बुद्ध दर्शन करिब २५ सय वर्षअघि अगाडि सुरु भएको थियो भने मार्क्सवादी दर्शन करिब २ सय वर्ष अगाडि मात्र विकसित भएको थियो । करिब २३ सय वर्षको फरक समयमा विकास भएका यी दर्शनहरूका कैयौं समानताहरू र भिन्नताहरू पनि रहेका छन् । खासगरी यहाँ बुद्ध दर्शन र माक्र्सवादले अवलम्बन गर्ने गरेको समान प्रकारका धारणाहरूलाई छोटकरीमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो र विश्वसर्वहारा क्रान्तिको विज्ञान हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । मार्क्सवाद ले धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपबाट मुक्ति चाहन्छ ।मार्क्सवाद का संस्थापकहरू कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स थिए । बौद्ध दर्शनका जन्मदाता सिद्धार्थ गौतम बुद्ध हुन् । इ.पु. ५६७ मा लुम्बिनीमा जन्मिएका बुद्धले मानव जीवनमा सर्वज्ञ दुःख र पीडाहरू देखेपछि दुःख र पीडाबाट मुक्ति कसरी पाउन सकिन्छ भन्ने प्रश्नको उत्तर खोज्न २९ वर्षको उमेरमा सम्पूर्ण राजपाठ, पारिवारिक सम्बन्धलगायत सबै त्याग गरी बाहिर निस्केका थिए । बुद्धकालमा लेखनकलाको विकास भइ नसकेको हुनाले बुद्धका उपदेशहरूलाई उनका चेलाहरूले लामो समयसम्म श्रुति परम्पराबाट एक पुस्ताबाट अर्को पुस्तामा पु¥याएका थिए । बुद्धको महापरिनिर्वाणको धेरै समयपछि उनका उपदेश र शिक्षालाई आनन्द, उपाली र कश्यपलगायतले संकलन गरी लिखित रुप दिइएको थियो । लगभग इ.पु.२४७ तिर सम्राट अशोकको समयमा पाटलीपुत्रमा आयोजित तेस्रो बौद्ध सभाद्वारा यसलाई व्यवस्थित गर्ने कार्य भयो । बुद्ध सम्बन्धी ग्रन्थलाई त्रिपिटक भनिन्छ । जसमा पहिलो बुद्ध वचन रहेको सुत्तपिटक, दोस्रो आचरणका नियमहरू रहेको विनयपिटक र तेस्रो दार्शनिक विषयवस्तुहरू रहेको अभिधम्म पिटकको एकीकृत रुपलाई त्रिपिटक भनिएको हो ।

बुद्ध दर्शनको आधार गौतम बुद्धद्वारा खोज गरिएका चार आर्यसत्य छन् । बुद्धले लामो समयको खोज र चिन्तन मननपछि जुन निश्कर्ष निकालेका थिए त्यसलाई चार वाक्यमा व्यक्त गरेका थिए । संसार दुःखमय छ, दुःखको कारण छ, दुःखको कारण तृष्णा हो, दुःख निवारण गर्ने आठ मार्ग रहेका छन् भन्ने निष्कर्ष थियो । मान्छे मान्छे बीचमा हुने पक्षपातको निराकरण गर्ने अष्टाङ्ग मार्गहरूमा अन्धविश्वासबाट मुक्ति, बुद्धिमान तथा उत्साहपूर्ण व्यक्तित्व, दयापूर्ण, स्पष्ट तथा सत्य भाषण, शान्तिपूर्ण, इमानदारी तथा शुद्ध आचरण, जीवित प्राणीको कुनै क्षति वा चोट नपु¥याउनु, परीक्षण जागरुक मस्तिष्क जीवनको रहस्यबारे गम्भीर विचरण रहेका छन् ।

