कृषि लगायत उत्पादनमुलक क्षेत्रमा व्यापक लगानी विस्तार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुलाई निर्देशन दिएका छन् । आन्तरिक उत्पादन वृद्धि नगरी दीगो आर्थिक विकास सम्भव नहुने भन्दै अर्थमन्त्री शर्माले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्न बैंकहरुलाई निर्देशन दिएका हुन् ।

सोमबार राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन् । ‘बैंकका नयाँ कार्यक्रममा हालको ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ,’ उनले भने, ‘यी क्षेत्रको लगानी सकेसम्म दुई गुणा वृद्धि गर्नुस्।’

ती क्षेत्रमा भएको लगानी वृद्धिले राष्ट्रिय पुँजी निर्माण भई उत्पादन तथा रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्ने सरकारको नीति रहेकाले त्यो अभियानमा बैंकहरुले पनि साथ दिनुपर्नेमा उनले जोड दिए ।

बैंकहरु निक्षेपको परम्परागत स्रोतहरुमा मात्र केन्द्रित रहेकाले अब वैदेशिक ऋण, सहायता, ऋणपत्र निष्काशन लगायत उपायमार्फत स्रोत बढाउन पनि उनले निर्देशन दिए । यसका लागि सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धता जनाए। ‘राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएकाले पनि बढी जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो । यो रणनीति प्रभावकारी कार्यान्वयनका लागि यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’

अर्थमन्त्री शर्माले बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) शुभारम्भ गरेका थिए । याे सेवामा इन्टरनेट नभएको स्थानबाट पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्ने छन् । यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँच वृद्धि हुने उनले बताए । राष्ट्रिय वाणिज्य बैंकले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।