केही दिनअघि ‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रममा वीरगन्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीको आवाज समावेश गरिएको थियो। त्यसमा अन्सारी भन्छन्- तुम लोग जाओगे कि नहीं? देख् रहे हो यहाँ… चल् चल् भाग्, चल्, चल् चल् चल्, बेवकुफ सब…’

त्यो दिन अवैध रूपमा असुलिएको बीसौं करोड रुपैयाँ सरकारको निर्देशनअनुसार फिर्ता पाउनु पर्ने माग गर्दै विद्यार्थीले आन्दोलन गरेका थिए।

आन्दोलनस्थलमा आएर अन्सारीले थर्काए, ‘बाहिरका मान्छे यहाँ आएर भाँडभैलो मच्चाउने!’

चिकित्सा शिक्षा संघर्ष समितिका तर्फबाट चितवन मेडिकल कलेजका विद्यार्थी पनि त्यहाँ गएका थिए।

अन्सारीसँग ५/६ जना बाउन्सरको दस्ता थियो। उनले कुरा गर्दागर्दै बाउन्सरहरूले चार जना विद्यार्थीको कठालो समाते र झापड हाने।

अन्सारी त्यहाँबाट निस्किए। त्यसपछि गुण्डाको दस्ताले विद्यार्थीलाई धम्क्याउन थाल्यो। सुरूमा नेशनलका विद्यार्थीलाई भित्र जान उर्दी गरे। विद्यार्थीले टेरेनन्। विद्यार्थीहरूका अनुसार कानुनी राजभन्दा बाहिरको त्यो इलाकामा उनीहरूलाई छिन्नभिन्न पारेर सांघातीक आक्रमण गर्ने योजना थियो। त्यसैले उनीहरू एक भएर बसे।

कसैले मोबाइलले फोटो खिच्न खोज्नासाथ रड ताकेर सबैलाई केही पनि रेकर्ड नगर्न उनीहरूले चेतावनी दिए। रड र बियरका बोतल देखाएर विद्यार्थीलाई धम्क्याए। लुकिछिपी विद्यार्थीले खिच्न भ्याएको एउटा फोटोमा एक युवाले विद्यार्थीलाई मोटो फलामे रड ताकेको देखिन्छ।

 

पत्रकारहरू त प्रदर्शनस्थलभन्दा निकै टाढा देशको कानुन लाग्ने ठाउँमा मात्रै थिए। सुरक्षाको डर भएपछि अन्तत: विद्यार्थी नै पछि हटे। विद्यार्थीलाई धम्क्याएर लखेटेपछि उनीहरू कलेज परिसरबाट निस्केर नाराबाजी गर्दै घण्टाघर पुगे।

त्यसरी शान्तिपूर्ण आन्दोलनमा गुण्डा नै आएर हमला गरेपछि सुरक्षा माग्दै विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए।

त्रस्त विद्यार्थी कलेज फर्कने बेला प्रहरी लिएर फर्के। तर विद्यार्थीलाई होस्टेल पुर्‍याएर प्रहरी फर्केसँगै साँझमा गुण्डागर्दी र आतंक उकालो लाग्यो।

पहिला २ अगुवा आन्दोनलकारी विद्यार्थीलाई होस्टेल गार्डको सामुन्नेबाट लगेर तीस जना सिनियर र बाहिरी गुण्डा मिलेर कुटपिट गरे। पहिलो वर्षका एक जना अगुवा विद्यार्थी कता गायब भए थाहा नभएर साथीहरू आतंकित भए। अनि थप बीस जनालाई छतमा लगेर, लस्कर लगाएर झापड र लात हाने। सर्ट च्याते र छतबाट फालिदिने धम्की दिए। पछि थाहा भयो, गायब भएका विद्यार्थीलाई उनकै कोठामा लगेर बाहिरबाट ताला लगाएर थुनिएको रहेछ। आतंकित भएर अप्ठेरो झ्यालबाट निस्केर अर्को कोठामा पुग्न खोज्दा उनी झण्डै तीन तलाबाट खसेनन्।