मार्क्सवाद पनि एउटा विकासशील विज्ञान हो । यो अनवरत विकासको क्रममा रहेको छ । समाजको प्रगतिसँगै यसको विकास भइरहेको छ । यसले ऐतिहासिक अनुभवहरूको निचोडस्वरुप उत्पन्न नयाँ वैज्ञानिक विचारहरूलाई ग्रहण गरेर आफूलाई समृद्ध पार्दै लगेको छ र मानव जातीको लागि नयाँ नयाँ क्षितिजहरू उद्घाटन गरिरहेको छ ।

धनी वर्गले आफ्नो स्वामित्व कायम गरेको सम्पत्तिको कारणले गरिबलाई शोषण गर्छ, दास बनाउँछ, अतिरिक्त मूल्य हडपेर सम्पत्ति थुपार्ने गर्दछ । यही दासत्वले गर्दा झन् बढी पीडा, दुःख र गरिवी निम्त्याउँछ । त्यसबाट मुक्त हुनको लागि शोषित वर्गले सत्ता चलाउनुपर्छ । सर्वहारा वर्गको अधिनायकत्व स्थापित हुनुपर्छ भन्ने मार्क्स को भनाइ रहेको छ । उनले शोषणलाई रोक्न निजी सम्पत्तिको उन्मूलन गर्नुपर्छ र राज्यले उत्पादनका साधनको सम्पत्तिको स्वामित्व लिनुपर्छ, उद्योगधन्दा, जमिन राज्यको हुनुपर्छ ता कि श्रमिकले आफ्नो श्रमबाट पाउने मूल्यमाथि कुनै निजी सम्पत्तिको मालिकले हस्तक्षेप गरेर मजदुरबाट अतिरिक्त मूल्य हत्याउन नपाओस् । यस सन्दर्भमा एक पटक बुद्धले प्रश्न गरेका छन् – यी राजाहरू राज्यमा शासन गर्दछन् । अत्यधिक सम्पत्तिको मालिक बन्छन् तथा आफ्नो लोभको शिकार अरुलाई बनाउँछन् । यसरी शासकहरू नै सत्ता स्वार्थमा लागेका छन् भने त्यस्तो परिस्थितिमा को शान्तसँग बस्न सक्छ (धम्मपद) । यसरी राज्यसत्ताको आडमा भएको दासत्वको सन्दर्भमा बुद्ध र माक्र्सको कुरामा समानता देखिन्छ ।

बुद्ध दर्शनको आधारभूत सिद्धान्त प्रतित्य समुत्पाद हो । यसभित्र कार्यकारण सम्बध, अनित्यवाद, क्षणिकवाद, अनात्मवादजस्ता भौतिकवादी विषयहरू समेटिएका छन् । बुद्धको सम्पूर्ण दर्शनको आधार नै यही हो । उनको दर्शनलाई बुझ्ने यो चाबी हो । माक्र्सवादको आधरभूत सिद्धान्त द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद यसैसँग मेल खान्छ । बुद्ध र मार्क्स दुवै आफ्नो समयमा भीषण क्रान्तिकारी थिए । बुद्धले त्यतिबेलाका राजा, पण्डित तथा पण्डाहरूको अत्याचारको विरुद्ध विद्रोहमा निस्केका थिए भने यता पुँजीवादले गरेको भीषण अन्याय र अत्याचारको विरुद्धमा माक्र्स निस्केका थिए । दुवै जनाको विद्रोहको प्रकृति फरक छ, स्थान फरक छ, समय फरक छ तर उद्देश्य मानवीय दुःखको अन्त्य गर्ने नै थियो ।

