
वीरगञ्ज– अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभाको विघटन लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन्। नेपाल कम्यनुष्ट पार्टी (नेकपा) ओली पक्षले बुधबार वीरगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
उनले भने, ‘प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक होइन, लोकतन्त्रको सुन्दर पक्ष हो,’ मन्त्री पौडेलले भने, ‘प्रतिनिधिसभाको विघटन र मध्यावधि निर्वाचननमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय संविधान र लोकतन्त्र सम्मत छ।’
वैशाख १७ र २७ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्दै उनले चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए।
नेकपाका भित्रैबाट पार्टी र सरकार कब्जा गर्ने कोशिस भइरहेको बेलामा संसद विघटन भइ निर्वाचनको मिति तोकिएसँगै ती सबै प्रयासहरु असफल भएको मन्त्री पौडेलको भनाइ छ।
प्रदेश नम्बर २ का आफ्ना पार्टीका अगुवा नेताहरुलाई पार्टीको जिल्ला तथा स्थानीय तहमा तत्कालै बैठकहरु गर्न पौडेलले निर्देशनसमेत दिएका थिए।
सरकारले गरेका राम्रा कामहरुको चर्चा र जनस्तरमा पुर्याउने पार्टीको काम भएको भएपनि पछिल्लो समय त्यसको विपरित पार्टी भित्रैबाट केही शीर्ष नेताबाट खुट्टा तान्ने काम भएको उनको आरोप थियो।
प्रचण्ड र माधव नेपाललाई आफूहरुले अहिलेसम्म पनि पार्टीबाट नहटाएको बताउँदै पौडेलले दुबै जना सच्चिएर पार्टीमा आए उचित स्थान दिन आफूहरु अहिले पनि तयार रहेको उनले बताए।
नेकपाको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव, पार्टी विभाजनको आधारपत्र भएको मन्त्री पौडेलको भनाइ थियो।
सबै किसिमका सामाजिक विभेदहरुको अन्त्य गर्ने तथा पछौटेपनलाई समाप्त गरी सुखी नेपाल र समृद्ध नेपालीको सपनालाई साकार पार्ने काममा सघाउन पनि उनले आग्रह गरे।




