
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल सुरु गरिएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनीको सामर्थ्य कार्यक्रमको अन्तिम सत्र पर्यटनको उडानमा सहभागी हुँदै मन्त्री किरातीले विमानस्थल सञ्चालन गर्न उडान अनुमतिका लागि कूटनीतिक पहल भइरहेको बताएका हुन् ।
जेठ २ मा उडान सुरु भएर हाल ‘ग्राउन्डेड’ को अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई पुन: सञ्चालनमा ल्याउन सिमराहको रुट अपर्याप्त भएकाले अन्य रुटबारे भारतसँग छलफल गर्न उच्च स्तरीय समिति बनाएको मन्त्री किरातीको भनाइ छ ।
‘पर्याप्त तयारी गरेर सञ्चालन ल्याइएको थियो कि थिएन भन्ने हिजोको कुरा हो, आज यो सञ्चालनमा छ,’ उनले भने, ‘अन्य रुटबारे छलफल गर्न उच्चस्तरीय टोली भारत जाँदैछ । प्रधानमन्त्रीको भ्रमणका क्रममा पनि यसलाई एक एजेन्डा बनाइनेछ ।’
२०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । उद्घाटनको ९ महिना बित्दासमेत विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले गति लिन सकेको छैन ।