मार्क्स वैज्ञानिक समाजवादका प्रणेता थिए । पुँजीवादीहरूको शोषणलाई जितेर समाजवाद स्थापना गर्नु उनको उद्देश्य थियो । सबै मानव प्राणी समान छन् भन्दै समतामूलक व्यवस्था स्थापनाको लागि पहल गरे । उनले कुनै जातिको नाममा या धर्मको नाममा हुने विभेदका विरुद्ध जेहाद छेडेका थिए । मार्क्सवादी दर्शनको उद्देश्य यो ब्रह्माण्डको उत्पत्तिको व्याख्या गर्ने मात्र होइन । यो सारा विश्वलाई बदल्नु हो भन्ने रहेको छ । मार्क्स ले शोषणले जड व्यक्तिगत सम्पत्ति हो, व्यक्तिगत सम्पत्तिलाई नै नष्ट गरिसकेपछि शोषणको जड अन्त्य हुन्छ । त्यसकारणले व्यक्तिगत सम्पत्ति नष्ट भएको, व्यक्तिगत सम्पत्तिलाई बढावा दिने उत्पादन सम्बन्ध पनि नष्ट भएको र राज्य पनि नष्ट भएको समाजको परिकल्पना गर्नुभएको थियो । व्यक्तिगत सम्पत्तिको विषयमा एकपटक बुद्ध र आनन्दको विचमा कुरा भएको रहेछ । बुद्धले आनन्दलाई भनेका थिए कि– ‘पैसाको लालसा सम्पत्तिको स्वामित्वको कारण सिर्जना भएको हो । यसकारण निजी सम्पत्ति राख्नु हुँदैन । व्यक्तिगत सम्पत्तिको कारण दुराग्रह पैदा हुन्छ ।’ जहाँ जहाँ विहारहरू बने, भिक्षु संघहरू बने त्यहाँ व्यक्तिगत सम्पत्ति भन्ने कुरै थिएन । एउटा भिक्षुले सम्पत्तिको रुपमा राख्न पाउने भनेको तीन जोर लुगा, भिक्षा माग्ने भाँडो, पानी छान्ने कुरालगायत आठ चिज मात्र थियो । एक पटक चिसो लाग्यो भनेर महाप्रजापति गौतमी जो भिक्षुणी संघमा सामेल थिइन् उनले गलबन्दी तयार गरि बुद्धलाई दिन खोज्दा यो मलाई व्यक्तिगत रुपमा उपहारको लागि चाहिँदैन, यो संघको लागि भए ठीक छ भनेर अश्वीकार गरेका थिए । यसरी व्यक्तिगत सम्पत्तिले तृष्णा बढाउने भएकाले यसलाई अस्वीकार गरिएको थियो ।

व्यक्तिगत सम्पत्ति भनेको सामाजिक अन्यायको जड हो । त्यसप्रतिको अनुरागले मानिसलाई कुकर्मतिर डो¥याउँछ । त्यसले मानिसको मनमा आशक्ति, मोह, लोभ र उत्कण्ठाजस्ता विकृति पैदा गर्छ । बुद्धले व्यक्तिगत सम्पत्ति र त्यसको जगमा उभिएको शोषणमा आधारित समाज र त्यसको आधारमा टिकेको राज्यसत्ता अन्त्य हुने विचार प्रस्तुत गरेका थिए ।

मार्क्सवाद ले आलोचनात्मक चेत भएको मान्छेले मात्र समाजमा नयाँ ज्ञानको खोज गर्न सक्छ भनेका छन् । मार्क्स ले भनेका छन् ‘हरेक कुरामा सन्देह गर्नु’ । कुनै पनि कुरामा बेठिक लाग्नेबित्तिकै प्रश्न गर्न सक्ने मान्छे आवश्यक छ । मार्क्स ले तत्कालीन समयमा हेगेल र फायरबाखलाई प्रश्न गरेका कारण द्वन्द्वात्मक भौतिकवादको विकास भएको थियो । नेताले भनेपछि प्रश्न गर्नु हुँदैन, ठूलो मान्छेले भनेपछि जे पनि मान्नुपर्छ शास्त्रले भनेको कुरामाथि प्रश्न राख्नु हुँदैन भन्ने मान्यताबाट समाज बन्दैन भन्ने कुरामा माक्र्सको ध्यान थियो । मार्क्सवाद अनुसार अनुभव ज्ञानको स्रोत हो तर अनुभव स्वयम् ज्ञान होइन । तर्क ज्ञानको स्रोत होइन, तर तर्क विना ज्ञान बन्दैन । माक्र्सवादले तर्कवाद र अनुभववादलाई संष्लेषण गरेर ज्ञानको नयाँ सिद्धान्त बनायो । यो सिद्धान्तअनुसार हाम्रो मस्तिष्कमा जन्मजात ज्ञान हुँदैन । ज्ञानको स्रोत अनुभव हो । तर अनुभव मात्रै ज्ञान होइन । किनभने अनुभव सीमित हुन्छ । अनुभवले मात्र सार्वभौमिक ज्ञान प्राप्त गर्न नसक्ने भएकाले ज्ञान पूर्ण हुन अनुभव र तर्क मिल्नुपर्छ । हाम्रो ज्ञान भनेको वस्तुगत जगतको प्रतिनिधित्व हो । मार्क्सवादी दर्शनका अनुसार कुनै पनि ज्ञान सही छ कि गलत छ भन्ने कुरा व्यवहारबाट पुष्टि हुन्छ । ज्ञानको विकास हुँदा पहिले व्यवहार आउँछ । व्यवहारबाट नयाँ सिद्धान्त बन्छ । नयाँ सिद्धान्त बनेपछि त्यो फेरि व्यवहारमा जान्छ र नयाँ सिद्धान्त परिस्कृत भएर उच्चस्तरमा विकास हुन्छ । यो ज्ञानको सिद्धान्त हो ।

