
पश्चिम तराईको बाँकेको अधिकांश क्षेत्र जलमग्न भएका छन् । राप्ती नदीमा आएको बाढी गाउँमा पसेपछि कृषि चौफेरिबाट स्थानान्तरण गरिएका २५० जनालाई नेपालगन्जबाट खाद्यान्न पुर्याउन सकिएको छैन । नेपालगन्ज उपमहानगरको वडा नम्बर १८ र २० का४ सयभन्दा बढी बासिन्दा डुबानबाट विस्थापित भएका छन् । गृह प्रशासनले डुबानको खतरा अझै बढेको भन्दै नदी, खेलानाला तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जाने भनेको छ । राप्ती नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी आएको छ ।
बाढी र डुबान पीडितले गाँस, बासको समस्या रहेको बताएका छन् । उद्धार टोली धेरै ढिलो आयो । अहिलेसम्म खान पाएको छैन,’ नेपालगन्ज वडा नम्बर २० का विकास गुरुङले भने, ‘पाउने खाने र बस्ने ठाउँ छैन । न त कुनै नेता हेर्न आएका छन् । न त अरु कसैले सहयोग नै गर्यो ।’
नेपालगन्ज उपमहानरपालिकाले पानी निकास गर्न नसक्दा बस्ती डुबानमा परेका हुन् । उपमहानगरका धेरै घर जलमग्न भएका छन् । उपमहानगरसँगै जोडिएको गनापुर बस्ती पनि डुबानमा परेको छ ।
स्थलगत अवस्था बुझ्न पुगेका प्रमुख जिल्लाअधिकारी सूर्यबहादुर खत्रीले विस्थापितहरुलाई आदर्श माविमा राखेको र खाने बस्ने व्यवस्था स्थानीय तहसँग समन्वय गरी मिलाएको बताए ।प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले अहिलेसम्मकै सबैभन्दा ठूलो बाढी आएकाले राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको र सेना, सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको उद्धार टोली परिचालन गरिएको बताए । राप्ती नदीमा आएको बाढी खतराको चिह्नभन्दा निकै माथि बगेकाले तटीय क्षेत्रमा धेरै बस्तीहरु डुबानको उच्च जोखिमा परेका छन् ।




