अस्पृश्यता, एउटा सामाजिक रोग हो । विश्वका प्राय अधिकांश देशहरुमा यसको प्रभाव देखिन्छ तर पश्चिमा देशहरुमा रहेको भेदभाव छुवाछुत हाम्रो सन्दर्भमा भन्दा केहि फरक प्रकारको भएता पनि चाडै नै त्यसको प्रभावलाई न्यून तुल्याउन सफल भए । खास गरी सिन्धुघाँटीबाट प्रवेश गरेका आर्यहरुको प्रभाव गंगा जमुना नदि आसपासमा विकास हुँदै गर्दा यस खण्डमा अस्पृश्यताको कलंकित छायाँ नराम्रोसँग पर्न गएको पाईन्छ । सिन्धुबाट प्रवेश गरेका कारण युनानीहरुले उच्चारण गर्दा उनिहरुको जिव्रोले स लाई ह उच्चारण गर्ने हुँदा यस भूखण्डमा बसोबास गर्नेहरुलाई उनीहरुले हिन्दु भनेको तथ्य उजागर हुन आउँदछ । आज हिमवत खण्डको पृष्ठ स्थलको रुपमा रहेको आजको आर्य समाजको प्रभाव रहेको स्थललाई हिन्दुस्तान भनी संसार गरी चिनिदै आएको छ ।

हाल नेपालमा जारी २०७२ सालको संविधान मातहत वनेका कानूनहरुले नेपालको पहाडी क्षेत्रमा बसोबास गर्ने गहुँगोरो वर्ण, लामो नाक भएका व्राम्हण, क्षेत्री, दशनामी, कामी, दमाई, सार्की तथा वादी समुदायलाई खसआर्य भनी परिभाषित गरेको छ । नश्लीय दृष्टिकोणले भारतको गंगा जुमना नदि किनारमा विकास भएको आर्यहरुलाई वैद्धिक आर्य भनिन्छ भने हिमवत खण्डमा इरानको खसिस्लान देखि क्रमश पूर्व तर्फ वसाई सर्दै सभ्यता विकास गर्दै अघि वढेको आर्य समाजलाई खस आर्य भन्ने गरिएको छ । हिमवत खण्डका आर्यहरुको शरिर तथा अनुहारको वनौट तल्लो तटीय क्षेत्रका आर्यहरुसंग मिल्दो जुल्दो भएता पनि नश्लीय हिसावले फरक जातीका हुन । सुमेरु पर्वतमालाको २४०० कि.मी. लामो हिमवत खण्ड र त्यसको वक्ष भागमा रहेको भारत वर्षको आयसमाजको धार्मिक तथा साँस्कृतिक प्रभाव स्वभाविक रुपमा पर्न गएका कारण कतिपय राम्रा नराम्रा दुवै खाले रितिथिती, चालचलन अन्तरघुलित हुँदै हामीमा पर्न आएको देखिन्छ ।
ई.पु. १५०० आसपासबाट ई.पु. १००० मा लिखित सर्ब श्रेष्ठ ऋगवेदमा तात्कालीन समाजलाई कार्य विभाजन गर्दा कर्मको आधारमा व्राम्हणलाई मुख तथा शिरभागको प्रतिक, दिमागी कार्यको जिम्मा (पठन पाठन शिक्षा दिक्षा) लगाईयो भने भुजाको प्रतिक क्षेत्रीलाई वलवाहु, बल ताकत, सुरक्षा, राज्य संचालन आदिको पर्यायको रुपमा परिभाषित गरियो । त्यस्तै खेती किसानी, राज्यलाई कर तिर्ने, पोषण गराउने वर्गको रुपमा वैश्यलाई चित्रण गरियो, भने समाजमा सेवाकार्य गर्न, परकल्याणको कार्य गर्ने, शिपयुक्त कार्यगर्ने, समाजको आवश्यकता पुरा गर्ने वर्गलाई शुद्रको रुपमा परिभाषित गरियो ।
समयक्रममा ऋगवेदको यो परिभाषा स्थिर रहन सकेन । तत्कालीन शासक वर्ग व्राम्हण र क्षेत्रीहरुले उत्तर वैद्धिक काल (ई. पूर्व १०० देखि ६०० सम्ममा आइ पुग्दा नै ऋगवेदकालीन वर्ण व्यवस्था तोडी जन्मको आधारमा नै जातकायम हुने बनाई सकेका थिए । कर्मको आधारमा विभाजित वर्ण व्यवस्था स्वत जन्मको आधारमा नै हुने भएबाट वर्ण विभाजनलाई उत्तर वैदिककालमा नै जातमा रुपान्तरण गरियो ।