बुद्धले मार्क्स ले भन्दा अगाडि बढेर मेरै कुरामा पनि सन्देह गर, प्रश्न गर भनेका थिए । कुनै ठूलो गुरुले भनेको भन्दैमा, कुनै ठूलो पुस्तकमा लेखेको भन्दैमा, मैले नै भनेको भन्दैमा त्यसलाई आँखा चिम्लेर विश्वास नगर । त्यो कुरा हो होइन आफूले प्रयोग गरि हेर, त्यो कुरामा आफूले पनि अनुभव गरेर हेर, ठीक लाग्यो भने स्वीकार गर, ठीक लागेन भने प्रश्न गर भनेर बुद्धले भनेका थिए । संसारमा गुरुले भनेको मान, शास्त्रले भनेको मान, ईश्वरले भनेको मान भन्ने थुप्रै धर्म दर्शनहरू छन् तर बुद्ध दर्शनले कहिल्यै यसलाई स्वीकारेन । ज्ञान प्राप्त गर्नको लागि अनुभव गर्नुपर्छ । जान्नुपर्छ भन्ने शिक्षा बुद्धको थियो ।

मार्क्सवादी दर्शन भौतिकवादी दर्शन भएकाले पदार्थ पहिलो हो चेतना त्यसको उत्पत्ति हो । पदार्थ बिनाको चेतना भन्ने हुँदैन भन्ने मान्दछ । अर्को कुरा संसारको हरेक चिज गतिशील छ, गतिमा पदार्थलाई हेर्नुपर्छ संसारमा हरेक कुरा द्वन्द्वात्मक छ । हरेक चिज एक आपसमा अन्तरसम्बन्धित छ । हामीले खोलामा जुन पानीमा टेक्न खुट्टा उचालेका हुन्छौं, खुट्टा टेक्दा त्यो पानी त्यहाँ रहेको हुँदैन, टाढा पुगिसकेको हुन्छ । यसरी हरेक कुरा गतिमा रहेको हुन्छ । संसारमा एउटा कुरा निषेध हुन्छ त्यो कुराले अर्को कुरा पैदा गरेको हुन्छ । यसको लागि कुनै इश्वर चाहिँदैन भन्ने बुझाइ दीहरूको रहेको छ । सामन्तवादको अन्त्यबाट पुँजीवाद पैदा भयो, पुँजीवादको अन्त्यबाट समाजवाद पैदा हुन्छ । सबै कुरा परिमाणबाट गुणतिर अगाडि बढ्छ, एउटा निश्चित बिन्दूमा पुगेपछि त्यसले गुणात्मक फड्को मार्छ र त्यसले अर्को रुप लिन्छ । यही नै माक्र्सवादको सार हो ।

