
पोखरामा भएको विमान दुर्घटनामा परी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको मृत्यु भएको छ। आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको नाइन एन एएनसी एटीआर ७२ जहाज अवतरण गर्ने क्रममा पोखरामा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको हो।
पौडेलेको ३७ वर्षको अल्पायुमै निधन भएको खबरले स्तब्ध र शोकमग्न भएको महासंघले जनाएको छ।
पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए।
२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिएका थिए।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गरेका थिए। विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशकरसम्पादकका रूपमा कार्यरत थिए। पौडेलका आमा, श्रीमती र एक छोरा छन्।
‘उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले उदयीमान पत्रकार नेता गुमाएको छ’ महासंघले शोक विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।’
यसैबीच नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसी केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ।
जसअन्तर्गत भोलि २०७९ माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं भोलिदेखि नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको महासचिव रोसन पुरीले जनाएका छन्।