त्यहीबीच विद्यार्थीले प्रहरीलाई खबर गरे। प्रहरी आयो।

त्यतिखेर (प्रहरी पुगेपछि) खिचिएको एउटा भिडिओले त्यहाँको आतंकको माहौल प्रष्ट पार्छ। घुर्मैलो साँझमा झण्डै सय जना आतंकित विद्यार्थी दयनीय अनुहार लिएर बाटोको भुइँमा थचक्क बसेका छन्। अगाडि जनपद र सशस्त्र प्रहरीको ठूलै जत्था कलेजबाट विद्यार्थीलाई सुरक्षित गर्न खटिएको छ। त्यही बेला सशस्त्र प्रहरीका अधिकारीलाई कुनै अभिभावकको फोन आउँछ। सुनिएको एकतर्फी संवादअनुसार कुनै विद्यार्थीका दाइले अत्तालिँदै फोन गरेका हुन्छन्।

असुरक्षित विद्यार्थीले राति ११ बजेसम्म प्रहरीका अगाडि धर्ना दिए। ११ बजे बसरुद्धिन आए। तर विद्यार्थीको कुरा सुनुवाइ भएन। बसरुद्धिनले उल्टै थर्काए र एक एकलाई समात्दै कलेजतिर हुत्याए। विद्यार्थी आतंकित भएकाले त्यो रात प्रहरीले होस्टेलमा सुरक्षा दिइरह्यो र विद्यार्थी सुत्न गए। तर प्रहरीले न त कलेज प्रशासनलाई कुनै चेतावनी दियो न केही कारबाही गर्‍यो।

को थिए कलेजका तर्फबाट विद्यार्थीमाथि हमला गर्नेहरू?

धेरै जना त्यहींका अन्सारीनिकट सिनियर विद्यार्थी थिए। केहीचाहिं दिउँसो उनीहरूमाथि आक्रमण गर्ने बाहिरी गुण्डा पनि थिए।

विद्यार्थीहरूका अनुसार नेशनल मेडिकल कलेज वरिपरि अन्सारीको अलग्गै राज्य भन्न मिल्ने इलाका छ। त्यहाँ कानुनी राज्यको कुनै प्रत्याभुति छैन। अस्पताल अगाडिका फार्मेसीदेखि होटलसम्म सबै अन्सारीका मान्छेका छन्।

कलेजका धेरै ब्याचमा अन्सारीनजिकका मानिस भर्ना भएका छन्। उनीहरू ‘म्यानेजमेन्ट कोटा’ भनिने सिटमा कलेजले भर्ना गरेका (धेरैजसो विश्वविद्यालयले निकालेको मेरिट लिष्टमा नै नपरेका) विद्यार्थी हुन्।

विद्यार्थीका अनुसार केलजमा वर्षौंदेखि फेल भएकाहरू पनि अन्सारीको ‘चाप्लुसी’ गरेर परीक्षा पास गर्ने आसमा उनको पक्षमा सजिलै गुण्डागर्दीमा उत्रिन्छन्। यी दुबै खाले विद्यार्थीलाई कलेजले आवश्यकताअनुसार बाउन्सरका रूपमा प्रयोग गर्छ। बदलामा उनीहरूलाई सजिलै परीक्षा उत्तीर्ण गराइदिने आश्वासन दिइन्छ। त्यसबाहेक आवश्यकताअनुसार बाहिरिया गुण्डाहरू जिम्मेवारीमा खटाइन्छन्।

तीन ब्याचका धेरै विद्यार्थीसित छुट्टाछुट्टै कुरा गर्दा उनीहरूले समान अनुभव सुनाउँछन्ः धम्की र गुण्डागर्दी अन्सारी अरूबाट मात्र गराउँदैनन्। उनी आफैं विद्यार्थीलाई झापड र लात हिकाउँछन्, केटीहरूको कठालो समात्छन्। कति विद्यार्थीलाई त अभिभावकको सामुन्ने पनि कुटेका छन्। विद्यार्थीहरूले ज्यान ज्याने धम्की पाउनु उनको कलेजमा सामान्य हो। प्रशासनका तर्फबाट चाँद सर भनिने ‘एड्मिसन डाइरेक्टर’ले पनि विद्यार्थीमाथि हातपात गर्ने गरेका छन्।

माथि उल्लिखित घटना भएको अर्को दिनदेखि दिनहुँजसो विद्यार्थीले कलेजअगाडि सडकमा धर्ना दिए। केही प्रहरीले उनीहरूलाई कलेज प्रशासनबाट सुरक्षा दियो।