बुद्ध दर्शनको प्रतित्य समुत्पादको कार्यकारण सिद्धान्तले पनि भन्छ कि कुनै पनि भौतिक वा अभौतिक वस्तुको उत्पत्ति कुनै चेतना शक्तिद्वारा परिचालित भएर होइन, अन्य कारणले भएको हुन्छ ।

वस्तुको परिवर्तन एक्कासि हुने पनि होइन त्यसको लामो कार्यकारण सम्बन्ध रहेको हुन्छ । बुद्धले वस्तुको परिवर्तनमा कुनै वाह्य सत्ताको आवश्यकता छैन । वस्तुमा परिवर्तन, आफ्नै आन्तरिक कारणले हुन्छ भन्ने भौतिकवादी विचार अगाडि सारेका छन् । बुद्धको क्षणिकवादअनुसार सबै चीज क्षणिक छ (सर्वक्षणिकम्) । संसारको सबै वस्तुको अस्तित्व क्षणभर मात्र कायम हुन्छ । क्षणिकवाद अनुसार कुनै पनि वस्तु उत्पत्ति भएपछि विनाश हुन्छ । बुद दर्शनको अनित्यताको मान्यता अनुसार यो संसारमा रहेका जति पनि वस्तुहरू अनित्य छन् । यो भनेको नासवान वा परिवर्तनशील छन् भनेको हो । जुन कुरा पैदा हुन्छ, त्यो कुराको अन्त्य हुन्छ । यसरी नै संसारलाई बुझ्नुपर्छ । संसारमा दुःख छ भने त्यसलाई तिमीले चिन र दुःखको कारण पत्ता लगाइ त्यसबाट मुक्ति पाउने बाटो खोज । या अनित्यताको सिद्धान्त माक्र्सको गतिशीलताको सिद्धान्तसँग मेल खान्छ । बुद्ध भन्छन् कि प्रत्येक जीव वा मानिस अंश अंशको संयोग हो । पूर्णताको कुनै सत्ता विद्यमान छैन । यो मान्यता माक्र्सवादको द्वन्द्वात्मक दृष्टिकोणसँग मिल्छ ।

बुद्धको समयमा विद्वान्हरूबीच संसार के हो ? आत्मा के हो ? आत्मा र शरीरमा के फरक छ ? ईश्वर छ कि छैन ? आदि सांसारिक गतिविधिबारे बहस, चिन्तन र तर्क हुने गथ्र्यो । तर व्यवहारसँग, परिवर्तनसँग नजोडिएका यस्ता चिन्तन र तर्कलाई बुद्धले वाहियात ठान्थे । उनको जोड थियो कि जुन समस्याले मानिस ग्रस्त छ त्यसै विषयमा केन्द्रित भएर सोच विचार गर्नुपर्दछ । बुद्ध भन्छन् कि मान्छेहरू मित्थ्या आत्माको पछि लागेर म, मेरो, मलाई आदि जस्ता संकीर्ण व्यक्तिवादी आग्रह गरिरहेका छन् । यही भावनाले मानिस मानिस बीच स्वार्थको पर्खाल खडा भइरहेको छ ।

