दलहरूबीच भागबन्डा नमिल्दा त्रिभुवन विश्वविद्यालयका ८ डिनसहित १८ क्याम्पस र ७ जना सहपरीक्षा नियन्त्रकको नियुक्ति असोज दोस्रो सातादेखि रोकिएको छ । त्रिविले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयमा नियुक्ति गर्ने भन्दै छनोट तथा सिफारिस समिति गठन गरी आवेदन माग गरेको थियो । छुट्टाछुट्टै सिफारिस समितिले कार्यविधिअनुसार ३/३ जनाको नाम सिफारिस गरे पनि कार्यकारी परिषद्ले निर्णय गर्न नसकेको हो ।

उपकुलपतिको अध्यक्षतामा कार्यकारी परिषद् रहने व्यवस्था छ । त्यसमा रेक्टर, रजिस्ट्रार, मनोनीत डिन र प्राध्यापक गरी ७ जना रहन्छन् । कार्यकारी परिषद्भित्र नियुक्तिसम्बन्धी कुरा नमिलेकाले निर्णय हुन नसकेको एक सदस्यले बताए । राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले विभिन्न संकाय/संस्थानका डिनसहित क्याम्पस प्रमुखको दाबी गरेका कारण निर्णय गर्न विलम्ब भएको उनले जानकारी दिए । गत असारदेखि संस्थान/संकायहरू डिन र क्याम्पसहरू प्रमुखविहीन छन् । निमित्तलाई जिम्मेवारी दिइएको छ ।

सिफारिस समितिहरूले असोज दोस्रो साता नियुक्तिका लागि ३/३ जनाको नाम सिफारिस गरेपछि पदाधिकारीले राजनीतिक दलका नेतृत्वसँग भेटघाट गरेका थिए । भेटघाटपछि भागबन्डाको आधारमै डिन नियुक्ति हुने आशंका त्रिविका प्राध्यापकहरूले गरेका छन् । उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर डिन नियुक्तिबारे जानकारी गराएका थिए । कार्यकारी परिषद्को बैठक डाकेर नियुक्ति प्रक्रिया अघि बढाउन खोजे पनि भागबन्डामा कुराकानी नमिल्दा सफल हुन नसकेको परिषद् स्रोतले जनायो ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), इन्जिनियरिङ अध्ययन संस्थान (आईओई), कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, विज्ञान, प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र संकाय, वन विज्ञान अध्ययन संस्थान, शिक्षा र व्यवस्थापन संकायमा डिन नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । व्यवस्थापन, विज्ञान प्रविधि र वन विज्ञानबाहेकमा सिफारिस समितिले नियुक्तिका लागि नाम सिफारिस गरिसकेको छ । सबै डिनहरू एकै पटक प्याकेजमा नियुक्ति गर्ने तयारी भएकाले ढिलाइ भएको रजिस्ट्रार रिजालले जनाए । नियुक्तिमा कुनै राजनीतिक दबाब नभएको र भागबन्डा पनि नहुने उनको भनाइ छ ।

कांग्रेस, एमाले र माओवादीले डिन र क्याम्पस प्रमुख नियुक्तिमा आआफ्नो दाबी गरेकाले प्याकेजमै भागबन्डा गरेर मिलाउन खोजिएको उपकुलपति कार्यालयका एक कर्मचारीले बताए । कांग्रेसले आईओएम, आईओई, शिक्षा, व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी र कृषि संकायको डिनको दाबी गरेको स्रोतले जनायो । त्यस्तै एमालेले पनि आईओएम, आईओई, व्यवस्थापन, मानविकी र कृषिको डिनको दाबी गरिरहेको छ । माओवादीले पनि शिक्षा, कृषि, मानविकीलगायतका डिन माग गरिराखेकाले भागबन्डा मिल्न नसकेको ती कर्मचारीले बताए ।

