नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताउनुभएको छ।

नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले आयोजना गरेको भेलामा उहाँले विश्वमा समाजवादी शक्ति पहिलेभन्दा अघि बढ्न सक्ने परिस्थिति बन्दै गएको बताउनुभयो। नयाँ संविधानअनुसार सम्पन्न निर्वाचनमा दुईवटा कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्ने अवसर जुटेको उहाँको भनाइ छ।

अवसरका आधारमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेर सरकार निर्माण गर्दा जनताको आकांक्षा सगरमाथाजस्तै चुलिएको चर्चा गर्दै नेता खनालले केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाएको दिनदेखि पार्टीलाई बेवास्ता गरेको आरोप लगाउनुभयो। पार्टीको निर्देशन नमानेर देश र जनतालाई धोका दिएको आरोप उहाँको छ।

‘कम्युनिष्ट आन्दोलनप्रति, पार्टीप्रति एकपछि अर्को प्रहार गर्न थालेपछि नेपालको कम्युनिष्ट आन्दोलनमा बडो दुभाग्र्यपूर्ण स्थिति सिर्जना भयो’, खनालले भन्नुभयो, ‘शक्तिशाली संसद् दुई–दुईपटक विघटन भयो र कम्युनिष्ट आन्दोलनलाई धोका दिन थालेको सिलसिलामा नयाँ कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी)को जन्म भएको हो।’

उहाँले राष्ट्रिय परिस्थितिमा रहेको प्रतिकूलतालाई बदलेर जानुपर्ने र त्यसका लागि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ६१ युवा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए। नवप्रवेशीलाई नेता खनालले टीका र खादा लगाई पार्टीमा स्वागत गर्नुभयो।