बुद्ध कुनै ईश्वर, आत्मा र परमात्माको पक्षपाति थिएनन् । बुद्धले अध्यात्मवादी मतले खडा गरेको, स्वर्ग, नर्क, परलोक, इहलोक आदि धारणा विरुद्ध उभिएका थिए । कोही पनि जन्मदा माथिल्लो र तल्लो भन्ने हुँदैन । जाती पनि कोही ठूलो सानो वा ब्राह्मण हुँदैन । यसरी जातीको आधारमा समाजमा असमानताको घृणित दुश्प्रचार भइरहेकाले बुद्धले त्यसको खुलेर विरोध गरेका थिए । बुद्ध धर्मको पहिचान नै मानव मानव एक समान रहेका छन् भन्ने हो । विभिन्न धर्महरूले ईश्वर वा दैवी शक्तिको मान्यता बोकाएर, मान्छेलाई उसको अधिनमा राखी खेलौना वा दास बनाइरहेका छन् । त्यसैले बुद्धले धर्मको आडम्बरलाई परास्त गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्– कर्मकाण्ड वा अन्धविश्वासमा धर्म हुँदैन । धर्म त मान्छेको मनबाट सुरु हुन्छ । मान्छेको पीडा, दुःख, रोगव्याधीको अन्त्य गर्नु नै धर्म हो । दुःखबाट छुटकारा दिलाउने नाममा अध्यात्मवादीहरूले धर्म कर्म गर्न लगाउँछन् । त्यस्ता धर्मकर्मको विरोध गर्दै बुद्धले दुःख भन्ने कुरा कसैको पुर्पुरोमा लेखिएर आएको पनि होइन, त्यो कुनै पूर्वजन्मको फल पनि होइन, दुःखको कारण खोज्न बाहिर कतै जानु पर्दैन । आफैंभित्र दुःख छ, अज्ञानताको परिणाम हो भन्ने बुद्धको भनाई छ । यदि भाग्यवाद, इश्वरवाद, शाश्वतवादजस्ता अन्धविश्वासमा मान्छे जकडिएको भए मान्छेले आज यसरी प्रगति गर्न सक्ने थिएन । राहुल सांकृत्यायनले भनेका छन्– यदि ग्यालेलियोले बाइबलको भनाइअनुसार पृथ्वी चेप्टो नै छ भन्ने कुरा मानेका भए पृथ्वी गोलो भएको सत्य बाहिर आउने थिएन । न्युटनको गुरुत्वाकर्षण र आइन्स्टाइनको सापेक्षतावादको महान सिद्धान्त आविश्कार हुने थिएन । संसारमा विधा, विज्ञान अथवा सभ्यताको जुन प्रगति भएको छ त्यो मान्छेको प्रज्ञामा भएको हो । सन् १८४४ मा मार्क्स ले ‘हेगेलको कानुन दर्शनमा आलोचनाको योगदान’ शीर्षकको प्रशिद्ध आलेखमा धर्मको आलोचना गर्दै शंष्लेषण गर्नुभएको छ– ‘धर्म जनताको लागि अफिम हो ।’ माक्र्स अगाडि भन्नुहुन्छ– ‘इश्वरले मानिसको शृष्टि गरेको होइन, बरु मानिसले इश्वरको शृष्टि गरेको हो । धर्म फलहीन फूल हो’ धर्मले आजको वैज्ञानिक युगमा पनि तर्क र अनुसन्धानलाई महत्व दिँदैन । धर्म त अज्ञानता, अन्धविश्वास र रुढिवादीमा अड्किएको छ । यसरी संसारलाई सुधार्नका लागि कुनै अलौकिक शक्तिले होइन मान्छे र संसारको चित्त सुधार्नुपर्छ भन्ने बुद्धको मान्यता थियो ।

