

निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ मतदान स्थल कायम गरेको छ । निर्वाचन आयोगले मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी मतदान स्थल पुनरावलोकन गरेको जानकारी दिएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदानस्थल संख्या पुनरावलोकन गरिएको हो । ‘२०७९ साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदान स्थल पुनरावलोकन गरिएको हो,’ आयोगले भनेको छ ।
यसअघि देशभर १० हजार ७५६ मतदान स्थल रहेको र त्यसमा पुनरावलोकन गरिएको आयोगले जनाएको हो । ‘मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको छ,’ आयोगले भनेको छ ।
मतदानस्थल पुनरावलोकन भएपछि मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतका समस्या समाधान हुने आयोगको अपेक्षा रहेको अर्यालले बताएका छन् ।