नेपालको समकालीन राजनीति एक जटिल मोडमा आइपुगेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको निरन्तर फुट र बिभाजनको कारणले समाजबाद स्थापनाको कामले गति लिन सकेको छैन । स्वार्थ , अविस्वास र अवसरवादको शिकारले ग्रस्त कम्युनिष्ट पार्टीहरुको कारणले जनतामा निराशा छाइरहेको देखिन्छ ।

कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा फर्केर हेर्दा, यो आन्दोलन नेपाली जनताको पीडा, शोषण, अन्याय, दमन र असमानताको विरुद्धमा उभिएको शक्तिशाली राजनीतिक धार थियो । जनयुद्ध र जनआन्दोलनको बलमा देशले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता आधारभूत परिवर्तनहरू सुनिश्चित ग¥यो । तर आजको राजनीतिक परिदृश्य हेर्दा ति उपलब्धिहरु खतरामा पर्दै गएको अनुभूति हुन्छ । जनताको नाम भजाएर ब्यक्तिगत स्वार्थ तथा बिचौलियाहरुको हितमा काम गर्ने प्रबृतिले मुलुकलाई क्षति गरिरहेको छ ।
यसको प्रत्यक्ष असर देशको समग्र विकास र जनताको जीवनस्तरमा देखिन्छ । बेरोजगारी, महँगी, भ्रष्टाचार, विदेश पलायन, असमानता, शिक्षा र स्वास्थ्यको संकटले नेपाली जनताको सपना चुँडिरहेको छ । ब्यवस्थामा परिवर्तन भएपनि जनताको अवस्था परिबर्तन भएन । योजनाहरू आए, नीति बने, तर कार्यान्वयन हुन सकेनन्। किनभने एकीकृत विचार र प्रतिबद्धता बिना शासनले प्रगतिको दिशा लिँदैन ।
समाजवादमा पुग्ने सपना अपूरो हुनुको मूल कारण एकता अभाव हो । वर्गविहीन समाज निर्माण, समानताको आधारमा समाज रुपान्तरण, सामूहिक स्वामित्व, उत्पादनका साधनहरूको न्यायोचित वितरण, र जनताको सक्रिय सहभागिता सहितको शासन प्रणाली समाजवादका आधारशिला हुन् । यसको लागि बृहत समाजबादी मोर्चा बनाएर अगाडि बढ्नुपर्छ ।
आजको दिनमा एउटा बलियो , क्रान्तिकारी , विचारमा स्पष्ट र व्यवहारमा एकीकृत कम्युनिष्ट पार्टीको आवश्यकता खडा भएको छ । आज कम्युनिष्ट आन्दोलनको पुनर्संयोजन, विचारको शुद्धीकरण, संगठनको केन्द्रिकरण र नेतृत्वको वैचारिक दृढता अनिवार्य भइसकेको छ । यसको लागि नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा क्रान्तिकारी धारको एकता सम्भव छ । किनभने यही पार्टीले जनयुद्धको नेतृत्व ग¥यो, संविधान बनायो, परिवर्तनहरू ल्यायो र अझै पनि परिवर्तनको एजेण्डामा विश्वास गर्छ । यही पार्टीसँग जनतासँग जोडिएको विगत छ, बलिदानको गाथा छ, र भविष्यप्रति जवाफदेही हुने सामथ्र्य पनि छ ।
समाजवाद कुनै नारामात्र होइन, यो कार्यनीतिमा लागु हुने प्रक्रिया हो । यसका लागि कम्युनिष्ट पार्टीहरूले जनतामाझ गएर जनतासँग संवाद गर्ने, उनीहरूका दुःख–पीडालाई बुझ्ने, उत्पादनमा लाग्ने, श्रमको सम्मान गर्ने, नीति निर्माणमा पारदर्शिता ल्याउने र भ्रष्टाचारको विरुद्ध शून्य सहनशीलता देखाउने कार्य अनिवार्य छ ।
आज नेपालमा सडक, पुल, भवन, टावर त बनेका छन्, तर मानिसको मनमा सन्तोष छैन । सत्तामा पुगेका नेताहरू जनताको नजरमा नायक होइन, संदेहका पात्र भएका छन् । यस स्थितिको अन्त्य अब बलियो राजनीतिक वैकल्पिक शक्ति निर्माणमार्फत मात्र सम्भव छ । त्यो विकल्प पुनः एकीकृत कम्युनिष्ट आन्दोलन नै हुन सक्छ ।
आज हामी संघीय गणतन्त्रको शासन प्रणालीमा छौं । स्थानीय तहमा पनि बामपंथीहरुकै वर्चस्व छ । तसर्थ स्थानीय तहबाटै सुधारको सुरुवात गर्नुपर्छ । पारदर्शिता, जवाफदेहिता, सेवा प्रवाहमा सरलता, योजनाको प्रभावकारी कार्यान्वयन र जनप्रतिनिधिको इमानदार व्यवहार नै जनताको मन जित्ने आधार हुन सक्छ । स्थानीय नेतृत्व तहमा रहेकाहरूले स्वार्थभन्दा माथि उठेर जनताको हितमा सच्चा निर्णय लिन सक्ने सामथ्र्य देखाउनुपर्छ । राजनीतिक प्रशिक्षण, वैचारिक विमर्श, संगठनको सुदृढीकरण र जनसम्पर्क विस्तारले मात्र पार्टी बलियो बन्छ।
समाजवाद कुनै कल्पनाको कुरा होइन। यो हामीले निर्माण गर्ने यथार्थ हो । त्यसका लागि हामी सबै कम्युनिष्टहरू एकै मञ्चमा उभिनुपर्छ । आज देशमा रहेका बिभिन्न धारका माओवादीहरु र एमाले, नेकपा , समाजबादी , राष्ट्रिय जनमोर्चा लगायतका बामपंथी धारहरू एकअर्का विरुद्ध प्रतिस्पर्धी भएर होइन, समन्वयकारी भएर अघि बढ्नुपर्छ ।
हामीले जनताबाट लिएको मत, उनीहरूको भरोसा, विगतको बलिदान र भविष्यप्रतिको जिम्मेवारीलाई सम्झेर एकताको बाटो समाउनुपर्छ । किनकि, जबसम्म कम्युनिष्टहरू एकतावद्ध हुँदैनन्, तबसम्म देशले स्थायित्व, समृद्धि र समाजवादको सपना पुरा गर्न सक्दैन । वैचारिक स्पष्टता र संगठनात्मक दृढतासहित कम्युनिष्ट आन्दोलनलाई फेरि एकपटक राष्ट्रिय अभियानको रुपमा अघि बढाऔं । एकतामा बल छ, जनताको विश्वास पनि त्यहीँ छ ।