शिक्षा सामाजिक गतिशीलताको महइभ्वपूर्ण पक्ष हो । यो समाज र समाजको भौतिक परिस्थितिसँग एकाकार हुनु पर्दछ । मानिस बहुआयामिक प्राणी भएकाले आफ्नो क्षमतालाई प्रष्फुटन बनाउन शिक्षाको ठुलो भूमिका रहेको हुन्छ । शिक्षाको चरित्र राष्ट्रिय भएन भने मान्छेको चेतना नै पराधीन बन्न सक्छ । आफ्नो समाज, आफ्नो संस्कृति र आफ्नो आवश्यकता अनुसारको शिक्षा पद्धति निर्माण गर्ने मुलुकहरु विश्वको शक्तिमान राष्ट्रको रूपमा पहिचान बनाएका छन् । तर शिक्षाको विभिन्न आयामहरुलाई बुझ्न नसक्ने मुलुकहरु पराधीन बन्ने स्थिति छ । हाम्रो देशको शिक्षा प्रणाली पनि वस्तुगत धरातलमा उभिन सकेको छैन । यसले परिवर्तनलाई आत्मसात गर्न सकेको छैन । यसले राष्ट्रिय विकासमा टेवा पु¥याउन सकेको छैन । सिप, उत्पादन र व्यवसायसँग जोडिन सकेको छैन । नेपालको गरिबीलाई सम्बोधन गर्न सकेको छैन । लाखौँ युवाहरु अहिले पनि कामको खोजीमा, अवसरको खोजीमा देश छोड्न बाध्य छन् । उनीहरुलाई स्वदेशमै व्यवस्थापन गर्नु आवश्यक छ । जुन देशले शिक्षालाई व्यावहारिक बनाएका छन्, युवाहरु उत्पादनमा लागेका छन्, उत्पादित सामान निर्यात गरेका छन्, ती समृद्ध बनेका छन् । जुन देशले मानव शक्ति निर्यात गरेको छ, ती देशहरु झन् गरिबीको सूचकाङ्कमा परेका छन् । जनताको सामाजिक, आर्थिक स्तरमा अर्थपूर्ण परिवर्तनका लागि राष्ट्रिय हित सहितको नीति निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा ध्यान दिनु पर्दछ । सिङ्गो राष्ट्रको विकासमा योगदान पु¥याउन सक्ने तथा श्रम बजारको आवश्यकता अनुरूप उत्पादन गर्ने विषयलाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो । हाम्रो देशको संविधानमै समाजवाद उन्मुख लेखिए पनि शिक्षाको क्षेत्रमा त्यो अनुसार योजना र कार्यक्रमहरु ल्याएको पाइएको छैन । राज्य पुनर्संरचनाको मोडालिटी अनुसार शिक्षाको मोडालिटी परिवर्तन गर्ने भनिएको छ । तर स्पष्ट खाका नै छैन । शिक्षाको सुधारका लागि सरकारपिच्छे शिक्षा आयोगहरु बन्ने तर आयोगले दिएका सुझावहरु कार्यान्वयन नगर्ने परिपाटी छ । यसले शिक्षाको परम्परागत चरित्र र यथास्थितिलाई परिवर्तन गर्न सकेको छैन । नेपालको प्राकृतिक श्रोत, साधन, पर्यटन, संस्कृति, उद्योग, जलश्रोत आदिको पर्याप्त सम्भावना भए पनि ती क्षेत्रसँग शिक्षालाई एकाकार गराउन सकिएको छैन । हामीले सरोकारवालालाई यो विषयमा ध्यानाकर्षक गराउनु जरुरी छ । हाम्रै मौलिकता, हाम्रो माटोलाई शिक्षाले छुनु पर्दछ । शिक्षाले चेतना, ज्ञान, विज्ञान, प्रविधिको क्षेत्रमा भइरहेका अभूतपूर्व प्रगतिले निम्त्याएका परिवर्तनलाई आत्मसात गर्नु पर्दछ ।