पाल्पा,११ असार
पाल्पामा आज एक सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै पाल्पामा कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ । निस्दी गाउँपालिकामा ८७ जना पुरुष र ६ जना महिला, तानसेन नगरपालिकाका ३ जना पुरुष,पूर्बखोला गाउँपालिकामा १८ जना पुरुष ,रम्भा गाउँपालिकामा ६ जना पुरुष र तिनाउ गाउँपालिकामा १ जना पुरुषमा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । भैरहवामा गरिएको परिक्षणमा पहिलो पटक तानसेन नगरपालिकाका ३ जनामा समेत संक्रमणको पुष्टि भएको छ । तानसेनमा कोरोना पुष्टि भए संगै पाल्पाका १० वटै स्थानिय तहमा कोरोना संक्रमण देखिएको छ ।
चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका बिभिन्न वडाका ९३ जना र प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । पूर्वखोला गाउँपालिकाका एक पुरुषको उपचारका क्रममा तानसेनमा कोरोना संक्रमणकै कारण ज्यान गएको छ । संक्रमित मध्ये ७ जना उपचार पछि निको भएर घर फर्कि सकेका छन् ।