पाल्पा, पुरातत्व विभाग अन्तर्गत तानसेन नगरपालिकाले निर्माण गर्न थालेको पाल्पा दरवार परिसरको शितलपाटीदेखी जिल्ला प्रशासन गेटसम्मको सुरक्षा पर्खाल निर्माणको कार्य यति बेला विवादित बनेको छ । निमार्णकाे काम भैरहेकाे बेला एकाएक नेपाली सेनाले उक्त क्षेत्र सेनाकाे नाममा रहेकाे भन्दै मोड मिलाउन नदिएपछि उक्त निर्माण कार्य विवादमा परेको हो । नगरपालिकाले सर्वसाधारणले पसल गरेका घरटहराहरू हटाएर बाटाे फराकिलाे बनाउने तर खास अफ्ठयाराे माेड रहेकाे ठाँउमा सरकारी निकायलेनै अवराेध गर्ने कुरा शाेभिनय नभएकाे नेकपा माअेाबादी केेन्द्रका सचिव मथुरा ढकालले बताए ।
 सो विषयलाई लिएर जिल्लाका राजीतिक दलहरु र प्रमुख जिल्ला अधिकारी बिच बैंठक बसेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको बैंठकले निर्माण कार्यमा सहजीकरण गरेर अगाडि बढ्ने सहमति भएको बताइएको छ ।

नेपाली सेना जनता भन्दा माथी नरहेकाे भन्दै जनतालाइ असहज हुने गरि गतिबिधी नगर्न अनुराेध गरिएकाे रास्टिय जनमाेर्चाका जिल्ला अध्यक्ष बिशाल दर्लामीले बताए । एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे ले सर्बसाधारणको पसल टहरा एकाएक हटाउने नगरपालिकाले मोडको क्षेत्र बिस्तार नगर्ने भनेर नेपाली सेना संग किन सम्झौता गरेको भनेर आक्रोश ब्यक्त गरे। स्थानिय सरकारको अगुवाईमा तानसेनको सौन्दर्यकरण र ऐतिहासिक मूलगेट अनि दरबार परिसरका ऐतिहासिक स्थलहरुको पुर्ननिर्माण गर्ने काम भइरहेको छ । दरवार क्षेत्रमा पाँच वटा फरक–फरक क्षेत्रबाट काम भईरहेको छ । जिल्ला प्रशासनदेखी शितलपाटीसम्म घरटहरा भएको क्षेत्रमा तानसेन नगरपालिकाले ढुङ्गा विछ्याउने र दरवार अगाडि सडकमा नाली बनाउने काम गरेको छ ।

दरबार क्षेत्रको पुनर्निर्माण र सौन्दर्यकरण भैरहेको सन्दर्भमा दरबार परिसरमा रहेका सरकारी भवनहरुलाई अन्यत्र सार्नुपर्ने बेला नेपाली सेनाले जबर्जस्त निसान भगवती मन्दिर को नाममा धेरै जग्गा ओगटेर ठूलो मन्दिर बनाएको भन्दै स्थानीयले बिरोध गर्दै आएका छन् । नजिकै भगवती रणउजेस्वरी मन्दिर हुदाहुदै अनावश्यक रुपमा ठूलो मन्दिर बनाउदा सौन्दर्य बिग्रेको जनगुनासो छ। त्यसो त सर्बसाधारणले मर्निङ वाक देखि साझ अबेर सम्म घुम्ने एउटा मात्र खुल्ला ठाउँ टुडिखेलको आधा भागमा नेपाली सेनाले बिहान अबेर सम्म परेड खेल्ने नाममा सर्बसाधारण लाई प्रवेश नदिएको गुनासो सर्बत्र आइरहेकै छ।

दरवार गेटदेखी जिल्ला प्रशासन कार्यालय तर्फको ५० मिटर ढुङ्गाको पर्खालको काम लुम्बिनी प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयले गर्दै आएको छ । दरवार गेटदेखी शितलपाटी तर्फको ७० मिटर ढुङ्गाको पर्खाल  शहरी विकास तथा संघीय कार्यान्वयन ईकाई भैरहवाबाट काम भईरहेको छ । दरवारको मुलढोकाको पुननिर्माणको काम  भने पुरातत्व विभागबाट भईरहेको छ ।