काठमाण्डौ उपत्यकामा रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् ।३ सय ८२ वटा घर डुबानमा परेका र १ सय ५८ जनाको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् ।वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् ।

सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाण्डौसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ ।वर्षाका कारण त्यस क्षेत्रमा पर्ने अरनिको राजमार्ग जलमग्न भए पनि बनेपाको पुलबजारबाट गाडी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । अहिले पानी पर्न कम भएपछि नदी, खोलामा पानीको सतह घट्दैछ ।