भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँब्लकमा रहेका भूमिविहीनलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडि बढिरहेको बताएकी छन् ।

सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर विर्ता र मल्हनियाँ खोरी)मा विशेष नापीमार्फत नापी गरिएको गाउँब्लक जग्गाको पूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपूर्जा वितरण कार्यलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकता बनाएर काम गरिरहेको बताइन् ।

२०२१ साल यता नापीहुदा गाउँब्लकका रुपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको र यस वर्षभित्र लालपूर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै सञ्चालन गरिरहेको पनि उनको भनाइ छ । चैत मसान्तभित्र सबै जग्गा धनीलाई लाजपूर्जा वितरण गरिसक्ने आफ्नो लक्ष्य रहेको उनले बताइन् ।

जमिन भएर पनि लालपूर्जा नहुँदा भूमिविहीन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोही पनि भूमिहीन भएर बस्नु नपर्ने मन्त्री श्रेष्ठले बताइन् ।

संविधानमा भएका नागरिकको हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध भएर लागेको उनको दाबी छ ।

मन्त्री श्रेष्ठले सेवा ग्राहीलाई सहयोग पुग्ने र छिटो काम हुनेगरी काम गर्न  कर्मचारीहरुलाई निर्देशन समेत दिइन् ।  सिरहामा शुक्रबारसम्म गाउँब्लकमा रहेका एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिसक्ने कार्यक्रम छ ।

यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसकेकी छन् ।

२०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही अफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिँदै आएकी छन् ।