तिनै धर्नाका क्रममा खिचिएको एउटा भिडिओमा अन्सारीका मानिसले पत्रकारलाई आक्रामक रूपमा धम्क्याएर लखेट्न खोजेको देखिन्छ। पत्रकारहरू डटेर बसेपछि भने उनीहरू केही हच्किन्छन् तर उनीहरूको एउटा जिरह भने रहिरहन्छ- फोटो खिच्ने भए अन्तै ‘प्राइभेट’मा लगेर खिच्नु, यहाँ केही नखिच्नु।

 

२००१ मा स्थापना भएदेखिनै यो कलेजको हालत यस्तै छ।

२०७०-०७१ तिरको कुरा हो। त्यतिबेला नेपालका निजी मेडिकल कलेजमा अनियमितताको उत्कर्ष थियो। धेरै कलेजले वर्षभर वार्ड खाली राख्थे अनि अनुगमनका बेला रातारात कृत्रिम बिरामी ओसारेर बेड भर्थे। अनुगमन र परीक्षाबाहेकका समयमा धेरैजसो मेडिकल कलेज सुनसान हुन्थे। कतिपय विभागमा ताला लागेको हुन्थ्यो। विद्यार्थीसित किताब घोक्नुबाहेक व्यवहारिक सिकाइको कुनै विकल्प हुँदैनथ्यो।

अनियमितताका धेरै उजुरीपछि अख्तियारले हस्तक्षेप गरेर मेडिकल काउन्सिलको अनुगमन टोलीमा आफ्ना प्रतिनिधिसमेत पठाउन थालेको थियो। काउन्सिलले पनि अनुगमनको मितिसम्बन्धी सूचना गोप्य राखेर अचानक अनुगमन जान थालेको थियो।

त्यही क्रममा एकदिन काउन्सिल र अख्तियारको टोली नेशनल मेडिकल कलेज वीरगन्ज पुग्यो।

‘नेपालको कानुनभन्दा बाहिर रहेको इलाकामा’ पुग्नासाथ गेटमै कलेजको ‘सुरक्षा’ दस्ताले त्यो टोलीलाई रोक्यो। भित्र प्रवेश गर्न नदिएपछि अनुमगन टोलीले प्रहरी बोलायो।

नेपाल प्रहरीले कानुनविहीन कलेजभित्र अनुगमन टोलीलाई छिराएर सुरक्षा दिने जिम्मेवारी लिनसमेत सकेन।

यसरी सुरक्षा निकायभन्दा पनि बिचौलियाको भूमिकामा खुम्चिएको प्रहरीले अनुगमन टोली कलेजभित्र छिर्न नपाएको भन्ने सर्जमिन गरिदियो। आफ्नै सुरक्षा नभएपछि अनुगमन टोली अपमानित भएर गेटबाटै फर्क्यो।

देशकै मेडिकल शिक्षाको शीर्षस्थ नियामक निकाय र भ्रष्टाचारविरोधी संवैधानिक निकायका प्रतिनिधिलाई त्यसरी फर्काउनु गुण्डागर्दीको उत्कर्षमात्र नभई नेपाली राज्यकै आत्मसम्मानमाथि प्रहार थियो। मुलुकमा कानुनी शासन हुन्थ्यो भने त्यस्तो गर्ने कलेजको सम्बन्धन तुरून्तै खारेजीको प्रक्रियामा जानुपर्थ्यो।

तर त्यसो भएन।

अन्सारीले उल्टै दण्डको बदला पुरस्कार पाए। सम्बन्धन खारेजी त कता कता, विशेषज्ञ चिकित्सक बनाउने स्नातकोत्तर कार्यक्रमका लागि उनले अघिल्लो सालजस्तै ४० सिटको पुरस्कार पाए। अनुगमनको कुनै दरकार परेन। त्यसपछि अनुगमन पनि भएन। रातारात बिरामी ओसारेर तिनलाई दुई छाक खाना खुवाउन छुट्याएको रकमसमेत बच्यो।

उसो भए कलेजको गेटमा गएर गुण्डागर्दीका कारण फर्केका नियामक निकायले कसरी दण्डको सट्टा पुरस्कृत गरे त नेशनल मेडिकल कलेजलाई?

