काठमाडौँ — असार १० बाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालजस्तै कमिटीका ‘११ जना स्थायी कमिटी सदस्य’ पनि चर्चामा आए । कृषिमन्त्री घनश्याम भुसालको संयोजनमा ती ११ नेताले दुईपटक सामूहिक छलफलसमेत गरे ।

पछिल्लोपटक भने यी नेताको भूमिकालाई लिएर स्थायी कमिटीका अन्य सदस्यले प्रश्न उठाएपछि ‘११ भाइ’को तेस्रो बैठक भने बसेन । यही बेला बरु दाहाल-नेपाल समूहका २० नेता फेरि सक्रिय भएका छन् ।

दुई अध्यक्ष मिल्नुपर्छ र पार्टी विभाजन हुनुहुँदैन भनेर पहिलोपटक असार १९ मा मन्त्री भुसालको निवास पुल्चोकमा र दोस्रोपटक उनकै कार्यकक्ष सिंहदरबारमा असार २५ मा ११ जनाले सामूहिक छलफल गरेका थिए । त्यहाँ भएको छलफलको विषयबस्तु लिएर मन्त्री भुसालले दुवै अध्यक्षलाई दुईदुई पटक भेटेका थिए ।

तर, सहमतिको सूत्र के हो भन्ने बारे ११ सदस्य आफैं प्रष्ट देखिदैनन् । ११ जनामा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा हरहालतमा दिनैपर्छ भन्ने दाहाल नेपाल समूहका नेता पनि हुनु र ओलीले दुवै पदबाट राजीनामा दिनुहुन्न भन्ने ओलीसमूहका नेता हुनुले गर्दा समूह आफैं स्पष्ट हुन नसकेको बताइन्छ ।

विल्कुलै फरक अडान र समूहका नेता छलफलमा त एकैठाँउ छन्, सहमति खोज्ने सूत्र भने भेटाएका छैनन् । असार २५ को छलफल अमूर्त भएपछि ११ सदस्यमध्येका एक जनार्दन शर्माले बहुमत सदस्य बसेर पार्टी एकता र निकासको विकल्प दिने प्रस्ताव गरेका थिए । तर, त्यसपछि उनीहरुको बैठक बसेको छैन । निकासका लागि नेतृत्वलाई दबाब दिनुपर्ने उनको मत थियो ।

तर, ती मध्येका केही नेताको अल्पमत र बहुमतका आधारमा निर्णय गर्न नहुने मत छ । ११ सदस्यमध्येका एक मणि थापा भन्छन्, ‘स्थायी कमिटीमा कसैको बहुमत पुग्दैन । बहुमत–अल्पमततिर गएर निर्णय भयो भने पार्टी, सरकार र राष्ट्रका निम्ति दुर्भाग्य हुन्छ । त्यहाँ कोही पनि पुग्नु हुँदैन ।’

पार्टीभित्रै स्थायी र सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट ओलीको राजीनामा मागेपछि नेकपा विवाद जटिल मोडमा पुगेको थियो । यद्यपि अहिले स्थगनको तहमा छ । नेता थापा त दुवैपदबाट ओलीको राजीनामा मागे पार्टी फुट्ने बताउँछन् । भन्छन्, ‘प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिएपछि त पार्टी भंग भईहाल्छ नि १ पार्टी फुटीहाल्छ । त्यो एकताको मर्म बाहिर हुन्छ । बहुमत र अल्पमतले निर्णय गर्ने बेला हैन यो । सहमतिबाट टुंगाउनु पर्छ ।’

असार १९ मा मन्त्री भुसालको निजी निवास पुल्चोकमा भेला भएका उनीहरुले पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेका थिए ।

छलफलको संयोजक गरेका मन्त्री भुसालले पार्टी एकीकरणका बेला ०७५ को जेठ २ मा भएको पाँचबुँदे सहमति र ०७६ मंसिर ४ मा भएको अध्यक्षहरूको जिम्मेवारी बाँडफाँडको निर्णयको जगमा नयाँ सहमति खोज्न सकिने तर्क गरेका छन् ।

पाँचबुँदे सहमतिको चौथो बुँदामा दुवै अध्यक्षले साढे दुई वर्षमा सरकारमा आलोपालो नेतृत्व गर्ने उल्लेख थियो । तर, उनीहरूले मंसिर ४ मा गरेको नयाँ सहमतिमा ओली सरकार र दाहाल पार्टी काममा केन्द्रित हुने गरी भनिएको थियो ।

