

मानव इतिहास र द्वन्द्व
भनिन्छ, मानव इतिहास द्वन्द्व र युद्धको इतिहास हो । आदिम युगमा मानव जातिले आफ्नो अस्तित्व र जीवन रक्षाको लागि भीमकाय पशुहरू र आफ्नै जातिसँग लडाइँ लड्नुपथ्र्यो । सभ्यताको विकासपछि सभ्य र असभ्य मानिने समूहबिच द्वन्द्व हुन थाल्यो । खेतीपातीको युग सुरु हुँदै गर्दा राज्यको उद्भव पनि भयो । त्यसपश्चात् दास युगको थालनी भयो र त्यस युगमा दास र मालिकबिच लडाइँ भयो । सामन्ती युगमा सामन्त र सर्वहारा किसानहरूको बिचमा तथा पुँजीवादी समाजमा मजदुर र बुर्जुवा वर्गबिच लडाइँ भयो । सबभन्दा कहालीलाग्दो युद्ध त पुँजीवादको चरम रूप साम्राज्यवादमा पतन भएपछि देश देशबिच भयो । पश्चिमा साम्राज्यवादी देशहरू विशेषतः युरोपका स्पेन, पोर्चुगल, बेलायत, फ्रान्स, जर्मनी, इटली, नेडरल्यान्ड, बेल्जियम र संरा अमेरिका तथा एसियाबाट जापानले स–साना देशहरूलाई उपनिवेश बनाउन ती देशमा थोपरेका भयङ्कर युद्धहरू तथा ती देशका जनताबिच झगडाको बीउ छर्दै ‘फुटाउ र राज गरको नीति’ थोपर्दै गएको परिणाम आज पर्यन्त हामी देख्न सक्छौँ ।
भारत पाकिस्तानको बैमनस्य, भारत–चीनको सीमा विवाद, कोरियाली जनताबिचको विभाजन, मध्यपूर्वका देशहरूबिचको विभाजन केही ज्वलन्त उदाहरणहरू हुन् । यिनीहरूमा सबभन्दा चर्को र विवादित द्वन्द्व हो इजरायल र प्यालेस्टाइनी द्वन्द्व । सन् १९४७ देखि आजसम्म अर्थात् विगत ७६ वर्षदेखि लगातार प्यालेस्टाइनी क्षेत्रमा यहुदी (Jews) र प्यालेस्टाइनी जनताबिच निरन्तर द्वन्द्व हुँदै आएको छ । शनिबार असोज २० गते पनि फेरि युद्ध भड्कियो । हालसम्म इराजयलतर्फ ८०० जनाको मृत्यु भइसकेको तथा प्यालेस्टाइनीतर्फ ६०० तथा दुवै पक्षका हजारौँ जनता घाइते भएको समाचार आइसकेको छ । इजरायलमा विभिन्न कार्यमा संलग्न १० नेपालीले सो द्वन्द्वमा आफ्नो ज्यान गुमाइसकेको जनाइएको छ ।
इजरायल
इतिहासमा प्यालिस्टानी क्षेत्र
भूमध्य सागरको पूर्वी किनारमा अवस्थित आजको इजरायल र त्यस वरिपरिको मध्यपूर्वको मुख्य क्षेत्रमा (आजको सिरिया, जोर्डन, लेबनान, मिश्रको सेनाई) ईसापूर्व ४००० अथवा आजभन्दा ६५०० वर्ष पहिलेदेखि नै प्यालेस्टाइनी जनता बसोबास गर्दै आएको विश्वास गरिन्छ । यस क्षेत्र प्राचीन कालमा विभिन्न शक्तिशाली साम्राज्यको अधीनमा रहेको इतिहासले देखाउँछ । ईसापूर्व ६३ मा यस क्षेत्र रोमन साम्राज्यअन्तर्गत आउनुपूर्व कहिले आसिरीयन (मेसोपोटामिया) त कहिले पर्सिया साम्राज्यको अधीनमा थियो । रोमन साम्राज्यको अधीनमा रहँदा यस क्षेत्र इसाई धर्मावलम्बीहरूको आकर्षणको स्थल हुन पुग्यो । सन् ६४० मा यो भूभाग अरब मुस्लिमहरूको अधीनमा रहन गयो । सन् १०९९ सम्ममा यो क्षेत्र इसाई र इस्लाम धर्म युद्धको भूमिमा परिणत भयो । सन् ८८ देखि पहिलो विश्वयुद्धको अन्तसम्ममा यो क्षेत्र तथा पूरा अरबी क्षेत्र अटोमन साम्राज्य (हालको तर्की) अन्तर्गत रह्यो । तर, पहिलो विश्वयुद्धमा अटोमन साम्राज्यको पराजयपश्चात् यो क्षेत्र बेलायत अधीनस्त भयो । बेलायतले पहिलो विश्वयुद्धको उत्तराद्र्धमा सन् १९१७ मा बालफोर घोषणा (Balfour Declaration) अन्तर्गत यस प्यालेस्टाइनी क्षेत्रमा यहुदीहरूलाई बसोबास गर्न प्रेरित गर्यो । बेलायतको यो नीति बेलायत सरकारले युरोपका विभिन्न देशमा बसोबास गर्दै आएका यहुदीहरूलाई उनीहरूको एक देश बनाइ दिने वाचाअनुसार गरेको देखिन्छ । तर, बेलायतले यो वाचा गर्दा स्थानीय रैथाने अरबी र प्यालेस्टाइनी जनतालाई एक शब्द सोध्नुपर्ने आवश्यकता ठानेनन् ।
PLO – प्यालेस्टायनी मुक्ति सङ्गठन
पहिलो विश्वयुद्धको समाप्तिसँगै राष्ट्रसङ्घ (League of Nations) को स्वीकृतिमा जोर्डन नदीको पश्चिम क्षेत्र हालको इजरायल तथा प्यालेस्टाइनी बसोबासको क्षेत्रलाई बेलायतले आफ्नो मातहतमा राख्यो । सन् १९३६ सम्ममा बढ्दो यहुदीहरूको आप्रवासनले प्यालेस्टाइनी भूमिमा प्यालेस्टाइनी र अरबी जनताले विरोध जनाउँदै विभिन्न आन्दोलन गर्न थाले । तर, सो आन्दोलनलाई बेलायती सेना र यहुदीहरूले निर्ममतापूर्वक दबाउँदै गयो । प्यालेस्टाइनी जनता र अरबी जनतालाई उनीहरूको बस्तीमा धाबा बोली छानी छानी बेलायतले निर्मतापूर्वक दबायो । भनिन्छ, त्यतिबेला दस प्रतिशतसम्म प्यालेस्टाइनी पुरुषहरूको बेलायत र यहुदीहरूले निर्ममतापूर्वक हत्या गरेका थिए ।
अझ दोस्रो विश्वयुद्धमा (१९३९ देखि १९४५) जर्मनीमा हिटलरको यहुदी जातिलाई समूल नष्ट गर्ने नाजीवादी नीति र आक्रमणको कारण यस क्षेत्रमा विस्तारै यहुदीहरूको बसोबास ह्वात्तै बढ्यो । सदियौँदेखि प्यालेस्टाइनी अरब मूलका जातिहरूको पवित्र भूमिको रूपमा रहँदै आएको यस क्षेत्रमा यहुदीको बस्तीलाई अरबी जनताले स्वीकार नगर्ने प्रस्टै थियो ।
इजरायलको जन्म
प्यालेस्टाइनी भूमिमा बेलायतको नीतिले अरबी जनतालाई सन्तुष्ट पार्न नसकेपछि बेलायतले चलाखीपूर्णरूपमा यसको व्यवस्थापन गर्ने जिम्मा संयुक्त राष्ट्रसङ्घलाई सुम्प्यो । संयुक्त राष्ट्रसङ्घले प्रस्तावना १८१ पास गरी यस प्यालेस्टाइनी भूमिलाई अरब र प्यालेस्टाइनी गरी दुई टुक्रामा विभाजन गरी सन् १९४८ मे १४ मा एक नयाँ देश इजरायलको स्थापना भएको घोषणा गर्यो । पश्चिमा शक्तिको वर्चस्व रहेको संयुक्त राष्ट्रसङ्घको