काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो समयमा सरकारले अस्पतालमा बेड उपलब्ध हुन नसक्ने सूचना जारी गरिरहँदा निजी अस्पतालले भने ब्रम्हलुट मच्चाएका छन् ।
अहिले संक्रमितहरुको संख्या अत्याधिक बढेका कारण सरकारी अस्पतालहरुमा सर्वसाधारणले उपचारका लागि बेड पाउन मुश्किल परिरहेको छ । तर यही बेला निजी अस्पतालले भने उपचारको बहानामा दैनिक ५० हजार रुपैयाँसम्म अशुली गरिरहेका छन् ।
राजधानीको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजले कोभिडका बिरामीहरुका लागि ‘कोभिड क्याबिन’ को व्यवस्था गरिएको भन्दै नयाँ शुल्क तोकेको छ । जसमा प्रतिदिन १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म शुल्क कायम गरिएको छ ।
यस्तै, धुम्बाराहीमा रहेको अर्को निजाी अस्पताल ह्याम्सले दैनिक ७ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म शुल्क तोकेको छ । ह्याम्सले सो शुल्कबारे कतै उजुरबाजुर नगर्ने मञ्जुरीनामा भरेर मात्र बिरामी भर्ना गर्ने गरेको पाइएको छ ।
मञ्जुरीनामा फाराममा लेखिएको छ, ‘सरकारी अस्पतालमा उपचार निशुल्क हुने अस्पताल प्रशासनले जानकारी गराएतापनि म/मेरो बिरामीलाई आफ्नो ईच्छाले यस अस्पतालमा उपचार गराउन चाहन्छु । यस अस्पतालमा उपचारको क्रममा लाग्ने सम्पूर्ण खर्च स्वयम् बेहोर्नेछु । तथा यसबारे उजुर बाजुर गर्ने छैन ।’
पछिल्लो समय कोरोना संक्रमण फैलिरहँदा केही दिनअघि सरकारले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने सूचना प्रकाशित गरेको थियो । त्यसको फाइदा निजी अस्पतालहरुले भरपुर उठाएका छन् । सरकारको वेवास्ता र निजी अस्पतालमा अत्यधिक महंगाइका कारण प्रशस्त रकम हुनेले कोरोना संक्रमणको उपचार गर्न सम्भव भएपनि सामान्य नागरिकका लागि उपचार पाउन मुश्किल हुने देखिन्छ




