सुवास निरौला

कोभिड १९ ले थलिएका व्यवसायीले ६ महिनापछि ऋण तिर्न सक्ने व्यवस्था सहित नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

उनले थलिएको र विशिष्ट प्रकारको अवस्थालाई मध्यनजर गर्दै सबैलाई रिझाउने खालको मौद्रिक नीति सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको मौद्रिक नीतिको सबै क्षेत्रका मानिसले मिस्रित प्रतिक्रिया दिएका छन्। पूर्व गभर्नर,अर्थशास्त्री, उद्यमी, व्यवसायी र लगानीकर्ताले मौद्रिक नीतिको बारेमा छोटो प्रतिक्रिया दिएका छन्।

कोभिड १९ को लागि पुनर्संरचना, पुनर्तालीकिकरण र रिलिफको लागि गरिएको व्यवस्था राम्रो रहेको केन्द्रीय बैंकका पूर्व गभर्नर चिरन्जिवि नेपालले प्रतिकृया दिए। “कोभिड १९ लाई सम्बाेधन गर्ने गरेर नीति आएको छ। किनकी, पुनर्संरचना, पुनर्तालीकिकरण र रिलिफको लागि जुन व्यवस्था गरेको छ त्यो राम्रो  छ। नियमन निकायले ल्याउने त्यस्तै हो,” नेपालले भने।

बजारमा पैसा प्रशस्त हुने भयो तर आर्थिक गतिविधि भएन भने त्यो पैसा गलत तरिकाले उपयोग हुने चान्सेस हुन्छ। सुपरिवेक्षण र नियमनको कुरा अलि बढी गर्नुपर्ने स्थिति हो। त्यो चाहि नगरिएको नदेखिएको नेपालले बताए। तर, केन्द्रीय बैंकले गर्ला भन्ने आश गरिएको नेपालले बताए। “किनकि केन्द्रीय बैंकको काम भनेको वित्तीय स्थायित्व र मुद्रास्फितिलाई महत्त्वपूर्ण रुपमा हेर्नुपर्छ। यो पैसाले मुद्रास्फिति बढाउने सम्भावना बढी छ,” नेपालले मेरोलगानीसँग भने।

अर्थशास्त्री डा. डिल्ली राज खनालले केही सकारात्मक पक्ष रहेको प्रतिक्रिया दिएका छन्। तर, उनले अनुत्पादक क्षेत्रमा बढी लचकता दिएको भन्दै उनले असन्तोष व्यक्त गरेका छन्। “केही सकारात्मक पक्ष रहेका छन्। निक्षेप र कर्जाको अनुपात बढाउने, ऋण र किस्ता तिर्ने समय बढाउने कुरा, कृषिमा गर्नुपर्ने लगानीको सीमा १० बाट १५ पुर्‍याइएको छ। त्यो सराहनीय छ।  लघुवित्तले ऋणमा बढी ब्याज लिने जुन आरोप थियो त्यसलाई पनि केन्द्रीय बैंकले क्याप लगाएको छ। अरू क्षेत्रले बण्ड निष्काशन गर्ने लगायतका कुरा समेत यो मौद्रिक नीतिले समेटेको छ। त्यो राम्रो विषय छ।”

तर, आम रुपमा अर्थतन्त्रमा तरलता कम नहोस्, बैंकहरूको लगानी गर्ने क्षमता बढोस्, प्राथमिक क्षेत्रमा पनि ऋण लगानी होस् भन्ने स्थिति थियो त्यो अलि बाटो बिराएको जस्तो देखिन्छ। किनकि अनुत्पादक क्षेत्रका रुपमा रहेका घर जग्गा र शेयर लगानी जस्ता क्षेत्रमा उदार जस्तो देखिएको छ,” खनालले भने। कोभिड १९ को विषयलाई समेत यो मौद्रिक नीतिले छोएको छ। पुनर्कर्जालाई दिने विषयलाई वर्गीकरण गरेर दिने भनिएको कुरा समेत राम्रो देखिएको छ। तर, जुन रुपमा सुधारको कुराको अपेक्षा गरिएको थियो त्यो अनुरूप भने नआएको खनालले बताए।

कोभिड १९ ले थलिएकालाई प्राथमिकतामा राख्नु राम्रो रहेको अर्का अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले प्रतिक्रिया दिएका छन्। उनले समग्रमा मौद्रिक नीति राम्रै आएको भए पनि यसको कार्यान्वयन पक्षमा शंङ्का गरेका छन्। उनले अपेक्षा गरे अनुसारको भने नआएको प्रतिक्रिया अधिकारीको छ।

“यो मौद्रिक नीतिलाई सकारात्मक रूपमै लिनुपर्छ। यो नीतिले अलि लचिलोपन नै दिएको छ। मार्जिन बढाइ दिएको छ। कर्जाको वर्गीकरण गरिदिए र प्रोभिजन कम गर्ने खालको नीति छ। पुनर्तालीकीकरण, पुनर्संरचना गरिदिने कुरालाई पनि सम्बोधन गरेको छ। यसले जुन प्रावधानहरू ल्याएको छ। त्यसको कार्यान्वयन कत्तिको होला भन्ने चुनौती देखिन्छ।

