर्ष निकाल्ने सभापति पुनले बताए ।-Ghanashyam gautam kantipur




