स्थानीय बासिन्दाको ७० करोड रुपैयाँ हिनामिनाको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् ।

शुक्रबारदेखि नै नेपाली सम्पर्कमा नआएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्‌गत बरालले जनाए । रकम हिनामिना गरेर भागेको हुनसक्ने आशंकामा प्रशासनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकामा निगरानी बढाउन आग्रह गरेको छ ।

नगर प्रमुख नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै वैशाख ९ गते सूचना टाँसेर बन्द गरिएको थियो । सयौं मानिस उनको कार्यालयमा दैनिक भुक्तानी माग्न जाने गरेका थिए । नेपाली आफैंले ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताएका थिए ।