
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोलीले भेट गरेको छ । शीतल निवासमा बुधबार भएको भेटमा अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीले नागरिकताको बारेमा व्यक्त गरेको चासो र माओवादीको आधार समान रहेको बताएका छन् ।दाहालको सचिवालयले उपलब्ध गराएको जानकारीअनुसार दाहालले राष्ट्रपति भण्डारीलाई नागरिकताको विषयमा राष्ट्रिय सहमति बन्न नसकेको कारण विधेयकमा नयाँ व्यवस्था नगरिएको बताए ।
अंगीकृत नागरिकताको बारेमा राष्ट्रपत ज्यूले राख्नुभएको चासो र हाम्रो धारण समान छ तर संसद्मा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन । यसबारे हाम्रो धारणा संसद्मा रेकर्ड गराएका छौं । सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ,’ दाहालले राष्ट्रपति भण्डारीलाई भने, ‘तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलीजीले पेस गरी राष्ट्रपति (तपाईं)द्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्थाअनुसार रहेको छ । यसलाई अनावश्यक राजनीतिकरण गरिनु दु:खद् छ ।’
संसद्को दुवै सदनबाट बहुमतले पारित गरेर प्रमाणिकरणका लागि पठाइएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले गत साउनको अन्त्यतिर सुझावसहित संसद्मै फिर्ता पठाएकी थिइन् । त्यसपछि संसद्ले पूर्ववत् विधेयक नै हुबहु पारित गरेको थियो । आफ्नो सुझावलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति भण्डारीले असन्तुष्ट रहँदै आएकी थिइन् ।




