नेपालमा विगत २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यससँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ।

तीमध्ये ६,१४३ जना निको भएका र ३२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८२३ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन् भने असार १७ मा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

अहिलेसम्म प्रदेश नं ५, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वााधिक छ।

कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

बिहीवार मन्त्रालयले ४७३ जनामा सङ्क्रमण पुष्टि गरेको थियो भने एकै दिन सर्वाधिक ६६४ जना भाइरसमुक्त भएर घर फिर्ता भएका थिए।

यसअघि गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

को हुन् मृतक?

मन्त्रालयका अनुसार असार १७ गते राति काठमाण्डूको एउटा अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस पुष्टि भएको छ।

उनी नयाँबानेश्वर निवासी ८५ वर्षीय वृद्ध भएको डा. गौतमले बताए। ती व्यक्ति पार्किन्सन्स रोगबाट पीडित थिए।

छाती दुखेको र पिसाब कम भएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो।

को हुन् सङ्क्रमित?

अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेरका समूहका भए पनि युवाको बाहुल्य छ।

कुल ७४० जनामध्ये १३४ महिला र ६०६ महिला छन्।

अहिले अछाम जिल्लामा सर्वाधिक २३० जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी बाजुरामा ५३, कैलालीमा ५१ , कञ्चनपुरमा ४३, बैतडीमा ३२, डडेलधुरामा २८, डोटीमा २४ र सिरहामा २४ सङ्क्रमित फेला परेका हुन्।