रासस

काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा आज उनीप्रति श्रद्धान्जलि अर्पण गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारणले सामूहिक भेला हुन सक्ने अवस्था नभएकाले औपचारिक कार्यक्रम नगरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले जनाएको छ ।

नेपाल एकीकरणको प्रमुख अध्याय समाप्त भएको करिव छ वर्षपछि विसं १८३२ साउन ९ गते बगाले थापाकुलका पिता साना अमरसिंह थापा र माता सत्यरूपातर्फका पाँच भाइ छोरामध्ये जेठा छोराका रूपमा भीमसेन थापाको जन्म गोरखा बोर्लाङमा भएको थियो । विसं १८५५ मा २३ वर्षकै उमेरमा उनी सरदार पदवी प्राप्त गर्न सफल भएका थिए ।