भनिन्छ– राज्यलाई सधैं इमानदार मानिसहरूको खाँचो छ। अहिले सार्वजनिक क्षेत्रमा नैतिकता र सदाचारको महत्व झनै बढेर गएको छ। किनकि सर्वसाधारणहरूको अनुभूतिमा नैतिक आचरणको स्तर निकै कमजोर छ। नागरिकहरू स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन्। तर त्यसको सामथ्र्य र तत्परता सार्वजनिक क्षेत्रमा देखिएको छैन।

संस्थाहरूको कर्मचारीतन्त्रीकरण र सेवा वितरणमा राजनीतीकरणले प्रशासनयन्त्र पक्षपाती देखिएको छ। नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन्। यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन। तर कसरी ? यो नै अहिलेको ज्वलन्त चुनौती हो।

सार्वजनिक क्षेत्रमा नैतिकता भन्नाले पदाधिकारीले सम्पादन गर्ने कार्य र कार्यसम्पादन गर्दा देखाउने व्यवहारलाई व्यावसायिक र जनमुखी बनाउने मूल्य, सिद्धान्त र मानकहरूको अवलम्बन हो। प्रत्येक पेसाबाट सेवाग्राहीले खास व्यवहारको अपेक्षा गछर्न्। त्यो अपेक्षा पूरा गर्न सके मात्र सार्वजनिक प्रशासन बैध हुन्छ र सर्वसाधारण सन्तुष्ट हुन्छन्।

राजनीतिक रूपमा टतस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन्। समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको छ।

सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन्। सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै। त्यति मात्र पर्याप्त हुँदैन। उ, नैतिक, इमानदार र सदाचारी पनि हुनुपर्छ। जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनुपर्छ। उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ। संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ। जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ।

सार्वजनिक भूमिकामा रहने व्यक्तिको ओहोदा र भूमिका विस्तारका साथ बैयक्तिक अधिकार खुम्चिँदै र र सार्वजनिक दायित्व फैलिँदै जान्छन्। उनीहरूलाई सार्वजनिक जीवनका सिद्धान्तले मार्गदर्शन गरिरहेको हुन्छ। पहिलो सिद्धान्त स्वार्थहीनता हो। पदाधिकारीले प्रयोग गरेको ओहोदा र गरेको कार्यबाट सार्वजनिक स्वार्थमा कत्ति पनि आँच आउनु हुँदैन र आफू वा सम्बन्धितको स्वार्थ पूरा गर्नु हुँदैन। दोस्रो सिद्धान्त सदाचार हो।

सार्वजनिक पदाधिकारीले काम गर्दा वैयक्तिक लोभ, लालच र स्वार्थबाट अलग रहनुपर्छ। तेस्रो, वस्तुपरकता हो। सार्वजनिक सरोकारका कार्यमा अपनाइएको कार्यविधि एवम् कार्यधारमा मनोगत आग्रह होइन, वस्तुपरकता रहनुपर्छ। चौथो सिद्धान्त जवाफदेहिता हो। सार्वजनिक पद र अधिकार प्रयोग गर्ने व्यक्तिले प्रयोग गरेको साधन, स्रोत तथा अधिकार एवम् निरोपित भूमिकाप्रति ऊ स्वयं जवाफदेही रहनुपर्छ। पाँचौं सिद्धान्त खुलापन हो। लिइएका निर्णय, अपनाइएको आधार, प्रयोग गरेको साधनलगायतका कार्यमा सरोकारवालाको पूर्ण पहुँच स्थापित गर्नुपर्छ। ‘पारदिर्शता अधिकार हो र गोपनीयताचाहिँ अपवाद’ भन्ने मान्यता अवलम्बन गरिनुपर्छ। छैटौं सिद्धान्त इमानदारी हो।

पदीय भूमिका निर्वाह गर्दा पेसागत इमानदारीको उच्चतम प्रदर्शन गर्नुपर्छ। आफूमा भएको क्षमता र सीपको प्रयोग पूर्णरूपमा गर्नुपर्छ। सातौं र सबैभन्दा महत्वपूर्ण सिद्धान्त उदाहरणीयता हो। व्यवहार, आचरण, कार्य र प्रस्तुतिमा उच्चतम उदाहरण ओहोदाधारी स्वयं बन्नु पर्छ। त्यसो हुन सकेमा संस्था नैतिक बन्दछ र नैतिक आचरणको लहरे असर मातहत पदाधिकारी र समाजमा समेत पर्न जान्छ।

सार्वजनिक प्रशासनमा रहने व्यक्तिहरूमा व्यावसायिक नैतिकताको अपेक्षा गरिन्छ। सामान्यरूपमा भन्दा निजामती सेवाका सिद्धान्त र ती सिद्धान्त अवलम्बन गर्ने तत्परता नै व्यावसायिक नैतिकता हुन्। सिद्धान्त किन हो भने सिद्धान्तले खास मूल्य प्रणाली स्थापनामा जोड दिन्छ, कार्य उपलब्धिको आधार दिन्छ। सिद्धान्तप्रतिको प्रतिबद्धता किन भने यसले ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्न लगाउँछ। त्यसैले व्यावसायिकता वा व्यावसायिक हुनु नै निजामती सेवाको नैतिकता हो।

