सुरेन्द्र काफ्ले

काठमाडौं : भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ।  कोरोना महामारीकै मौकामा भारतको सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले गुन्जी–जोलिंकन सडक निर्माणलाई तीव्रता दिएको हो।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए।  त्यसपछि धार्मिकस्थल आदि कैलाश जानका लागि सडक बनाइरहेको भारतीय दैनिक पत्रिका अमर उजालाले हालै लेखेको छ।

त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ।  ३४ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ।  ‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि गुन्जीबाट जोलिंकनसम्मको ट्र्याक खोल्ने (कटिङ)को काम पूरा गरेको छ’, अमर उजाला लेख्छ, ‘३४ किलोमिटर लामो सडकमा अब पुल बन्न बाँकी छ।  पुल बनेसँगै आदि कैलाश पहुँच सहज हुन्छ।  पहिला आदि कैलाश जान दुई दिन पैदल यात्रा गर्नुपथ्र्यो भने सडक निर्माण भएपछि गुन्जीबाट डेढ घण्टामा पुग्न सकिनेछ। ’

जोलिंकनबाट लिम्पियाधुरा करिब १५ किलोमिटर उत्तर–पश्चिममा पर्छ।  चीनले लिम्पियाधुरा नजिकसम्म सडक बनाइसकेको छ।  जोलिंकन पर्वतमालामै आदि कैलाश अवस्थित छ।  त्यसलाई स्थानीय छोटा कैलाश भन्छन्।  चीनको तिब्बतस्थित कैलाश मानसरोवर पुग्न नसक्नेहरू आदि कैलाशको दर्शन गरी नजिकै रहेको पार्वती कुण्डमा नुहाएर फर्किने गरेका छन्।  आदि कैलाश र पार्वती कुण्ड महाकालीपारि भारतीय भूमिमा पर्छन्।  तर, भारतीय भूभागबाटै त्यहाँ जान सहज छैन।  त्यसकारण महाकाली नदीवारि भारतद्वारा अतिक्रमित भूमिबाटै उसले सडक बनाइरहेको हो।

गुन्जी र कुटीको बीचमा दुईवटा पुल निर्माण भइसकेको समाचारमा उल्लेख छ।  जुलाई अन्तिमसम्ममा कुटी गाउँको घट खोलाको नालामा तेस्रो पुल निर्माण भइसक्नेछ।  अरू दुई पुल पनि सेप्टेम्बरसम्ममा बम्ने सम्भावना रहेको जनाइएको छ।  नाभी, कुटीलगायत नेपाली भूभाग अतिक्रमण गरेर बसेका भारतीय सुरक्षा फौजलाई यी पुल बनेसँगै आवत्जावतमा सहज हुनेछ।

बीआरओले सडक निर्माणमा एक हजार स्थानीयलाई परिचालन गरेको जनाइएको छ।  कुटी, गुन्जी, नाभीका साथै बन्दी, गब्र्याङ, नपल्च्यु, रोकाङलगायत ठाउँका बासिन्दालाई सडक निर्माणमा लगाएको छ।

भारतले लिपुलेक–मानसरोवर र गुन्जी–जोलिंकन सडकलाई प्राथमिकतामा राखेको देखिएको छ। भारतले २०१९ नोभेम्बर २ ( २०७६ कात्तिक १६)मा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर आफ्नो नक्सा जारी गरेको थियो।  नेपालले त्यसप्रति विरोध जनाए पनि भारत वार्तामा आएन।  त्यसपछि उसले नेपाली भूभाग अतिक्रमण गरी सडकै उद्घाटन गरेको थियो।  त्यसपछि भने नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जेठ ७ गते आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो।  प्रतिनिधिसभाबाट जेठ ३१ मा नयाँ नक्सा अनुमोदन गरी असार ४ मा राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण भई लागू भइसकेको छ।

नेपाली भूभागमा दुवै सडक निर्माण रोक्न भारतलाई दबाब दिनुपर्ने सीमाविद् तथा कूटनीतिक क्षेत्रका जानकार बताउँछन्।  सीमासम्बन्धी शोधकर्ता कमल बराल नेपाली भूभागमा निर्माण कार्य रोक्न भारतलाई तत्काल प्रेस नोट पठाउनुपर्ने सुझाउँछन्।  नेपाली भूभागको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।

