
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्ने बताएका छन्। सत्तापक्ष र माओवादीबीच भएको दुई बुँदे समझदारीमा छानबिन समिति बनाउने सहमति भए पनि समिति नबनेका कारण संसद् चल्न सकेको थिएन।
दाहालका अनुसार प्रमुख तीन दल (एमाले, कांग्रेस र माओवादी) बीच उच्चस्तरीय छानबिन समिति बनाउने छलफल भएको छ। समिति बनेर त्यसको कार्यादेश हेरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा गरिरहेको विरोध हटाउने उनले विश्वास व्यक्त गरे।
भिजिट भिसा गम्भीर अध्ययनको विषय भएको र यो अहिलेका गृहमन्त्रीबाट सुरु नभई धेरै वर्षदेखि चलेको बताए। उनले यसमा अन्तर्राष्ट्रिय पक्ष पनि जोडिएको र यो राष्ट्रिय महत्त्वको अत्यन्त गम्भीर विषय भएकाले गम्भीरतापूर्वक छानबिन आवश्यक रहेको बताए।