व्यावसायिक नैतिकता प्रवद्र्धनका लागि प्रशासनले सार्वजनिक फाइदाको अधिकीकरण गर्नुपर्छ। सामान्य जागिर खाएर त्यो पुष्टि हँदैन। त्यसको पुष्टिका लागि आवश्यकता पहिचान र सम्बोधन, सांगठनिक मूल्य प्रवद्र्धन, सेवाग्राहीको भावनाको अन्तरबोध, वैयक्तिक चाखको परित्याग, खुला पहुँचमा रहने प्रवृत्ति र कानुन कार्यान्वयनमा स्वयं चालित हुनुपर्छ। प्रशासनले सार्वजनिक जवाफदेहिता र जिम्मेवारीको सुनिश्चित गर्नुपर्छ।

जसका लागि खुला र पारदर्शी बन्ने, सुसूचित हुने, अभिलेखित हुने, इमानदार बन्ने र ग्रहणशील हुने स्वभाव देखिनुपर्छ। सार्वजनिक प्रशासक जो नेतृत्वमा छ, ऊ सधैं उदाहरणीय बन्नुपर्छ। उदाहरणीय बन्नु भनेको अभिव्यक्ति दिएर हुँदैन, आदर्श भएर, नैतिक आचरण लिएर, ठीक रहेर, मानवीय बनेर, निष्पक्षता देखाएर, स्वयं क्रियाशील बनेर, योग्यताप्रति सम्मान गरेर र उपयुक्त रहेरै उदाहरणीयता पुष्टि हुने हो। अरूको गल्ती देखाएर होइन, आफ्नो कार्यव्यवहारबाट नै कोही उदाहरण बन्न सक्छ।

व्यावसायिक नैतिकताको अर्को पक्ष व्यावसायिक उपलब्धि बढाउनु हो। पदाधिकारी प्रश्नमा रहेर, लगातारको सुधारमा रहेर, आविष्कारमुखी भएर, सेवाग्राहीमैत्री प्रक्रिया अपनाएर, नीति दक्षता बढाएर, प्रशासनिक रोगविरुद्ध लडेर र सम्पादित कार्यको महत्व प्रमाणित गरेर नै सार्वजनिक प्रशासन नतिजामुखी बन्न सक्छ।

सार्वजनिक प्रशासनमा व्यावसायिक नैतिक आचरण बढाउने कार्य निकै जटिल छ। यो चाहेजस्तो सजिलो छैन। न त यसलाई सूत्रमै आबद्ध गर्न सकिन्छ। विद्वान् लाओ त्छुले भन्नु भएथ्यो, ‘धेरै कानुन र निर्देशन हुनु भनेको धेरै चोरी र दुराचार छ भन्नु पनि हो।’ अल्पविकसित मुलुकमा धेरै कानुन र आचारविधि त जारी गरिएको हुन्छ तर नैतिकताको सवाल त्यही नै बढी देखिन्छ।

तसर्थ कानुन, नीति संरचना र संगठन हुनु मात्र पर्याप्त होइन, त्यसलाई कार्यान्वयन गर्ने तत्परता, संस्थागत प्रयास र सामाजिक अभिमुखीकरणसहितको नैतिक अभियान प्रमुख कुरा हुन्। सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको कार्यजिम्मेवारीको परिभाषा, कार्यसम्पदान सूचकको स्थापना, सेवा बडापत्र, नागरिक पृष्ठपोषण, प्रोत्साहन र मूल्यांकन प्रणाली र नागरिक दबाबजस्ता संयन्त्रहरू अपनाउने सामान्य प्रचलन छ। नागरिक चेतनाको स्तर, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले पनि सार्वजनिक प्रशासनलाई नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पुर्‍याएका छन्।

सर्वसाधारणले सरोकार राख्ने विषय भनेको सार्वजनिक सेवा वितरण हो। सेवा वितरणका खास मान्यता र सिद्धान्त छन्, जसलाई अवलम्बन गरेरै सार्वजनिक संस्थाहरू नैतिक बन्न र सेवाग्राहीको विश्वास जित्न सक्छन्।

सार्वजनिक क्षेत्रमा नैतिक मूल्य र सदाचारलाई प्रवद्र्धन गर्न केही जरुरी छ। पहिलो त राजनीतिक तहको कठोर इच्छाशक्ति चाहिन्छ। उसैले समाजलाई दिशाबोध गर्ने हो, राज्य सञ्चालनका महत्वपूर्ण स्थानमा नैतिक र इमानदार व्यक्तिलाई उसैले स्थान दिने हो र असल नीति तथा मानकहरू उसैले स्थापना गर्ने हो। कार्यान्वयनयोग्य आचारसंहिता चाहिन्छ। आचार संहिता समग्र सार्वजनिक प्रणालीका लागि सामान्य र पेसागत समूहका लागि विशिष्टीकृत चाहिन्छ र यिनीहरूको निर्ममतापूर्वक कार्यान्वयन गरिनुपर्छ।