उनका अनुसार लिम्पियाधुरासहितको नक्सा बनाएर सरकारले नक्सा अतिक्रमणविरुद्ध नक्सा प्रतिरोध गरेको छ।  अब त्यो नक्सालाई संयुक्त राष्ट्रसंघमा दर्ता गराएर अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न माहोल बनाउन लाग्नुपर्ने उनी बताउँछन्।  ‘नेपाली भूभागको सुरक्षामा लाग्नुपर्छ’, उनी भन्छन्, ‘भारतसँग समानान्तर रूपमा सशस्त्र प्रहरीको बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) स्थापना गर्नुपर्छ।  भारतले अतिक्रमण गरेको भूभागलगायत दसगजा क्लियर गर्नुपर्छ। ’

भारतले एकतर्फी नेपाली भूमिमा सडक बनाइरहेको विषयमा स्थानीय प्रशासन जानकार रहेको देखिएको छ।  दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतले लिपुलेकतर्फ र लिम्पियाधुरातर्फ बनाइरहेको सडक बाढीपहिरोका कारण प्रभावित भएको बताए।  ‘यता लिपुलेकतिर जाने र गुन्जीबाट लिम्पियाधुरातर्फ जाने दुवैतिर सडक निर्माण भारतले गरिरहेको हो’, उनले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘तर, अहिले बाढीपहिरोले सडक निर्माण रोकिएको छ। ’

उनले नेपाली सेनाले नेपालतर्फ बनाइरहेको बाटो पनि बाढीपहिरोका कारण अगाडि बढ्न नसकेको बताए।  उनका अनुसार छाङ्रु र टिंकरमा एक/एक सय क्विन्टल खाद्यान्न पठाइएको छ।

‘भारतलाई काम रोक्न लगाउनुपर्छ’
– बुद्धिनारायण श्रेष्ठ

लिम्पियाधुरा क्षेत्रमा नेपालको पहुँच नै छैन। छाङ्रु र टिंकरतिरका बासिन्दा गुन्जीसम्म लुकिछिपी फाटफुट पुगिहाले पनि त्यो नाभी, कुटीमा नै नेपाली जान सक्ने अवस्था छैन। नेपालको भूमिमा नेपालीलाई नै भारतीय सुरक्षाकर्मीले जान दिँदैनन्। भन्नुको अर्थ त्यो क्षेत्रमा जान नेपालीलाई निषेध गरिएको छ।

लिम्पियाधुराबाटै काली नदी आउँछ। त्यो नै हाम्रो पश्चिमी सीमा हो। पार्वती कुण्डबाट आउने पानी पनि कालीमा मिसिन्छ। भारतले गुन्जीबाट जोलिंकन जाने सडक पनि बनाउँदै छ। उता लिपुलेक हुँदै पनि धमाधम सडक बनाइरहेको छ। लिपुलेक पुग्न दुई किलोमिटर मात्रै बनाउन राखेको छ। सन् २०२० भित्र सक्ने गरी उसले बनाइरहेको छ। तवाघाट–लिपुलेक हुँदै लिंक रोड ८० किलोमिटर उदघाटन गर्दा सिंगल लेन मात्रै छ। २०२२ सम्ममा डबल लेन र पक्की बनाउने लक्ष्य लिएको देखिन्छ। नेपालले लिम्पियाधुरातर्फ र लिपुलेकतर्फका सडक बनाउन रोक्न सक्नुपर्‍यो। त्यसका लागि कूटनीतिक रूपमा प्रयास गर्नुपर्छ।

भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर तीर्थयात्री पठाउन तयारी थालिसकेको छ। ६०/६० जनाका दरले १६ टोली पठाउन जुन १३ देखि सेप्टेम्बरसम्मको विज्ञापन पनि आह्वान गरिसकेको छ। १ लाख ८० हजारमा अनलाइन रजिस्ट्रेसन पनि खोलेको छ। भारतीय तिर्थालु नेपालको काठमाडौं–नेपालगन्ज–हिल्सा तथा भारतको सिक्किमको नाथुलाबाट मानसरोवर जाने गर्दै आएका छन्। भारतले लिपुलेकबाट मानसरोवर पठाउन गरिरहेको तयारी पनि नेपाल सरकारले रोक्नुपर्छ।