नेपाल मेडिकल काउन्सिलले अनुगमन नै रोक्ने नेशनललाई शुन्य सिट दियो। तर ४० सिटका लागि अन्सारीले पुनरावेदन अदालत पाटनमा एउटा मुद्दा हाल्नेबाहेक केही गर्नु परेन। यो मुद्दामा अन्सारीका पक्षमा आदेश आयो। अदालतले भन्यो-निरीक्षण प्रतिवेदनबिना गरेको निर्णय कानुनसम्मत देखिएन।

अर्थात्, गुण्डागर्दी गरेर नियामक निकायलाई कलेजमा प्रवेश नदेऊ, त्योचाहिं कानुनसम्मत छ। रोकिएको अनुगमनपछि नियामक निकायले सिट घटाउने गरी गरेको निर्णयचाहिं कानुनसम्मत छैन।

अन्सारीको पक्षमा नग्न रूपमा न्यायको तिलान्जली दिने न्यायाधीश थिए- डम्बरबहादुर शाही र हरिप्रसाद बगाले (अन्तरिम आदेश) तथा कृष्णप्रसाद बाँस्तोला र हेमराज पन्त (अन्तिम फैसला)।

यसरी राज्यका हरेक अंगलाई आफ्नो स्वार्थमा उपयोग गर्ने शक्ति भएको मानिसले भर्खर दश जोड दुई पास गरेर एमबीबीएस वा अन्य कार्यक्रममा भर्ना भएका केटाकेटीलाई गुण्डागर्दी गरेर तर्साउनु कुनै ठूलो कुरा पनि भएन।

यी सबै प्रकरणले संवेदनशील प्रश्न जन्माएका छन्।

नेपालको मेडिकल शिक्षा विद्यार्थीलाई पढाएर आवश्यक ज्ञान-सीप दिने इज्जतदार व्यवसायबाट कसरी विद्यार्थीलाई बन्धक बनाएर अभिभावकबाट दशौं अर्ब फिरौती असुल गर्ने धन्दामा बदलियो? मेडिकल कलेज सञ्चालन र माफिया तथा गुण्डागर्दी कसरी समानार्थीजस्ता शब्द बन्न पुगे?

सार्वभौम भनिएको देशको भुगोलभित्र छुट्टै नियम-कानुन र अलग्गै सुरक्षादस्ता भएको अन्सारीको सानो राज्य कसरी सम्भव भयो?

कानुनको रक्षक हुनु पर्ने प्रहरी कसरी बिचौलिया वा अपराधी र पीडितबीचको मध्यस्थकर्तामा परिणत भयो? जिल्लाको सुरक्षाको जिम्मा लिएका प्रमुख जिल्ला अधिकारी कसरी अपराधीको दलाली गर्ने विवेकहीन बुख्याँचामा बदलिए? राज्यका सबै मुख्य अंगलाई समेत लल्कार्ने तागत कहाँबाट आयो एक व्यक्ति र संस्थामा?

यही वर्षको मे २८ मा अपडेट गरिएको अन्सारीको पछिल्लो फेसबुक पोस्टमा उनी र प्रधानमन्त्री ओलीका चार तस्वीर छन्। अनौपचारिक माहौल झल्काउने तस्वीरमा प्रम ओली खैरो पाइन्ट, रातो टिसर्ट र सेतो बिर्के टोपीमा सजिएका छन् भने अन्सारीले परम्परागत कुर्ता पाइजामा लगाएका छन्। तस्वीरको दायाँ उपल्लो किनारमा राष्ट्रपति विद्या भण्डारीको तस्वीर टाँगिएको छ। पोस्टमा लेखिएको छः रमादान मुबारक।

अन्सारीको फेसबुक खोतल्दै जाने हो भने माधवकुमार नेपाललगायत तत्कालीन एमालेका धेरै नेतासित खिचिएका तस्वीर भेटिन्छन्। गत स्थानीय चुनावमा वीरगन्जमा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनाइएका कारण एमाले नेतासँग उनको उठबस अस्वभाविक होइन तर एउटा तस्वीरमा भने उनले दायाँ हात विष्णु पौडेलको र बायाँ हात वामदेव गौतमको पाखुरामा यसरी जेलेका छन् कि दुबै नेतालाई त्यो ‘पोज’ त्यति आरामदायी नभएको भान अनुहारबाट झल्किन्छ।