यो नीति अरबी जनताको लागि अपमान र असह्य पीडा दिने घटना थियो । यसलाई अरबी जनताले स्वीकार्ने प्रश्नै उठ्दैन थियो । आखिरमा सबै अरबी देशहरूले संयुक्तरूपमा इजरायलको विरुद्ध युद्ध सुरु गर्यो । पहिलो अरब–इजरायल युद्धको नामले चिनिने यस युद्ध सन् १९४९ मा विराम भयो । अमेरिका र बेलायतको सहयोग पाएका इजरायलले युद्ध जित्यो । अरबी देशहरूलाई अपमानको विष पिउन बाध्य बनाइयो । तर, यो अपमानलाई अरबी जनताले कहिल्यै बिर्सेनन् । यस युद्धले ७,५०,००० (सात लाख पचास हजार) प्यालेस्टाइनी जनतालाई सो क्षेत्रबाट विस्थापित गरी शरणार्थी बन्न बाध्य बनायो । युद्धपश्चात् प्यालेस्टाइनी भू–भागलाई तीन भागमा विभाजन गर्यो – इजरायल राज्य (State of Israel), गाजा (Gaza Strip) र पश्चिम किनार क्षेत्र (West Bank) । गाजालाई मिश्रको अधीनमा राख्यो र पश्चिम किनार क्षेत्र जोर्डनको अधीनमा । यसरी यस विभाजनले इजरायको स्थापना गरियो तर त्यहाँका रैथाने प्यालेस्टाइनी जनतालाई राज्यविहीन शरणार्थीको दर्जामा झार्यो । पश्चिमा साम्राज्यवादले रैथाने जनतालाई गरेको क्रूर, अमानवीय र अत्याचारका असङ्ख्य घटनाहरूमध्ये प्यालेस्टाइनी जनतालाई गरेको अत्याचार पनि एक हो । अरबी जनता र प्यालेस्टाइनी जनतालाई गरेको अपमान असह्य थियो । इजरायलयको अस्तित्वको लागि स्थानीय जनतालाई नै विस्थापित गरेको घटनाले त्यस क्षेत्रमा शान्ति स्थापना हुने कल्पना पनि गर्न सकिँदैनथ्यो । त्यसैले प्यालेस्टाइनी जनताले आफ्नो हक र अस्तित्वको लागि आफ्नो आवाजलाई कहिले कमजोर हुन दिएनन् । इजरायल र पश्चिमा शक्तिविरुद्ध लड्न र आफ्नो भूमिमा आफू बसोबास गर्न पाउने अधिकारको लागि उनीहरू निरन्तर सङ्घर्ष गर्दै गए र अन्ततोगत्वा यो लडाइँलाई अझ व्यवस्थित गर्न सन् १९६४ प्यालेस्टाइनी मुक्ति सङ्गठन (PLO – Palestine Liberation Organization) गठन गरे । ‘पश्चिमा साम्राज्यवादले संसारका विभिन्न देश र क्षेत्रबाट आफ्नो खूनी पञ्चा त हटाउँछ । तर, त्यहाँको जनतालाई भिडाउने बीउ पनि छरेर जान्छ’ भन्ने ज्वलन्त उदाहरण हो प्यालेस्टाइनी भूमिमा आज ७६ वर्षसम्म पनि युद्धहरू भइरहनु ।
हमासको आक्रमणको बदलामा इजरायलको आतङ्क अब कति दिन चल्ने हो त्यो भन्न सकिने अवस्था छैन । हो, हमासले युद्धको नाममा सर्वसाधारणलाई लक्ष्य भएकोमा युद्धको नियमको उल्लङ्घन देखिए पनि बीस लाख प्यालेस्टाइनीको बसोबासको सानो भूमि गाजापट्टिमा बिजुली, पानी र खाद्यानको आपूर्ति बन्द गरेर सर्वसाधारण प्यालेस्टाइनीहरूलाई जिउँदै मार्नु पनि कम अमानवीय होइन ।