‘दुई वटा पार्टी र तिनका प्राध्यापक संगठनले एउटै डिनमा दाबी गरेपछि निर्णय लिन मुस्किल परेजस्तो देखिन्छ,’ उनले भने । त्रिविका पदाधिकारीले भने सिफारिस समिति गठन भएका कानुन संकायबाहेक सबै डिनका लागि सिफारिस आएपछि मंसिर १५ सम्म नियुक्ति गरिसक्ने समझदारी कार्यकारी परिषद्मा भएको बताएका छन् । पाटन संयुक्त, भैरहवा, पृथ्वीनारायण, रामस्वरूप रामसागर क्याम्पस जनकपुरमा पनि प्रमुख नियुक्ति हुन सकेको छैन ।

सानोठिमी, सुर्खेत बहुमुखी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, रत्नराज्य लक्ष्मी (आरआर), बुटवल बहुमुखी, ललितकला क्याम्पस कीर्तिपुर, भोजपुर बहुमुखी, सूर्यनारायण सत्यनारायण क्याम्पस सिरहा र विश्वभाषा काठमाडौं, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, वीरेन्द्र बहुमुखी, डोटी बहुमुखी, जुम्ला क्याम्पस र शंकरदेव क्याम्पसमा पनि प्रमुख नियुक्त हुन बाँकी छ । सिफारिस समितिले दरखास्त आह्वान गरी कार्यविधिका आधारमा क्याम्पस प्रमुख नियुक्तिका लागि ३/३ जनाको नाम सिफारिस गरिसकेका छन् ।

त्रिवि परीक्षा नियन्त्रण केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयसहित ६ जना सहपरीक्षा नियन्त्रक र शिक्षा विकास तथा अनुसन्धान केन्द्रलगायतमा निर्देशक पनि नियुक्ति हुन सकेको छैन । ठूलो संख्यामा डिन, क्याम्पस प्रमुख, निर्देशकलगायत विभागीय प्रमुखहरू नियुक्ति नहुँदा विश्वविद्यालयमा अनिश्चितता, अस्तव्यस्तता र अन्योलको स्थिति आएको प्राध्यापक तथा कर्मचारीको गुनासो छ ।

आईओएममा डिन नियुक्तिमा ढिलासुस्ती भएको भन्दै त्रिवि प्राध्यापक संघ महाराजगन्ज चिकित्सा क्याम्पस एकाइले उपकुलपतिको ध्यानाकर्षण गराएको छ । उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यवाहक एकाइ सभापति डा. गोपाल सेढाईंले डिन नियुक्ति नहुँदा क्याम्पस प्रमुख, कार्यकारी निर्देशक, विभागीय प्रमुख नियुक्ति र अध्यापक बढुवा अवरुद्ध भएको प्राध्यापक संघले जनाएको छ ।

डिन छनोटका लागि चिकित्सामा प्राध्यापक केके ओलीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरिएको छ । इन्जिनियरिङमा जीवराज पोखरेल, शिक्षाशास्त्रमा हेमराज ढकाल, मानविकीमा नवराज कँडेल, कृषिमा कैलाश प्याकुरेल, व्यवस्थापनमा प्रेमराज पन्त, वन विज्ञानमा पीके झा र विज्ञानमा तुलसी पाठकको संयोजकत्वमा समिति गठन गरिएको छ ।

क्याम्पस प्रमुख छनोट र सिफारिसका लागि पनि छुट्टाछुट्टै समिति बनाइएको छ । समितिले नियुक्तिसम्बन्धी मापदण्डअनुसार एक सय पूर्णाङ्कका लागि आवेदकबीच प्रतिस्पर्धा गराएर ३/३ जनाको नाम सिफारिस गरेका छन् । सिफारिस भएका मध्येबाट भागबन्डा गरी नियुक्ति हुने सम्भावना बढी रहेको आशंका त्रिविका प्राध्यापकहरूको छ । गत फागुनमा उपकुलपति र वैशाखमा रेक्टर, रजिस्ट्रार खुला प्रतिस्पर्धाबाट नियुक्त भएपछि मातहतको नियुक्ति पनि सोही प्रक्रियाबाट गर्न उनीहरूमाथि दबाब परेको छ ।