नारायण प्रसाद आचार्य
दिन ढल्दै जाँदा
साँझ पर्दैगर्दा
विभिन्न रुपमा
विभिन्न भेषमा
चल्मलाउछन्
रत्नपार्क वरिपरि
एकहुल
आधुनिक अप्सराहरू
उर्वशी,रम्वा, तिलोत्मा जस्तै
सुकोमल शरीर
धपक्क बलेको अनुहार
लोभिने गर्छन्
आधुनिक ईन्द्रहरु पनि
भोको अप्सरा
प्यासी ईन्द्र
एकातिर भोक छ
अर्को तिर प्यास छ
दुबैतिर जीवन ज्यूने
गजवको आस छ
भोकोसंग प्यास मेटाउने साधन छ
प्यासीसंग भोक मेटाउने
भोको र प्यासीका वीच
वार्तालाप
मोल मोलाई
एकै छिनमा
दुबै ओझेल पर्छन्
विचित्रको देखिन्छ
आजकाल
दिन ढल्दै
अनि
साँझपर्दै गएपछिको
रत्नपार्क ।