

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन्। पार्टी सम्बद्ध पेसागत जिल्ला समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमाथि बिना कारण हमला भइरहेको बताए।
‘राम्रो काम गर्दा पनि सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेरा तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौं,’ उनले भने। उपमहासचिव पुनले वर्तमान सरकार गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको बताए।
नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरूमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उनको जिकिर छ। राजनीति, प्रशासन र सुरक्षा संयन्त्रका राम्रा मानिसमाथि एकैसाथ सुनियोजित आक्रमण भइरहेको उल्लेख गर्दै उनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेको बताए।
आफ्नो पार्टीले विगतदेखि नै भ्रष्टाचार शून्य समाज, उत्पादन मैत्री, विकास मैत्री संरचना र सामाजिक न्यायको पक्षमा भूमिका खेल्दै आएको दाबी गर्दै उपमहासचिव पुनले सरकारमा हुँदा वा नहुँदा उक्त भूमिकाबाट विमुख नहुने उल्लेख गरे। उनले केन्द्रीय समितिको निर्णयअनुसार सुरु ‘घरघरमा माओवादी, जनजनमा माओवादी’, अभियानका क्रममा काठमाडौं उपत्यकामा रक्तदान, वृक्षारोपण तथा सफाइ अभियान सञ्चालन गरिने बताए।