
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सीताको निधन भएको हो। उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान नै उनलाई अस्पताल लगिएको थियो।
सीता लामो समयदेखि प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी)बाट ग्रसित थिइन्। केही वर्षदेखि उक्त रोगसँग जुझिरहेकी सीताको नेपालका साथै अमेरिका र भारतका विभिन्न अस्पताल पुर्याएर उपचार गरिएको थियो। तर, विश्वका नाम चलेका अस्पतालमा उपचार गर्दासमेत उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएन। अन्ततः बुधबार उनको निधन भयो।
अन्य कैयौं श्रीमान-श्रीमतीझैं प्रचण्ड र सीताले पनि लामो समय सँगै बिताए। तर, यो जोडीको केही विशिष्ट अनुभवहरु पनि रहे। खासगरी प्रचण्डको भूमिगत राजनीति, सन्तान हुर्काउनुपर्ने दायित्व र परिवारको कमजोर आर्थिक अवस्थाले उत्पन्न पारिवारिक बोझलाई सीताले कठिनाइका साथ पार लगाएकी थिइन्। जनयुद्धकालका कठोर समयमा पनि उनी प्रचण्ड सँगसँगै रहिन्।
जनयुद्धको समय अनिश्चयपूर्ण थियो। जीवन र मृत्युको कुनै ठेगान हुँदैनथ्यो। संयोगहरुलेसमेत कैयौंको मृत्यु हुन्थ्यो, कैयौं बाँच्थे। त्यस्ता दिनमा पनि सीताले प्रचण्डलाई सहयोग गरिरहिन्। एक अन्तर्वार्तामा सीताले जनयुद्धकालमा प्रचण्डलाई सुरक्षित गराएका सन्दर्भहरुको चर्चा गरेकी छिन्। मूल्यांकन मासिकमा प्रकाशित सीताको सो अन्तर्वार्ताको एक अंश यहाँ प्रस्तुत छ।
तपाईंले नै उहाँलाई सुरक्षित गराएका घटनाहरू उल्लेख गरिदिनु न?
त्यस्ता घटनाहरू त धेरै छन्। ठ्याक्कै मेरो बलले उहाँलाई बचाएका मुख्यतः दुईटा घटना छन्। एकपटक सात वर्षअगाडि भारतमा अल कायदाको खुब चर्चा र खोजी भइरहेको थियो। उहाँ र म दिल्लीबाट गोरखपुर आउँदै थियौं। रेलको एउटा सिटमा हामी दुईजना सुतेर आएका थियौं। एउटाको टाउको अर्कोको खुट्टा यता बनाएर, उल्टोपाल्टो हुँदै। त्यहाँ इण्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो। उहाँले हाम्रो ठूलो झोलामा माओवादी डकुमेण्ट, पुस्तक र लेखहरू राखेर ल्याउनुभएको थियो।
मैले दिल्लीमा नै उहाँलाई भनेकी थिएँ, ‘अहिले किताबहरू नलैजाऔं। हाम्रो स्टाफ पछि आउँदै हुनुहुन्थ्यो। बाइचान्स चेक भयो भने सबै पर्छ। तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उहाँले लिएर आइहाल्नुभयो केही हुन्न भनेर। उहाँले रेलमा ती सबै सामान सिरानीमा हालेर बस्नुभएको थियो।
