=सुमन थापा “सङ्गम”
कतै दुर भागेर जालाकि भनि
स्नेहले समेटेकी थिएँ
जीवनमाथी टेकेर अघि बढी रहने हरेक क्षणहरू

एकोहोरो टोलाई रहेकी मलाई
मस्तिष्कको सन्दुकबाट सुटुक्क निस्किएर
बिचारले-
सृष्टिको प्रत्येक संघार टेक्न हिँड भन्यो इशाराले

एक एक गरि ब्रह्माण्ड देखाउन
क्षितिजको काँधमा घाम नाच्नु पहिले नै
म भन्दा छिटो बिउँझिएर अघि लागे आँखाका नानीहरू ..

म हिंडे यात्रामा..
कहाँ-कहाँबाट बग्दै आएर हावाले
कानमा सुस्तरी बयान गर्यो यो सृष्टिको

अघि बढेँ म –
दलिनका दुबै छेउ कलश राखेर
साइत पर्खिरहेको पाइतालाहरूले –
सृष्टि छोएर उस्को मर्मभेदिहरू
हृदयले बुझ्नु भन्यो मलाई
उसै बखत भन्यो-
अगाडि बाटाहरुमा भिरहरु छन्
पहिरोहरु छन् ,जोगिएर जानू भन्दै
गोडाहरूले अनवरत हिँडायो जीवनको गोरेटो ..

एकदिन-
बादलका कपास बटुलेर
हातहरूले बुन्यो प्रेमको न्यानो गलबन्दी
नदीका कल- कल धुनहरु
पछ्याउँदै – पछ्याउँदै कानले सुनायो
सत्य बाणीका ध्वनि तरंगहरू
श्वासले सुस्तरी संवादमा बयान गर्यो
यो सुन्दर सृष्टिको

साँझहरूका गर्भमा उज्यालो बटुलेर
सागरले जिवनको मधुर किरण देखाउँदै
पहाडका हृदय भिजाएर
गुलाबी ओंठहरु खोल्दै
स्वागत गर्यो मलाई सृष्टिको अर्को बिहानीले

एक युग बाँचेको स-शरिर हेरें मैले आफैलाई…
धन्यवाद छ-
मलाई गति दिने मेरो प्रत्येक अंगहरुलाई…
तिमीलाई मेरो यो जीवन समर्पण गर्न चाहान्छु !