जस्तै पुनर्कर्जा चाहिँ दुई तीन किसिमका पुनर्कर्जाहरू छन्। लक्षित वर्गमा पुग्छ कि पुग्दैन। अर्को कुरा यसलाई आकार बढाउने भनिएको छ त्यो कसले गर्ने? तर पनि यसलाई सकारात्मक रूपमै लिनुपर्छ,”  अधिकारीले मेरोलगानीसँग भने।

मूल कुरा के हो भने कोभिड १९ लाई पनि यसले सम्बोधन गरेको छ। कर्जा लिएर उद्योग सञ्चालन गर्ने कुरा र नयाँ व्यवसायहरू कसरी अघि बढ्छन्? भन्ने कुराले प्रभाव पार्नेछ। फेरि यसलाई कार्यान्वयन लैजाने कुरा कतिसम्म साथ दिन्छन् कि दिँदैनन् भन्ने कुरा छ। किनकि उनीहरूले नाफा खोजे यो सम्भव हुन गाह्राे छ। तर, हैन यस्तो अवस्थामा हामीले पनि साथ दिनुपर्छ भन्ने लिए भने यो नीति राम्रो हुने अधिकारीले बताए।

यता होटेल व्यवसायीले समेत मौद्रिक नीति राम्रै आएको भन्ने प्रतिक्रिया दिएका छन्। तर, अघिल्लो पटक दिइएको दुई प्रतिशत छुट समेत नपाएको भन्दै उनीहरूले कार्यान्वयन पक्षले नै यसको विषयमा प्रस्ट्याउने होटेल एसोसिएसनका प्रथम उपाध्यक्ष विनायक शाहले बताएका छन्।

“गभर्नर साहबले जसरी घोषणा गर्नुभएको छ, त्यो कुरा मैले बैंकमा गएर पाउनु पर्‍यो। नीति आउँछ तर कार्यान्वयन पक्ष असाध्यै कमजोर हुन्छ। जसले गर्दा कार्यान्वयन हुन्छ कि हुँदैन भन्नेमा दुविधा छ। किनकि, कति साथीहरूले यसअघि छुट दिने भनिएको दुई प्रतिशत ब्याज समेत पाएका छैनन्। त्यसले पूर्ण विश्वास गरिहाल्ने अवस्था छैन। तर कार्यान्वयनमा जान्छ नै भन्ने हो भने पर्यटन र होटेल क्षेत्रको लागि राम्रो सम्बोधन भएको छ। केही नहुनु भन्दा यो जाति नै छ,” शाहले भने।

यता सिएनआइले भनेको कुरा सबै जसो सम्बोधन भएको भन्दै उसले खुसी व्यक्त गरेको छ। समग्रमा निजी क्षेत्रलाई फेरि चलायमान हुनको लागि व्यवस्था मिलाएको भन्दै सिएनआइका अध्यक्ष सतिश मोरले प्रतिक्रिया दिएका छन्। “यो मौद्रिक नीतिमा सिएनआइले भनेका धेरै करा सम्बोधन भएको छ। त्यो सरहानीय छ। सबै जसो क्षेत्रलाई यसले समेटेको छ। पोलिसिमा सबै कुरा सम्बोधन गरिएको छ। तर, कार्यान्वयन र कार्यविधि कसरी आउँछ त्यो हेर्न बाँकी छ,” मोरले मेरोलगानीसँग भने।

सबैभन्दा राम्रो तरलता बढाउन सिसिडि रेसियो पाँच प्रतिशतले बढाएको छ। त्यसले ब्याजदर कम गर्न सहयोग गर्छ। पुनर्तालिकिकरण गर्ने, रिफाइनान्स गरिदिने, विशेष गरी पर्यटनलाई सम्बोधन गरेको मोरले बताए।

साना तथा मझौला व्यवसायीलाई सम्बोधन गरेको छ। शेयर बजारमा मार्जिन सीमा बढाइ दिएको छ। समग्रमा निजी क्षेत्रलाई फेरि चलायमान हुनको लागि व्यवस्था मिलाएको भनाइ छ।

सबैभन्दा बढी शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको मुक्त कण्ठले प्रशंसा गरेका छन्। गएको पाँच वर्षमै शेयर बजारका लागि सबैभन्दा उत्कृष्ट नीति आएको नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताए। “विगत चर पाँच वर्षसम्म आएका मौद्रिक नीतिमध्ये पूँजी बजारको लागि सबैभन्दा उत्कृष्ट मौद्रिक नीति हो। लगानीकर्ताहरूले अपेक्षा गरेका कुरा केन्द्रीय बैंकले पुरा गरिदिएको छ। मार्जिन सीमा ७० पुर्‍याइएको छ। १८० दिनको ठाउँमा १२० दिन झारिएको छ। यो एकदमै राम्रो छ। अहिलेको नीतिले तरलतालाई बढाउने कोशिस गरेको छ। बढी लगानी गर्न सकुन् भन्ने हिसाबले तरलता बढाउन वाणिज्य बैंकहरूलाई केही सहज गरिएको छ। समग्रमा धेरै राम्रो छ,” पौडेलले भने।