स्वेज नहर सङ्कट वा दोस्रो अरब–इजरायल युद्ध
प्यालेस्टाइनी जनता र अरबी जनताले इजरायलसँगको पहिलो युद्ध हारे पनि आफ्नो आत्मनिर्णय र आफ्नो भूमिमा आफ्नो अधिकारको लागि साना ठूला प्रतिकारहरू निरन्तर गरिरहे । मिश्र (इजिप्ट), सिरिया र जोर्डनसँग यही विषयमा इजरायलबिच समय–समयमा हुने विवाद र हानाहान रोकिएन । यता दोस्रो विश्वयुद्धपछि अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाका देशहरू पश्चिमा साम्राज्यवादबाट स्वतन्त्र हुने र उपनिवेशवादको अवशेषलाई विस्तारै निमिट्यान्न पार्ने लहर पनि चल्दै गयो । यही सिलसिलामा सन् १९२२ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको मिश्रले आफ्नो स्वेज नहरको राष्ट्रियकरण गरेर बेलायत र फ्रान्सको अधीनबाट यसको स्वामित्व अन्त गर्ने घोषणा गर्यो । तात्कालीन राष्ट्रपति अब्देल गामाल नासिरले सत्तामा पुगेको एक महिनापछि २९ जुलाई १९५६ मा सो घोषणा गरेका थिए । यस घोषणालाई फिर्ता नलिए बेलायत र फ्रान्सले मिश्रमाथि आक्रमण गर्ने धम्की दिए । स्थिति तनावपूर्ण हुँदै गयो । यही मौकाको फाइदा उठाई इजरायलले २९ अक्टोबर १९५६ मा मिश्रमाथि हमला गर्यो । पछि बेलायत र फ्रान्सले पनि आक्रमण सुरु गरे । यतिबेलासम्म तात्कालीन सोभियत रुसले मिश्रमाथि तीन देशको हमला नरोकेमा पश्चिम बेलायत र फ्रान्सको बिचको समुद्री भाग (ब्रिटिश च्यानल) मा हाइड्रोजन खसालेर बेलायत र फ्रान्सलाई पानीमा डुबाउने धम्की दियो । अमेरिकाले बेलायतलाई युद्ध रोक्न आव्हान ग¥यो र डिसेम्बरसम्ममा तीन देशका सेनाले मिश्र छोडे । तीन महिनापछि स्वेज नहर सङ्कटले निम्त्याएको युद्ध रोकियो । तर, अरब देश र इजरायलबिच हुनसक्ने भावी युद्धको सम्भावना भने कहिल्यै तरेन । स्वेज सङ्कटको बेलामा देखिएको इजरायलको आक्रमकताले मिश्र, सिरिया र जोर्डनलाई भविष्यमा उनीहरूविरुद्ध इजरायलबाट हुनसक्ने सम्भावित हमलालाई ध्यानमा राखी तीन देशले आपसमा रक्षा सम्झौता गरे । आखिरमा स्वेज नहर सङ्कट वा दोस्रो अरब इजरायलले युद्धको दस वर्र्षपछि फेरि अर्को युद्ध भड्कियो ।
हमासको झन्डा
६ दिने युद्ध (तेस्रो अरब इजरायल युद्ध) र पीएलओको सक्रियता
स्वेज नहरको व्यापारिक महत्वमात्र होइन यसको रणनैतिक महत्व पनि उत्तिकै छ । इजरायलको सिधा पहुँच लाल सागरमा नभए पनि टिरान जलडमरुसम्म (Strait of Tiran) थियो जुन इजरायलको लागि निकै महत्वको थियो । तर, मिश्रको सेनाई प्रान्तसँगै रहेको यस क्षेत्रमा उसले चाहेमा इजरायलको पहँुचलाई रोक्न सक्थ्यो । यही कुराले मिश्रको सेनाई क्षेत्रलाई इजरायल आफ्नो अधीनमा ल्याउने