नेपालमा थप ३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार काठमाण्डू र चितवनमा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको हो।

अब पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ४८७ पुगेको छ।

अहिले कोभिड-१९ पुष्टि भएका व्यक्तिहरू नवलपरासी, चितवन, सर्लाही र कपिलवस्तुका भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल कोरोनाभाइरस

मन्त्रालयका अनुसार पुष्टि भएकामध्ये चार जना नवलपरासीका, दुई जना चितवनका, नौ जना कपिलवस्तुका र १५ जना सर्लाहीका हुन्।

उनीहरू आठ वर्षदेखि ७३ वर्षसम्मका छन्।

डा. अधिकारीका अनुसार नयाँ भेटिएका सङक्रमितमध्ये तीन जनालाई चितवनको कोभिड-१९ विशेष अस्पतालमा राखिएको छ।

अन्य सङ्क्रमितहरू भने विभिन्न स्थानका क्वारन्टीनमा रहेका र उनीहरूलाई उपचारका लागि अस्पताल लग्न लागिएको अधिकारीले जानकारी दिए।

सबै प्रदेशमा कोभिड-१९ भएका व्यक्ति फेला परेका छन्। अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्।