
अछाम १ बाट सर्वसम्मत रुपमा सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावललाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट नदिने भएको छ । निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बनाउनका लागि प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी र अछाम जिल्ला कमिटीले रावलको नाम एकल सिफारिस गरेर पठाएको थियो । रावलको स्थानमा एमालेले झपट बोहोरालाई टिकट दिएको छ । बोहोरा माओवादी केन्द्रबाट एमालेमा आएका नेता हुन् । सुदूरपश्चिम प्रदेशसभाका सांसद रहेका बोहोरा प्रदेश सरकारको अर्थमन्त्री रहेका थिए ।
२०७७ फागुन २३ मा नेकपा एकता प्रक्रिया खारेज गर्ने भएकालेको निर्णयपछि माओवादी केन्द्रमा नफर्की बोहोरा एमाले बसेपछि पार्टीले सांसद सदस्यबाट हटाएको थियो ।
१० बुँदे सहमतिपछि एमालेको रहेका रावलले मंसिरमा भएको एमालेका १० औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । रावलको भूमिकालाई लिएर ओली असन्तुष्ट रहँदै आएका थिए ।
अछामको नेताहरुसँग भेटमा पनि अध्यक्ष ओलीले रावलको एकल नाम सिफारिसबारे उम्मेदवारीको विषयमा चासो राखेका थिए । रावलले २०५१, २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा अछाम १ बाट निर्वाचित भएका थिए । रावल पछिल्लो समयमा ओलीको आलोचकका रुपमा रहेका थिए ।
एमालेले पूर्व उपमहासचिव घनश्याम भूसाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । स्रोतका अनुसार यो सूचीमा भुसालको नाम छैन ।एमालेको १०औं महाअधिवेशनमा ओलीले घोषणा गरेको सूचीमा असहमत भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता पनि उनले अध्यक्ष ओलीमाथि प्रश्न उठाउने गरेका थिए ।