असार २५ को भेलामा ११ सदस्यले पार्टी एकता जोगाउन सडक प्रदर्शन र धर्ना रोक्ने, सामाजिक सञ्जालबाट आरोप–प्रत्यारोप नगर्ने र दुई अध्यक्षबीच संवाद गर्दै जानुपर्ने निष्कर्ष निकालेका थिए । र, उनीहरुले आवश्यकताअनुसार छलफल गर्न सुझाब पनि दिएका थिए ।

११ सदस्य छलफलमा मन्त्री भुसालसहित प्रदीप ज्ञवाली, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा, शंकर पोखरेल, विष्णु रिमाल सहभागी थिए ।

यसमा अर्को रमाइलो के छ भने भुसाल, पुन, पाण्डे, रायमाझी, शर्मा र थापा ललितपुरको अगेनो रेष्टुरेन्टमा भएको दाहाल नेपाल समूहको भेलामा पनि सहभागी थिए, जसले ओलीले दुवै पदबाट राजीनामा दिनपर्ने निष्कर्ष निकालेको बताइएको थियो । उता ११ सदस्यले अन्तत ओलीकै हितमा काम गरेको भनेर दाहाल-नेपाल समूहका केही नेताको असन्तुष्टि पनि छ ।

सचिवालयकै एक सदस्य टिप्पणी गर्छन्, ‘११ भाइको भूमिका सकरात्मक छैन । धेरैजसो पद जोगाउन लागेका छन् ।’ स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘उहाँहरु ११ जना मात्रै पार्टी विभाजनको पक्षमा अरु विपक्षीमा भन्ने होइन । सबै पार्टी एकताकै पक्षमा छौं।’

दाहाल निकट केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ११ भाइको प्रयासलाई स्वार्थलाई केन्द्रमा‌ राखेर बनेको अस्थायी धार मान्छन् । ‘कुन्नि कति भाइका नाममा दोस्रो धार पनि छ–एकता जोगाऊँ भन्दै हिँडेको । मेरो बिचारमा एकता र संघर्षको मात्रै कुरा गर्नु निरपेक्षता हो ।’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘खासमा बिचार, राजनीति, संगठनात्मक प्रश्नका कारण दोस्रो धार बनेको होइन । यो पनि स्वार्थलाई केन्द्रमा‌ राखेर बनेको अस्थायी धार हो । यो धारमा व्यक्तिपिच्छेका फरक स्वार्थ छन् । यसका कैयौं नेता ठूलाहरूद्वारा परिचालित छन् । केहीलाई पुरानो ईगोको नेतासँग बदला लिनुछ ।’

११ सदस्य मध्ये भुसाल कृषि, ज्ञवाली, परराष्ट्र, पुन ऊर्जा, बस्नेत, वन, भट्टराई पर्यटन मन्त्री छन् । त्यसबाहेक पोखरेल प्रदेश ५ का मुख्यमन्त्री र रिमाल प्रधानमन्त्रीका मुख्य सल्लाहकार छन् । दाहाल नेपाल समूहमा रहेको भनिए पनि नेता रायमाझी र थापा निरन्तर प्रधानमन्त्री ओलीसँग संवादमा छन् । नेताहरु पाण्डे र शर्मा दुवैले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

उता स्थायी कमिटी बैठक बोलाउनुपर्छ भनेर लिखित पत्र दिने २० नेताले बुधबार छलफल गरेका थिए । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा उनीहरुले उनीहरुले पार्टीभित्रको अहिलेको समस्याको समाधान विधि र प्रक्रियाभित्रबाट खोज्नुपर्ने निष्कर्ष निकालेका छन् । नेता हरिबोल गजुरेलका अनुसार शुक्रबारको बैठक सूचारु गर्ने र सहमतिका विकल्पमा शिर्ष नेतालाई सुझाव दिने विषयमा छलफल भएको थियो ।

छलफलमा भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, मणि थापा, मातृका यादव, लीलामणि पोखरेल र हरिबोल गजुरेल र गणेश शाह सहभागी थिए । तीन नेता भीम आचार्य, चक्रपाणि खनाल र सुरेन्द्र पाण्डे काठमाडौंबाहिर रहेकाले भेलामा सहभागी थिएनन् ।

भिन्दाभिन्दै समूहका आआफ्ना तयारी भए पनि वरिष्ठ नेता झलनाथ खनाल भन्छन्, ‘कसैका व्यक्तिगत ईच्छा र मतका आधारमा यो पार्टी चल्दैन । पार्टी सामूहिक नेतृत्वका आधारमा चल्छ । व्यक्तिका ईच्छा र आकांक्षा बेग्लै हो । पार्टीका निर्णयहरुलाई मानेर जानुपर्छ ।’