मार्क्सवाद का अनुसार मानव मुक्तिको विधि संसारलाई बदल्नु हो । मार्क्सवादी दर्शनले यो संसारलाई परिवर्तनशील मान्दछ । यो समाज वर्गहरूमा विभाजित भएकाले दुःखमय बन्यो । असमानता बढ्यो । त्यसैले यो वर्गीय समाजलाई बदलेर वर्गहीन बनाएपछि संसार सुखमय बन्छ । विपरीत दुई दर्शनको विचबाट नयाँ दर्शनको विकास हुन्छ भनेर माओले भनेका थिए । हरेक युगका आफ्ना आफ्ना विचारधारा थिए ती विचारधाराले आफ्नो आफ्नो युगको मात्र प्रतिनिधित्व गर्थे । त्यसैले मार्क्स ले भनेका छन्– ‘हरेक दर्शन आफ्नो युगको बौद्धिक सारतत्व हो । उत्पादन पद्दतिको विकासको खास चरणमा सामाजिक व्यवस्थाका विभिन्न प्रकारका चरित्रको समेत निर्माण भएको हुन्छ । बुद्धकालीन समाजको मुख्य चरित्र दास व्यवस्थामा नै आधारित थियो । दासको मालिकसँग कतिसम्म सामाजिक सम्पत्ति थुप्रिएको हुन्थ्यो भन्ने सानो नमुनाको रुपमा बौद्ध दर्शन मिमांसामा भनिएको छ– ‘धनञ्जय सेठकी छोरी विशाखाको विवाह श्रवस्तीका व्यापारी–मृगारका छोरा पुण्डुवद्र्धनसँग हुने भयो । यस विवाहका अवसरमा कन्याका पिता धनन्जयले दाइजको रुपमा ९ करोड मूल्यका गहना, ५४ सय रथ र गाडाहरू, ५ सय संख्यामा सजिएका दासीहरू, खेतिपाती र घरको रेखदेख गर्न यति नै संख्यामा दासहरू पनि दिएका थिए । एकातिर एउटा व्यापारीले सामान्य विवाहका अवसरमा खर्चिएको यो वैभवले बुद्धकालीन सामाजिक परिस्थितिको सानो झलक दिन्छ भने अर्कोतिर विशाल संख्यामा गरिबहरूको आवादी घोर गरिवी रहेको थियो भन्ने कुरा स्वतः बुझ्न सकिन्छ ।

मार्क्सवाद को निर्माण प्रक्रिया सन् १८४२ बाट सुरु भएको थियो । सन् १८४८ मा मार्क्स एंगेल्सबाट कम्युनिस्ट घोषणापत्र लेखिएपछि यसले विकसित रुप धरणा गरेको हो । घोषणापत्रमा पुँजीवादको उत्पत्ति र विकास, उत्पादक शक्तिहरूको विकासमा पुँजीवादद्वारा गरिएको मजदुरहरूको निर्मम शोषण र उत्पीडन, त्यसका आन्तरिक अन्तरविरोधहरू र सर्वहारा वर्ग र पुँजीपत वर्ग वीचको ब्ढ्दो वर्गसंघर्ष आदि स्पष्ट देखाइएको छ । मानिसद्वारा मानिसले गर्ने शोषण तथा उत्पीडनको उन्मुलन, जातीय थिचोमिचोको अन्त्य र समाजका सारा सदस्यहरूको भौतिक तथा बौद्धिक आवश्यकताहरूको पूर्ण सन्तुष्टिको लागि उत्पादक शक्तिहरूको तीव्र विकास आदि कम्युनिस्ट घोषणापत्रका प्रमुख विषयवस्तु थिए । त्यसैको जगमा संसारभर समाजवादी सन्देश प्रवाह भएको थियो । बुद्धले संसारका सारा समस्याको जड मनमा देखेका थिए । मार्क्स ले समस्याहरूको जड व्यक्तिगत सम्पत्तिको वितरणमा देखेका थिए । पुँजी भएका, पुँजी नभएका, नाफा कमाउने, नाफा नकमाउने, काम गर्ने, काम नहुने त्यस्तो समाजमा दुःख देखे । वर्गसंघर्षको बाटो मार्क्स को भयो, ध्यान र ज्ञान  आन्दोलनको बाटो बुद्धको भयो । बुद्धले भिक्षुहरूको संघमा जोड दिएका थिए, माक्र्सले मजदुरहरूको संघमा जोड दिएका थिए । व्यक्तिगत मुक्तिको बाटो बुद्धको थियो भने सामुहिक मुक्तिको बाटो माक्र्सको थियो । वर्गसंघर्षको सन्दर्भमा बुद्धको आफ्नै तर्क छ– राजाहरूका बीच, कुलीनहरू बिच, ब्राह्मणहरूबीच, गृहस्थहरूको विच, आमा छोराको विच, बाबुछोराको विच, भाइबहिनीको विच, साथीसाथीको विच पनि संधैं संघर्ष चलिरहेको हुन्छ, यो दुःख वा दुर्दशाको कारण भएको हो । यसको अन्त्यका लागि अष्टाङ्ग मार्ग अपनाउनुपर्छ । मान्छेको दुराचरणको कारण पनि दुःख पैदा हुन्छ । यसको निवारणको लागि पञ्चशीलको पालना गर्नुपर्छ । जुन हत्या, हिंसा, नगर्ने, चोरी नगर्ने, झुट नबोल्ने, व्यभिचारी नहुने, मादक पदार्थ सेवा नगर्ने हुन् ।