यसै विन्दुबाट समाजमा शासक र शासितको वर्ग विभाजन भयो । जसको आधारमा शासकीय शक्ति भएकाले निर्धोलाई विभेद गर्न शुरु भयो । कालान्तरमा गएर छुवाछुतको रुपमा सारा शासितहरु पिडित तथा विभेदीकरणको शिकार हुन पुगे । आज आम आर्यसमाज भित्रको जोडदार कलंकको रुपमा अस्पृश्यता (छुवाछुत) रहँदै आएको छ । आर्य समाजको विकासक्रमको यी वितेका ३५०० वर्ष भित्रमा समाजमा व्याप्त हुन आएको यो कलंकित चलनले अन्य विकशित देशहरुका सामु आर्यसमाजले शिर झूकाउन वाध्य तुल्याएको छ ।
उत्तर वैद्धिककालको अन्त तिर जन्मिएका वुद्धले बैद्धिकहरुले सृजना गरेको छुवाछुत तथा वर्णाश्रमका विरुद्ध जेहाद छेडे पनि कालन्तरमा उनको प्रयास पर्याप्त नभएको प्रमाणित हुन्छ । वुद्ध तथा बौद्ध धर्म नै पछि गएर छुवाछुतको कोपभाजनमा परी भारत खण्डवाटै विलिन हुन पुग्यो । ई.स. पछि स्थापित भएका सबै भारतीय शासकहरुले अस्पश्यतालाई मलजल नै पु¥याए । कैयौ अकाल मै जिवन घुमाउनु प¥यो भने बाँचेकाहरुले पनि सन्तानदर सन्तानसम्म नारकीय जीवन विताउनु प¥यो भारत बर्षमा मुगलहरुको आक्रमण भएपछि त झन धार्मिक अस्पश्यता समेतको प्रवेश हुन गयो भने अग्रेजहको प्रवेश सँगै रंगभेदको नयाँ स्वरुपको अस्पश्यता समेत भोग्न वाध्य भए । आधुनिककालको भारत वर्षमा ई.स. १८९७ मा जन्मिएका दलित नेता वावा साहेव अम्वेदकरको समयबाट पहिलो पटक अस्पश्यता वारेमा जोडदार आन्दोलन मात्र उठेनकी दलितहरुलाई संविधानिक रुपमै अधिकार सम्पन्न बनाउन वाध्य तुल्यायो । तसर्थ भारत वर्षका पछिल्ला ३५०० वर्षमा छुवाछुतको विभेदीकरणले विश्व कृतिमान नै कायम ग¥यो ।
पश्चिमा देशहरुमा पनि हुने खाने र गरिव, मालिक र श्रमिक, वहुसंख्यक र अलप संख्यक विजयी र विजीतहरुका विचमा विभेद थियो, अन्याय अत्याचार रहे पनि हाम्रो आर्य समाजमा जातको कठोर अस्पृश्यता रहेन तथापी वर्ण भेदमा पारेर अधिकारबाट वंचित गर्ने, वाँधुवा मजदुर बनाएर वेच्ने आदि घटना पश्चिमा समाजमा पनि रहेकै थिए तर उनीहरुले समाज विकाससँगै यस्ता घटनाहरुलाई कानूनद्धारा नै निरुत्साहित गर्दै लगे भने त्यसको ठिक विपरित हाम्रो भूखण्डमा रहेका आर्य सभ्यतामा कानूनद्धारा नै विभेदको जालोलाई कसिलो वनाउँदै लगियो । यसै मेशोमा निर्माण भएका उपनिषद तथा मनुष्मृति नै मुख्य कानूनको रुपमा प्रयोग गरियो र सम्पूर्ण आज्ञा इश्वरको हो भन्ने झूटा आधार खडा गरि समाजलाई अन्धविश्वासमा चुलूम्मै डुवाउने कार्य भयो । जुन कुरा प्रथाको रुपमा हाम्रो समाजमा यसरी जकडियो कि त्यसको खिलाफमा लामो समय करिव २५०० वर्ष कसैले बोल्ने हिम्मत नै गरेन वा वोलेको कुरा लागू गर्नै सकेनन । जसको परिणाम स्वरुप हाम्रो समाजमा व्याप्त सामाजिक रोगका रुपमा अस्पृश्यताको कलंकित टीका लगाई रहेछौ । संसारमा प्राणीहरु धेरै प्रजातीका भएपनि उनीहरु विच विभेद छैन तर हामी मानिस भएर पनि एक प्रकृयाबाट जन्म जरामरण भएता पनि यिनै वीच विभेदको पर्खाल खडा गरेर हामीले हाम्रो समाजलाई चरम दूषित तुल्यायौं ।