नेपालका बाँकी मेडिकल कलेजका सञ्चालकजस्तै अन्सारी नेकपानिकट भए पनि प्रतिपक्षीलगायत कुनै पनि ठूलो पार्टीसित उनको कटुतापूर्ण सम्बन्ध छैन। उनी पछिल्लो स्थानीय चुनावको संघारमा मात्रै तत्कालीन एमालेमा छिरेर वीरगन्जका लागि मेयरको उम्मेदवार बनेर हारेका थिए। त्यस अगाडि २०७० को दोस्रो संविधान सभाको चुनावमा उनी तत्कालीन एकीकृत माओवादीका तर्फबाट पर्सा क्षेत्र नं. २ बाट चुनाव लडेर हारेका थिए।

दुईपल्ट चुनाव हार्दा त उनले राज्यलाई खुलेआम लल्कारिरहेका छन् भने उनले कुनै पनि चुनाव जितेको भए के हुन्थ्यो? सहजै अनुमान गर्न सकिन्छ। स्मरण रहोस्, अन्सारीको नेशनल मेडिकल कलेजले उनी आफैं मेयर बन्न खोजेको वीरगन्ज महानगरपालिकालाई तिर्नुपर्ने १० करोड कर नतिरेको भन्ने समाचार २०७४ सालमै आएका थिए। त्यस यता उनको थप कति कर बक्यौता छ, हिसाबकिताब मिडियामा आएको छैन तर उनले कर तिरेको समाचार पनि आएको छैन।

अहिलेको सरकार बनेलगत्तै सत्तासित नजिक हुन मेडिकल कलेज सञ्चालकले निजी मेडिकल तथा डेन्टल कलेजको छाता संगठनको अध्यक्ष पद अन्सारीलाई थमाइदिएका थिए। यसरी नेपालका निजी मेडिकल कलेजलाई प्रोफेसरका सट्टा बाउन्सरका भरमा चलाइने फिरौती धन्दाका रूपमा स्थापित गर्नमा उनको मुख्य भूमिका छ।

‘दोषी प्रमाणित नभएसम्म निर्दोष’ भन्ने न्यायको आधुनिक सिद्धान्तअनुसार मानिलिऔं अहिले सरकारलाई बसरुद्धिनलगायत मेडिकल कलेजका सञ्चालकले गरेको बदमासीबारे थाहा छैन। मिडियामा यो विषय व्यापक हुँदैमा प्रधानमन्त्रीसम्म सबै कुरा पुगेकै हुनुपर्छ भन्ने पनि छैन। प्रधानमन्त्रीसित कसैले फोटो खिचेर फेसबुकमा हाल्दैमा उसका सुकर्म वा कुकर्मका लागि प्रधानमन्त्री भागीदार हुनुपर्छ भन्ने पनि छैन।

तर असोज ६ गते ओली सरकारकै गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सचिवहरू समेत राखेर अवैध रूपमा असुलिएको रकम एक महिनाभित्र फिर्ता गर्न देशका सबै मेडिकल कलेजलाई दिएको निर्देशनचाहिं यति चाँडै बेवारिसे हुन मिल्दैन।

आमाबाबुको मेहनतको कमाइबाट लाखौं रुपैयाँ मेडिकल कलेजलाई बुझाइसकेका विद्यार्थी यसपाली अवैध रूपमा उठाइएको रकम फिर्ता नगरी नछाड्नेमा कटिवद्ध देखिन्छन्। गण्डकी मेडिकल केलजबाट सुरू भएको आन्दोलन चितवन मेडिकल कलेज हुँदै वीरगन्जको नेशनल मेडिकल कलेजमा आइपुगेको छ। यो यहीँमात्र रोकिने छैन।

दुई तिहाइको सरकार यसपाली आफ्नो ज्यानै हत्केलामा राखेर अन्यायविरूद्ध उत्रिएका कलिला विद्यार्थीका पक्षमा उभिन्छ वा फेरि पनि अन्सारीहरूका पछि उभिन्छ हेर्न बाँकी छ।