रेगिस्तानको बन्द यो
कोठाभित्रबाट,
छटपटाउँदै रआक्रोसित हुँदै
गुम्सिए जस्तै भविष्यका
आँखिझ्यालहरुबाट
सस्तो कौडिमूल्यमा
बेचिएका नागरिकले
शासकलाई प्रश्न गर्छन्
सरकार ! हामी मर्नै परे
हाम्रै माटोमा र आँगनमा
मर्न र अलप हुन चाहान्छौ ।

भयानक कहरभित्र
डायस्पोरिय अनुत्तरित
रहरहरु बाँधिएका छन्,
पोखिएजस्तै भविष्य
अनि उद्देलित भावनाहरु
बेलगाम भै उछिट्टिएर
आशावादी प्रतिशोधको
उद्द्घोस फुकिरहेका छन् ।
रेगिस्तानका यी कोठाभित्र
पलपल देशभक्तिहरु
उठिरहेका दुखिरहेका छन् ।

सुस्केराभित्रका दर्दनाक
विवसता, शिथिलता अनि
वास्तविकताभित्र रुमलिएको
चहर्याउदो अत्याउदो खिन्नता
भावुकताभित्रका अनुत्तरित
दर्दरे र उकुसमुकुस अनि
गहिरो मौनता भित्रबाट,
शासक सरकारलाई
पुनः प्रश्न हाम्रो यो छ कि
सरकार ! हामी मर्नै परे
हाम्रै माटोमा र आँगनमा
मर्छौ, भन्ने के अपराध हो ?

साबुनपानीले हात धुएपनि
नाक मुख र आँखामा
भलै हातले नछुएपनि
माक्स हेण्डग्लोजहरु लगाएपनि
मनको हुटहुटी मेचि-महाकालीमा
आत्मका स्मृतिहरु खेत-आलिमा
बुडा बाउआमा, छोराछोरी सङ्गिनी
पाटिपौवा मठमन्दिर र लेकबेशीहरु
झरना, कुवा, काली र मेचिहरु
यादले तैराईरहन्छन्, गहिराईरहन्छन् ।

महासङ्कटको झङ्कारबीचबाट
सरकार, प्रवासीहरुको यो माग छ
हामी हाम्रै देश फर्कन चाहन्छौं
पौरख गर्नै परे पनी, मर्नै परे पनि,
हामी हाम्रै माटोमा र आँगनमा
मर्न र अलाप हुन चाहान्छौं ।

प्रवेश शर्मा

बाग्लुङ, हाल – युएई
(क्वारेन्टाइनमा लेखिएको)