निष्कर्षमा मार्क्सवाद को परिवर्तनको सिद्धान्तअनुसार संसारको हरेक घटना, हरेक विषय र हरेक वस्तु परिवर्तनशील छन् । कुनै पनि वस्तु तथा घटना स्थायी हुँदैनन्, शास्वत छैनन्, नित्य छैनन्, अपरिवर्तनीय छैन । विकासको सिद्धान्त अनुसार संसारमा जे जति परिवर्तन भएका छन् विकासको क्रममा भएका छन् । गतिहरूले विकासको आधार निर्माण गर्छन् । विकासको प्रक्रियामा जुन गति रुपान्तरण हुन्छ त्यो गति नयाँ चरणमा अगाडि बढ्छ र त्यसमा पुरानो कुरा निषेध हुन्छ र नयाँ कुरा आउँछ । पुरानो अस्ताउँछ नयाँको उदय हुन्छ । अन्तरसम्बन्धको सिद्धान्तअनुसार संसारमा जति पनि वस्तुहरू छन् तिनीहरू अलग अलग छैनन् । तिनीहरूको बीचमा अन्तरसम्बन्ध छ । एक अर्कासँग अभिन्न रुपले जोडिएका छन् । हरेक घटनाको कारण अर्को घटना हुन्छ । यसरी कार्यकारणको रुपमा संसारका सबै वस्तुहरू र घटनाहरू जोडिएका हुन्छन् । लेनिनले भनेका छन्– ‘संसारको हरेक वस्तु वा घटना प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अर्को वस्तु वा घटनासँग जोडिएको हुन्छ ।

बुद्धको प्रतित्य समुत्पादको क्षणिकवादी मान्यताअनुसार पनि अदृश्य परिवर्तनको लामो शृङ्खलापछि मात्र वस्तुमा परिवर्तन देखिन्छ । कार्यकारण शृङ्खलाको अविच्छिन्नताले विश्व परिवर्तनको दिशामा उन्मुख गराउँछ भन्ने बुद्ध दर्शनको यो मान्यतालाई कार्ल प्रियर्सनजस्ता भौतिक विज्ञानका विद्वान्हरूले यथार्थवादी विश्लेषण हो भन्ने स्वीकारेका छन् । बुद्धको एउटा भनाइ छ– यथाभूत ज्ञानं दर्शनः (वस्तुलाई जस्तो छ, त्यस्तै हेर) बुद्धले पनि भनेका छन् कि एउटा वस्तुले अर्को वस्तु पैदा गर्छ, अर्कोले अर्को… यो चक्र निरन्तर चलिरहन्छ । यही नै परिवर्तन र रुपान्तरणको शृङ्खला हो ।

यस प्रकार संसारबाट शोषणको अन्त्य गर्ने, असामानताको अन्त्य गर्ने, दुःखको अन्त्य गर्ने विषयमा मार्क्सवाद र बुद्ध दर्शन बीच कैयौं समानताहरू रहेका छन् । समानता जात भात मात्र होइन, गाउँ र सहरबीच, गरिब र धनी बीच विभेदको अन्त्य गर्नको लागि पनि हुनुपर्छ भन्ने दुवैको शिक्षा रहेको छ । माक्र्सले समतामूलक राज्य व्यवस्थाको परिकल्पना गर्नुभएको थियो । बुद्धले तत्कालीन समयमा आफ्नो संघमा लागु नै गर्नुभएको थियो । बुद्धको ध्यानको बाटो र मार्क्स को वर्गसंघर्षको बाटोलाई समाज रुपान्तरणको आधारको रुपमा सँगसँगै लिएर जानुपर्ने देखिन्छ ।