इण्डियामा रहँदा दुनियाँ नाटक गरेर बस्नुपर्दथ्यो। म पनि प्रायः हातभरि चुरा, गहना वा त्यस्तै पहिरन लगाएर हिँड्थे। माओवादी महिलाहरुजस्तो ‘सिम्पल’ भएर हिँड्नुको सट्टा गृहिणी महिलाजस्तो भएर हिँड्थेँ, त्यो आफूलाई जोगाउन गरिन्थ्यो। रेलमा सबै मान्छेको चेक गरियो। म निन्द्रामा रहेछु। चेक गरेको थाहा पाएर म बिउँझिएँ। यसो हेर्छु त पुलिसले सारा झोला र खल्ती चेक गरिराखेको छ, अरुलाई उठाइरहेको पनि छ। फेरि त्यही बेला उहाँले जुँगा पनि पाल्नुभएको थियो। दाह्री पनि लामो भइसकेको थियो। मुख्यतः मुसलमानहरुले प्रायःजसो दाह्री पाल्ने। त्यतिखेर दाह्री–जुंगा भएका मुसलमानहरुकै खोजी भइरहेको थियो। त्यसपछि मलाई कस्तो भयो भने के गर्ने के नगर्ने? उहाँ त तन्ना ओढेर सुतिरहनुभएको थियो। खुट्टाले झक्झकाएर सङ्केत गरेँ, ‘तपाईं चुप लागेर सुत्नुहोस् ।’ त्यो सङ्केत पाएपछि उहाँले बुझ्नुभो। म गृहिणी महिलाजस्तो यता–उता गर्दै बसेँ। त्यसपछि सबैलाई चेक गर्दा पनि हामीलाई गरेन र बल्लतल्ल बचियो।
अर्को त्यस्तै घटनामा २०६० सालमा सुरेश आलेमगर र मातृका यादव पक्राउ भएको बेला थोरै संयोगले उहाँलाई बचाइएको छ। घटना दिल्लीकै हो, त्यहाँ हामी सँगै थियौं। साथीहरूसँग कुरा गरेर डेरामा फर्किँदै गर्दा साँझ परिसकेको थियो। उहाँले ‘म त सुरेश आलेको डेरामा जान्छु, मातृका पनि आउनुभा’को छ, कुराकानी गर्नुछ’ भन्नुभयो। मैले ‘राति भइसक्यो अहिले नजानुहोस्’ भनेँ। दुई/तीनपटक जुत्ता लगाउँदै बाहिर जाँदै गर्नुभयो। मैले कराएको कराई गरेपछि फर्केर भित्र कोठामा आउनुभयो।
भोलिपल्ट बिहान ९ बजेको थियो होला। उहाँले ‘म जान्छु’ भन्न थाल्नुभयो। मलाई के लागेको थियो भने सुरेशजी त यता–उता भाषण गर्दै हिँडिराख्ने मान्छे, त्यहाँ सुरक्षित नहुनसक्छ। त्यसैले श्रीमान्लाई सम्झाउने तरिकाले कुरा गरेँ। ‘उहाँहरू कोठामा हुनुहुन्छ कि हुनुहुन्न, त्यो बुझेर मात्रै जानुपर्छ भनेँ। त्यसपछि उहाँले स्टाफलाई फोन गरेर सुरेशजीकहाँ बुझ्न लगाउनुभो। पहिलोपटक जाँदा नभएको खबर लिएर साथी आउनुभएछ। दोस्रोपटक बादलजीको स्टाफलाई पठाउँदा त त्यहाँको चिया पसलेले भनेछन्, ‘ती मान्छेहरूलाई त बेलुकै पुलिसले लगिसक्यो।’
त्यसरी यी दुईटा घटनामा म नजिकबाट सामेल भएको छु।
रोल्पाको डाँडागाउँमा पनि अध्यक्ष रौं–रौंले बच्नुभएको रहेछ, होइन?
रोल्पामा त जनताकोमा बस्ने गर्दथ्यौं। त्यहाँ हामी बसेको घरमा बमबारी पनि गर्यो। त्यहाँ पनि मैले चेताउने काम अलि पहिलेदेखि नै गरेकी थिएँ। उहाँहरुलाई भन्थें, ‘अब हामी यहाँ नबसौं। यहाँ बसेको लामो समय भइसक्यो। जनताहरू सदरमुकाम आउँछन्, जान्छन्। त्यो भएपछि लिक हुनसक्छ, खतरा हुनसक्छ।’
बमबारी हुनुभन्दा पाँच दिनअगाडि पासाङलाई पनि भनेकी थिएँ, ‘अब यहाँ त बस्नुहुन्न है बाबु!’ त्यसपछि उहाँहरूले ‘ठीक हो’ भनेर सरेको दुई रातमात्र भएको थियो, बमबारी गरिहाल्यो।




