छन्द: अनुष्टुप
नारायण प्रसाद आचार्य
आफै कालो छ कौवा झै, काँ काँ गरि कराउँछ
बच्चा कोरल्छ क्वौलीको, आफ्नै कूल हराउँछ ।
मै बाठो छु भनी ठान्थ्यो, कुहिरोमा हराउँथ्यो
जाने जति सबै बोली, नानाभाँति कराउँथ्यो ।।

रात्रीमा गर्छ त्यो काम, रातिनै मन् पराउँछ
तानाबाना बुनीरन्छ, दिउँसोमा हराउँछ ।
शक्तिको भरमा दम्भ, देखाउँछ घरीघरी
रात्रिमा शक्ति बढ्दैगो, निसाचर जसै गरि ।।
डुक्रंदै हिंड्छ सांढेझै, बाच्छालाई डराउँछ
हुंकार गर्छ लौ दम्भी, उन्मत्त भै कराउँछ ।
छाड्दैन त्यो कसैलाई, सहगोत्री भए पनि
छाति फर्काइ कुर्लन्छ, मैमत्त झै बनी बनी ।।
कुर्सी नै सबहो भन्छ, छाड्नै मान्दैन क्यैगरि
आफै बनाउदै विधि, आफै च्यात्छ घरीघरी
मानुन् आदेश जम्मैले, आफू माथि हुँ ठान्दछ
अरुबाँकि सबै मूर्ख, मुर्खै हुन् भनी मान्दछ ।।
पढी रावणका गाथा, आफैं भित्र रमाँउछ
बोल्नै हुँदैन अर्काले, च्याप्पै घाँटी समाउँछ ।
होच्याउँछ सबैलाई, बोली दुर्वाच्य सर्वदा
आफू साधु हुँ गाई झै, बाँकि जगत् सबै गधा ।।
विदुर- ५, नुवाकोट




