विक्रम संवत् १८०१ देखि २०७८ सम्मको आधुनिक नेपालको इतिहासमा पाँच पटक राजनीतिक धार परिवर्तन भएको देखिन्छ । १८०१ सालमा भएको नुवाकोट आक्रमण नेपालको इतिहासको एउटा पानीढलो हो । २७८ वर्षको यो कालखण्डमा राजनीतिक धार परिवर्तनको एउटा लामो शृंखला देखिन्छ ।कसैलाई मन पर्नु वा नपर्नुसँग इतिहासले खासै सरोकार राख्दैन । भविष्यमा कस्तो शक्तिको उदय हुन्छ र त्यसले इतिहासलाई कसरी बुझ्छ वा कस्तो व्याख्या गर्छ भन्ने कुराले इतिहासले आफ्नो धरातल परिवर्तन गर्दैन र यो गर्न सम्भव पनि छैन ।

धार परिवर्तनको शृंखला

आधुनिक नेपालको पहिलो धार परिवर्तन पृथ्वीनारायण शाहको नेतृत्वमा भएको देखिन्छ । राजाका जति जना छोरा भए त्यतिवटै राज्य थपिने राजनीतिक धारको सट्टा ठूलो र शक्तिशाली राज्य खडा गर्ने धारको नेतृत्व पृथ्वीनारायण शाहकै पहलमा सुरु भयो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको हो कि गोरखा साम्राज्य खडा गरेको भन्नेमा एकमत छैन । कतिपयले उनलाई एकीकरणको नायक मान्छन् भने कतिपयले गोरखा साम्राज्य विस्तारको खलनायक । यो बहसको अर्को पाटो हो ।

शक्तिशाली र केन्द्रीकृत राज्य निर्माण गर्ने अनि सानातिना राज्यलाई आफ्नो राज्यमा मिलाउने त्यो बेलाको अन्तर्राष्ट्रिय राजनीतिक प्रवृत्तिसँग पृथ्वीनारायण शाहको प्रवृत्ति मिलेको देखिन्छ । युरोपमा नेपोलियन बोनापार्टको साम्राज्य विस्तार अभियान र नेपालमा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान एउटै समयक्रममा भए । विक्रम संवत् १८०१ सालदेखि सुरु भएको यो धारको उत्कर्ष १८६१ सालमा काँगडा (हाल भारतमा) विजयसम्म पुगेको देखिन्छ । १८७३ सालमा भएको सुगौली सन्धिपछि राज्य विस्तारको धार खुम्चिएको देखिन्छ । अर्कातिर ‘वाटर लु’ को लडाइँमा नेपोलियन बोनापार्टको पतन र गोरखा राज्य विस्तार अभियानको पराजयको काल पनि एउटै थियो ।

दोस्रो धार परिवर्तन जंगबहादुर राणाले गरे । १९०३ भदौ ३१ मा भएको कोतपर्वपछि शक्तिमा आएका राणाले सुरु गरेको जहानियाँ राणा शासन १०४ वर्षसम्म चल्यो । एउटै देशमा, एकै समयमा दुई राजा श्री ५ र श्री ३ को, मूलत: श्री ३ हरूको शासन भएको राजनीतिक धार प्रयोग भएको देखिन्छ । नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा समाहित गराउनेबाहेक देशले कुनै उपलब्धि हासिल नगरे पनि यो नेपालको एउटा राजनीतिक धार परिवर्तन हो ।

तेस्रो धार परिवर्तन २००७ सालमा भयो । १०४ वर्षे राणा शासनको अन्त्य र बेलायती मोडलसँग मिल्दोजुल्दो संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र स्थापना यो धारको मुख्य विशेषता हो । यो धार परिवर्तनका मुख्य नेता बीपी कोइराला र नेपाली कांग्रेस थिए भने प्रमुख सहयोगी शक्ति नेपाल कम्युनिस्ट पार्टी र प्रजा परिषद् । यो धार २००७ सालदेखि २०१७ सालसम्म पहिलो पटक र २०४६ सालदेखि २०६३ सालसम्म दोस्रो पटक रह्यो ।