हिन्दु धर्मभित्र सबै भन्दा आलोचित विषय नै जातीय विभेद हो । विभेद कै आधारशिलामा हिन्दु वैद्धिक सनातनी धर्म टिकाउने जुन दुश्शाहस गरियो आज त्यहि विभेदलाई हटाउन हिन्दु समाजलाई फलामको चिउरा वनीरहेको छ । जातीय विभेद भित्र घुलित गरिएको अन्धविश्वासलाई एकै पटक ध्वस्त बनाउन कति कठिन भएको छ भन्ने कुरा भारतीय समाजमा व्याप्त कु्रीति बाटै छर्लङ्ग हुन्छ ।
हाम्रो नेपाल कै सन्दर्भमा हेर्दा मित्र राष्ट्रबाट उपहार स्वरुप प्राप्त सबै भन्दा कुरुप कुप्रथा नै जातीय विभेद रहेको छ । नेपालका खस आर्य शासकहरु करिव १४÷१५ औं सताब्दीसम्म पनि वौद्ध धर्मवलम्वी थिए । त्यसै गरी प्रजा पनि । भारत वर्षमा मुगल आक्रमण पछि वैद्धिक आर्यहरुको सांस्कृतिक प्रभाव एकै चोटी नेपालमा आक्रमण ढंगबाट पर्न गयो ।
नेपाल उपत्यकाका शासक जयस्थिति मल्ल (जो वैद्धिक आर्यका सन्तान त थिए नै त्यसको पक्ष पोशक समेत थिए) १६ औं सताब्दीमा चार वर्ण ६४ जातको विभाजन गराए । काठमाडौंको नेवार सभ्यतालाई विभाजित गर्ने कार्य भयो । नेपालका अन्य जाति (मतवाली) हरुमा जातीय विभेद करिव करिव शुन्य छ । गुरुङ्ग जातीमा रहेको ४ थर र १६ थरको विभेद पनि राणा कालमा नै समाप्त भयो । भने अन्य जनजातीमा जातीय विभेद शुन्य प्राय छ तर राणा शासनकालमा व्रम्हाणहरुलाई अग्राधिकार प्राप्त विभेदकारी नियम कानून बनाई लागू गरियो । वि.स. २००७ सम्म खस जातीमा रहेको जातीय विभेदको जरा निकै गहिरो रहेता पनि हालका दिनहरुमा ति जराहरु क्रमश खल्वलिन थालेका छन् । हाम्रो तराई मधेशमा व्याप्त वैद्धिक आर्यहरुले अन्तरघुलित गरेको जातीय विभेद र अन्धविश्वासको जरा निकै गहिरोसँग जकडिएको छ । जसलाई खल्वल्याउन मधेसी समुदायबाटै विभेदीकरण विरुद्ध, अस्पृश्यता विरुद्ध अन्धविश्वासको जगमा टिकेको रुडिवादलाई उखेलेर फ्याक्न जरुरी रहेको छ । हाल सालै रुकुममा घटेको जातीय विभेदको विभत्स घटना तथा नेपालको तराईमा समय समयमा वाहिर आउने छुवाछुतका श्रृङखला वद्ध घटनाहरुले हाम्रो समाजको कुरुप अनुहार दपर्णमा देखाई रहेछन ।
जातीय विभेद र अन्ध विश्वासी रुडिवादलाई धर्म सँग जोड्नु अर्को पाखण्ड हो । तथापि आज हाम्रो समाजमा कानूनले निषेध गरिसकेपछि त्यस्ता कार्यले मानिसको जीवनको प्रत्येक आयामहरुमा केहि न केहि प्रभावपारी रहेको छ । तसर्थ समाजका अगुवा, राजनैतिक कार्यकता तथा सरकारका प्रतिनिधिहरुले यस्ता कुरिती विरुद्ध स्पष्टसँग आफ्नो धारणाहरु राख्नु पर्दछ । साथै समाजका प्रत्येक सुझवुझ भएका मानिसहरुले तथाकथित दलितहरुको सर्वस्वीकार्यतामा वुद्धि गर्दै कानूनले दिएको अधिकारको निर्वाध उपयोग गर्ने वातारण तयार पार्न सक्नु नै आजको प्रथम कर्तव्य हो ।
लेखक सापकोटा संस्कृतिविद् हुनुहुन्छ ।