राहदानी विभागको अनलाइन प्रणाली बुधबारदेखि अवरुद्ध छ । प्रणाली अवरुद्ध हुँदा राहदानी वितरण प्रभावित भएको छ । आइतबारदेखि आंशिक सुचारु भए पनि देशभित्र र बाहिरका हजारौं सेवाग्राही मर्काका परेका छन् । म्याग्दी घर भएका नवराज जैसी कतारमा काम गर्छन् । त्रिपुरेश्वरस्थित विभाग परिसरमा भेटिएका जैसीले केही दिनमा कतार फर्कनुपर्ने भएकाले राहदानी नवीकरण चाँडो हुन्छ भनेर काठमाडौं आएर निवेदन दिएको बताए । 

तर, विभागको सेवा अवरुद्ध भएकाले राहदानी समयमै नवीकरण नहुने हो कि भन्नेमा उनी चिन्तित देखिए । ‘मलाई राहदानी छिटो चाहिएको थियो, जिल्लामा ढिलो हुने र केही दिनयता नचलेपछि काठमाडौंमै आएर आज निवेदन दिएको छु । तीन दिनभित्रमा राहदानी लिनका लागि बोलाइएको छ,’ ४६ वर्षीय जैसीले भने । विभागको सेवा अवरुद्ध हुँदा जैसीजस्ता थुप्रै सेवाग्राही मर्कामा परेका छन् । विभागले भने राहदानी आवेदन प्रणालीका केही कम्प्युटरमा भाइरस छिरेको र यसलाई थप फैलिन नदिन सेवा बन्द गर्नुपरेको जनाएको छ । सेवा पूर्ण रूपमा सुचारु गर्न एकदेखि दुई हप्ता लाग्ने विभागले जनाएको छ ।

सयौं सेवाग्राहीलाई मर्कामा पार्ने गरी यस पटक भएको राहदानी विभागको कम्प्युटर प्रणाली नै अवरुद्ध भएको घटनाले सरकारी वेबसाइटहरूको सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ । त्यसो त नेपालको सरकारी कार्यालयका वेबसाइट र डिजिटल प्रणाली बारम्बार अवरुद्ध हुने समस्या नयाँ होइन । सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्धित सरकारी वेबसाइटहरू यसअघि पनि पटक–पटक अवरुद्ध हुँदै आएका छन् ।

यातायात व्यवस्था विभाग, राहदानी विभाग, निर्वाचन आयोगदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विश्वविद्यालयसम्मका अनलाइन प्रणालीहरू कुनै न कुनै समयमा सर्भर बिग्रेर वा साइबर आक्रमणका कारण नचल्ने भएपछि सेवाग्राही मर्कामा पर्ने गरेका छन् । यस्ता समस्या किन बारम्बार हुन्छन् वा यसको पछाडि के कस्ता कारण छन् भन्ने विषयमा गहिरो अध्ययन चाहिँ भएको छैन ।

यस्ता घटना हुँदा केही चासो दिएको जस्तो गरे पनि जिम्मेवार निकाय र अधिकारीहरू साइबर सुरक्षा र सूचना प्रविधि प्रणाली व्यवस्थापनको मामिलामा अनविज्ञ वा अनिच्छुक देखिने गरेका छन् । सरकारी वेबसाइटहरू बारम्बार बन्द हुने समस्याले सेवाग्राहीको काममा अवरोध त ल्याएको छ नै राज्यका महत्त्वपूर्ण डेटा सुरक्षामा गम्भीर जोखिम खडा गरेको साइबर सुरक्षा विज्ञहरूको धारणा छ ।ekantipur