चौथो राजनीति धार परिवर्तन राजा महेन्द्रको नेतृत्वमा भएको थियो । जननिर्वाचित सरकारलाई सैन्य ‘कु’ मार्फत अपदस्थ गरी उनले पञ्चायती राजनीतिक धार लागू गरे । दलहरूमाथि प्रतिबन्ध लगाए । सामूहिक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउनु तर व्यक्तिगत रूपमा चुनाव लड्न पाउनु उनको धारको विशेषता थियो । यो धार नेपालमा तीस वर्ष चल्यो ।

तत्कालीन नेकपा माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु गरेको जनयुद्धले पाँचौं राजनीतिक धार परिवर्तन गरेको हो । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक व्यवस्थामा लैजान माओवादीको नेतृत्वमा भएको जनयुद्धको भूमिका निर्णायक रह्यो । तत्कालीन सात राजनीतिक दलहरू सहयोगी थिए । यो राजनीतिक धारले सामन्तवादको अन्त्य गराउँदै संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो ।

२०५२ फागुन १ मा सुरु भएको जनयुद्ध र २०६२–६३ सालको जनआन्दोलनको समायोजनबाट स्थापित भएको अहिलेको राजनीतिक धार प्रमुख राजनीतिक धार हो ।

परिवर्तनकारीहरूको दु:खान्त

पहिलो धार परिवर्तन गर्ने पृथ्वीनारायण शाहका पनातिका पालासम्म आइपुग्दा परम्परागत रूपमा जेठी महारानीका छोरा राजा हुने प्रचलन मिचियो र गीर्वाणयुद्ध वीरविक्रम शाह राजा भए । गीर्वाणका छोराका पालामा राजाको अधिकार राणाहरूका हातमा गयो । एक हिसाबले त्यही बेलादेखि सक्रिय राजतन्त्र खोपीको राजतन्त्रका रूपमा परिणत भयो ।

दोस्रो धार परिवर्तन गर्ने जंगबहादुर राणाको मृत्युलगत्तै उनका छोराहरूको कत्लेआम भयो । जंगबहादुरको वंश विनाश उनकै भाइखलकले गरे ।

तेस्रो राजनीतिक धार परिवर्तन गर्ने बीपी कोइरालाको पार्टीमा विग्रह आयो । उनकै दाइ मातृकालाई उचालेर प्रधानमन्त्री बनाइयो । बीपी नेतृत्वको दुईतिहाइको सरकारमाथि ‘कु’ भयो । त्यसपछि बीपीको जीवन कारावास र निर्वासनमा बित्यो ।

चौथो धार परिर्वतन गर्ने महेन्द्रको ‘अपत्यारिलो’ हृदयाघातबाट मृत्यु भयो । त्यति बेलाको भूराजनीतिक संवेदनशीलताको संयोजन गर्न नसक्दा महेन्द्र तनावमा परेको तथ्य जगजाहेर छ ।

पाँचौं धार परितर्वन गर्ने मुख्य शक्ति माओवादी शान्ति प्रक्रियामा आएको छोटै समयमा फुटेर टुक्रा–टुक्रा भयो । आफैंले माग गरेको संविधानसभाको रक्षा गर्न सकेन । दोस्रो संविधानसभाको निर्वाचनयता माओवादी लगातार तेस्रो शक्तिका रूपमा मात्रै खुम्चिन पुग्यो । आफ्नै नेतृत्वमा भएको परिवर्तनको स्वमित्वसमेत लिएर जोगाउन सकेन । बरु माओवादीले स्थापित गरेका एजेन्डाहरू अपहरणमा परे ।

नेपालको राजनीतिक धार परिवर्तन गर्ने शक्तिहरूले आफू र आफैंले गरेको परिवर्तनलाई व्यवस्थापन गर्न सकेनन् । फलस्वरूप सबै परिवर्तनकामी शक्ति परिवर्तनपछि कमजोर भए । यसलाई संयोग मात्र मान्न सकिँदैन । धार परिवर्तनपछि शक्तिविशेष किन कमजोर हुने गरेको छ भन्ने सवालको जवाफभित्र माओवादीको भविष्य निर्धारित छ ।

