काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित केही स्थायी कमिटी सदस्यले बैठक बहिष्कार गरे पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सुरु भएको बैठकमा प्रचण्डले पार्टीभित्रको विवादका विषयमा ब्रिफिङ गरेका थिए ।

बैठकले एकतर्फीरुपमा स्थायी कमिटी बैठक स्थगित गरेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गलत गरेको निष्कर्ष निकालेको छ । बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर छिटो भन्दा छिटो बैठक सुचारु गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको ऊर्जामन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ले जानकारी दिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भने, ‘यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी आगामी बैठक सुचारु गर्नका लागि अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।’

बैठकले पार्टी एकताको भावना अनुसारको भूमिका खेल्न सबैलाई आग्रह गरेको श्रेष्ठले बताए । उनले भने, ‘आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र पार्टीको वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पुर्याउनका निम्ति सबै नेता, कार्यकर्ता र सदस्यहरुलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आव्हान पनि गरेको छ ।’

आजको बैठकको मिति र समय यसअघि बसेको स्थायी समिति बैठकले नै निर्णय गरेको थियो । बैठकमा २९ जना स्थायी समिति सदस्यहरु र २ जना आमन्त्रित सदस्यहरुको उपस्थिति रहेको श्रेष्ठले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने बताए । उनले स्थायी कमिटीका सबै सदस्यलाई पार्टी एकता कायम राख्नका लागि आआफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कमरेडहरु यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ । कसैको लहड र उत्तेजनाबाट पार्टी विभाजन रोक्नका लागि सबैले भूमिका खेलौँ । पार्टीलाई विधि र प्रक्रिया अनुसार चलाउनुपर्छ ।’

पार्टी एकताको समयमा गरिएको छलफल स्मरण गर्दै प्रचण्डले भने, ‘ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो । यसलाई कसैको लहड र उत्तेजनाबाट मुक्त गर्नुपर्छ । पार्टी गम्भीर मोडमा पुगेको छ । हामी सबैजना जिम्मेवार बनौँ । उत्तेजना र लहडमा हामी लाग्नु हुँदैन ।’

प्रचण्डले आफूले आजको भेटमा पनि ओलीलाई बैठकमा सहभागी हुन आग्रह गरेको बताए । उनले भने, ‘आज पनि हामीले उहाँलाई आग्रह गर्यौँ । तर उहाँले मान्नु भएन । यसअघि पनि उहाँ सबै बैठकमा उपस्थित हुनु भएको थिएन ।’