तेस्रो पूर्वाधार पेसागत संरचनाहरू हुन्, जसले निरन्तर रूपमा व्यावसायिक नैतिकता बढाउन बल गर्न सक्छन्। चौथौ, आचरण समन्वय संयन्त्र चाहिन्छ, जसले संस्था तथा पदाधिकारीलाई नैतिक र सदाचारी बनाउन सहजीकरण, शिक्षा, सचेतना दिने गर्छ। पाँचौं महत्वपूर्ण पक्ष सहयोगी सार्वजनिक कार्यावस्था हो। स्वयम् प्रशासनको संस्कृतिले नस्विकारेसम्म औपचारिक एजेन्डालाई लुकेको एजेन्डाले परास्त गर्ने खतरा हुन्छ।

छैटौं, पूर्वसक्रियता देखाउने दक्ष व्यवस्थापकीय नेतृत्व चाहिन्छ, जसले हरतरहले प्रणाली शुद्धीकरण गर्न र नैतिक मूल्यमान्यतालाई संस्थानीकरण गर्ने निरन्तर जागरुकता देखाओस्। सुधारलाई अभियानका रूपमा लिने वातावरण बनाओस्। सातौं, सक्रिय तर निष्पक्ष नागरिक समाज, जसले असल प्रणालीको समर्थन र प्रशासनिक खराबीलाई पहेरदारी गर्न सकोस्।

केही वर्षअघिको विश्व सदाचार प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालको इन्टिग्रिटी इन्डिकेटर स्कोरकार्ड कमजोर (१०० मा ६० भन्दा न्यून) देखिएको छ। सूचकांकका पक्षहरू (नागरिक समाज र सार्वजनिक जानकारी, निर्वाचन, सरकारी उत्तरदायित्व, प्रशासनिक सेवा, निगरानी संयन्त्र र विधिको शासन) मा प्रशासनिक सेवा सबैभन्दा कमजोर देखिएको थियो। संवैधानिक अंग र स्वायत्त निकायको प्रतिवेदन, आमसञ्चारका माध्यम र नागरिक समाजको पर्यवेक्षण, सेवाग्राहीबाट व्यक्ति भएका भावनाबाट पनि नेपालको सार्वजनिक प्रशासन नैतिकता र सदाचारको कठोर प्रश्नको सामना गरिरहेका छन्। प्रोएक्टिभ भएर केही निकायले गरेको सेवाग्राही सर्वेक्षण, एक्जिट पोल, सूचना परीक्षण र नागरिक विवेचनाबाट पनि नैतिक आचरणको स्थिति कमजोर देखिएको छ।

सर्वसाधारणले सरोकार राख्ने विषय भनेको सार्वजनिक सेवा वितरण हो। सेवा वितरणका खास मान्यता र सिद्धान्त छन्, जसलाई अवलम्बन गरेरै सार्वजनिक संस्थाहरू नैतिक बन्न र सेवाग्राहीको विश्वास जित्न सक्छन्। जस्तो कि उपलब्ध सेवा सान्दर्भिक हुनुपर्छ, स्तरीय हुनुपर्छ, कम लागतमै उपलब्ध हुनुपर्छ, सेवा पूर्ण र पर्याप्त हुनुपर्छ, सेवाको पहुँच सहज हुनुपर्छ, सेवा वितरण निष्पक्ष हुनुपर्छ र यो समन्यायिक पनि हुनुपर्छ।

भनिएजस्तो गरी सेवा प्राप्त गर्ने नागरिकको अधिकार र सेवा प्रदाताको दायित्व हो। तर मान्यता वा आचरण पूरा गर्ने सन्दर्भमा तजविजी अधिकारको प्रयोग, भ्रष्टाचार, नातावाद, प्रशासनिक गोपनीयता, सूचना चुहावट, सार्वजनिक अजवाफदेहिता, प्रशासनिक विकृति, विभाजित निष्ठा, कर्मचारीमा अतिवृत्तिवादी प्रवृत्ति, कार्यविधि मोह र जानकारीबाट पृथक् रहने बानीजस्ता नैतिकताका सवालहरू देखिएका छन्। सेवाग्राहीहरू प्रशासनिक सास्तीबाट मुक्ति खोजिरहेका छन् तर नेपाली समाज मूल्यहरूको संक्रमणमा छ।

लोभ, लालसा र लालचका कारण बेथितिले पनि प्र श्रय पाउँदै आएको छ। यसर्थ क्रमिक रूपमा व्यक्तिगत तहमा आफूले गर्नुपर्ने काम कुन उचित र कुनचाहिँ अनुचित छट्ट्याउने, व्यावसायिक तहमा पेसागत मान्यता अवलम्बन गर्ने, संगठन तहमा कार्यमूलक संस्कृतिको विकास गर्ने र सामाजिक तहमा समुदायको चाख चाहनाप्रति संवेदनशील बन्ने बानी विकास गरेरै सार्वजनिक क्षेत्रलाई नैतिक र सदाचारी बनाउन सकिन्छ।