माओवादीको पुनरुदयको प्रश्न

इतिहासका वियोगान्त संयोगहरूको सही समीक्षा समयमै गर्न सकेको भए माओवादी आजको अवस्थामा हुने थिएन । इतिहासमा आफैंले गरेको बलिदान संस्थागत गर्न माओवादी असफल भयो । बरु परिवर्तनविरोधीहरूले माओवादीको बलिदानलाई हत्याराको बिल्ला भिराउँदै हत्याराको आरोपसमेत माओवादीमाथि नै लगाए ।

माओवादी सिध्याउन माओवादीविरोधीहरू माओवादीलाई नै प्रयोग गर्न सफलझैं देखिए । आफैंले जन्माएको सन्तानलाई मेरो हो भनेर गम्लङ्ग अँगालो हालेको भए आज माओवादी अर्कै स्थानमा हुने थियो । विभाजित माओवादी घटकहरू आफ्नै सन्तानको डीएनए परीक्षण गर्न थाले, आफैंले जन्माएको सन्तानमा खोट देख्न थाले र विभाजनमा पुगे । परिवर्तन र सरकारमा रहेर गरेका राम्रा कामको स्वामित्व लिन नसक्दा माओवादी अहिले तेस्रो शक्तिमा सीमित भएको छ ।

यो निर्वाचनमा गठबन्धनसहित होमिने तयारीमा रहेको माओवादीले देशको पहिलो वाम शक्ति र दोस्रो राजनीतिक शक्तिका रूपमा पुनरुदय हुने लक्ष्य लिएको छ । के यो सम्भव होला त ? आम मानिसबीच माओवादी आफ्नो पुनरुदयको औचित्य स्थापित गर्न सफल हुन्छ कि हुँदैन भन्ने सवाल पेचिलो बनेको छ । माओवादीले आफूले गरेका राम्रा कामबारे गर्वका साथ बताउन नसकुन्जेल यसको पुनरुदय कठिन देखिन्छ । अरूले पिठो बेचिरहँदा माओवादीले चामल बेच्न सकिरहेको छैन ।

२०४६ सालपछि काठमाडौंमा देखिने गरी भएको परिवर्तन सडक विस्तार र लोडसेडिङको अन्त्य हो । विकासको कोसेढुंगा मानिने यी दुवै काम माओवादीकै नेतृत्वमा भए । तर विडम्बना, उपत्यकामै माओवादी सबैभन्दा कमजोर छ ।

ताप्लेजुङदेखि डडेल्धुरासम्म जोड्ने मध्यपहाडी राजमार्ग, उत्तरदक्षिण जोड्ने लोकमार्ग माओवादीले नै सुरु गरेको हो । माओवादीले गरिब किसानको ३० हजारसम्म ऋण मिनाहा र १ लाखसम्म ऋण लिएका साना गरिबहरूको ऋणको ब्याज र हर्जाना छुट गर्‍यो । २० युनिटसम्म बिजुली नि:शुल्क, किसान पेन्सन कार्यक्रम, संकटग्रस्त सार्वजनिक सस्थाको पुनरुत्थान माओवादीले गर्‍यो । नेपाल वायुसेवा निगमलाई जहाज किन्ने निर्णयदेखि बर्दिबाससम्म रेलसेवा विस्तार गर्न मुआब्जा वितरणको काम गर्‍यो । ठूला र रूपान्तरणकारी आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढायो । सामाजिक सुरक्षाको दायरा विस्तार गर्‍यो । राजनीतिक एजेन्डा र विकासका निर्णायक कामहरूको पहल गरेको माओवादी भने खुम्चिन पुग्यो ।

कमजोरीप्रति निर्मम समीक्षा गर्ने, आफ्ना कामको व्यवस्थित प्रचार गर्ने, एकताबद्ध हुने, संगठन व्यवस्थापन गर्ने, नेतृत्व विकासको सहज र सरल प्रक्रिया अपनाउने हो भने माओवादी पुनरुदय सम्भव छ । नयाँ राजनीतिक धार स्थापना गर्न सफल माओवादीले आफूलाई रूपान्तरण गर्दै देशलाई समाजवाद र समृद्धिको दिशातर्फ अघि बढायो भने पुनरुदय टाढा छैन । त्यसका लागि जनतासँग नयाँ विश्वासको सम्बन्ध स्थापित गर्न माओवादीले अझै ढिलो गर्नु हुँदैन ।

ढकाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।