पाल्पाको रिब्दिकोट गाउँपालिकाले आफ्ना सेवाग्राहीको सहजताका लागि डिजिटल माध्यमबाट समेत राजस्व भुक्तानी सेवा प्रारम्भ गरेको छ।

रिब्दिकोट गाउँकार्यपालिकाको कार्यालय र सम्पुर्ण वडा कार्यालयहरुबाट हुने राजस्व भुक्तानीलाई नगद रहित (Cash Less) बनाउने उद्देश्यका साथ क्युआर स्ट्यान्डी प्रयोगमा ल्याएको हो।

यस मार्फत सेवाग्राहीले सहजै आफ्नो मोबाइल ब्यान्किङ एप तथा बिभिन्न भुक्तानी सेवा प्रदायकको मध्यमबाट राजस्व तिर्न सक्नेछन। यस सेवाको प्रयोगले सेवा प्रवाहमा सहजता ल्याउने तथा छरितो बनाउने विश्वास लिइएको छ।


यस किसिमको सेवा प्रवाह रिब्दिकोट गाउँपालिकालाई प्रविधीमैत्री बनाउने पहिलो खुडकिलो रहेको र आगामी दिनमा सेवाग्राहीले घरबाट नै बिभिन्न सेवा उपभोग गर्न मिल्ने गरी प्रणाली समेत बिकास गर्ने कार्ययोजना रहेको गाउँपालिकाका सुचना प्रविधी अधिकृत सुदिप पौडेलले बताउनुभयो।

जिल्लामै पहिलो पटक यस्तो सेवा प्रवाह थालनी गरेको र आगामी दिनमा गाउँपालिकालाई थप प्रवीधी मैत्री बनाउन तत्पर रहेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्किले बताउनुभयो।

क्युआर मार्फत भुक्तानी सहजताका लागि स्ट्यान्डी बितरणमा एनआइसी एसिया बैंकले सहयोग गरेको हो।