मौका हेरिरहेको थियो । यसै मनसायले सन् १९६७ जूनमा इजरायलले मिश्र, सिरिया र जोर्डन ती नै देशका हवाई सेना र हवाईक्षेत्रमाथि आक्रमण गरी मिश्रको सेनाई प्रान्त र गाजा क्षेत्र, सिरियाको गोलन हाइट र जोर्डनको पूर्वी जेरुसेलम र पश्चिम किनारलाई कब्जा गर्यो । ६ दिने युद्धको नामले चिनिने यस युद्धबाट इजरायलले विशाल भूमि हातमा पार्यो । युद्ध विराम गराउन अमेरिका र सोभियत रुसले संयुक्त राष्ट्रसङ्घमा पहल गरे । तर, इजरायलबाट आफ्नो भूमि फिर्ता लिन मिश्र, सिरिया र जोर्डनले अर्को युद्धको तयारी थाले । यस ६ दिने युद्धमा अरब राष्ट्रहरूको हारपश्चात् सन् १९६४ मा स्थापना भएको प्यालेस्टाइनी मुक्ति सङ्गठन (PLO) यसको स्थापनाको चार वर्र्षपछि प्यालेस्टाइन भूमीको सार्वभौम अधिकारको लागि अन्य सस्थाहरूजस्तै मूल रूपमा फताह (Fatah) सँग एकीकृत गरियो । फताहका अध्यक्ष यासिर अराफातलाई नै पीएलओको अध्यक्षमा चुनियो । यसपश्चात् पीएलओले इजरायलविरुद्ध आफ्नो स्वाधीनताको लागि आक्रमणहरूलाई तीव्र बनायो । यसलाई इजरायल र अन्य पश्चिमा देशहरूले आतङ्कवादीको संज्ञा दिँदै पीएलओलाई आतङ्कवादी सङ्गठनको बिल्ला झुन्ड्याइदियो ।
इजरायलले क्रमशः प्यालेस्टानी भूमिलाई अतिक्रमण गर्दै गरेको ज्वलन्त उदाहरण
योम किपुर वा चौथो अरब इजरायल युद्ध
यता इजरायलविरुद्ध पीएलओको आक्रमण सँगसँगै तेस्रो अरब इजरायल युद्धमा आफ्नो गुमाएको भूभागलाई पुनः प्राप्त गर्न मिश्र, सिरिया र जोर्डन अर्को युद्धको तयारीमा थियो । अक्टोबर ६ को दिनलाई यहुदीहरू पवित्र दिनको रूपमा लिन्छन् र २४ घण्टा व्रत पनि बस्छन् । इजरायलको आक्रमणको ६ वर्र्षपछि सन् १९७३ मा यही ६ अक्टोबरको दिन मिश्र र सिरियाले आ–आफ्नो मोर्चाबाट इजरायलमाथि अप्रत्यासित आक्रमण गरे । यस युद्धलाई ‘योम किपुर युद्ध’, रामादान युद्ध वा अक्टोबर युद्ध वा चौथो अरब इजरायलले युद्ध पनि भनिन्छ । यस युद्धबाट मिश्र र सिरियाले ठूलो सफलता हासिल गर्न सकेनन् तर इजरायलले तीन हजारको हाराहारीमा आफ्नो सेना र नागरिक गुमाउनुप¥यो । युद्ध रोक्न इजरायलाई अमेरिकाले ठूलो दबाब दियो किनभने अमेरिका आफँै भियतनाम युद्धमा फसिरहेको थियो । करिब २० दिन चलेको युद्ध रोकियो तर यसले अरब देशहरूले सोचेअनुसार आफ्नो गुमेको भूभाग पुनः प्राप्त गर्न सकेनन् । भनिन्छ, यही युद्धले भविष्यमा अरब–इजरायलको युद्ध रोक्न र अरब इजरायलबिच शान्ति सम्झौताको रेखा कोर्यो । ‘योम किपुर युद्ध’ को पाँच वर्र्षपछि अमेरिकाकी राष्ट्रपति जिम्मी कार्टरको सहजीकरणमा अमेरिकाको मेरिल्यान्डमै अरब र इजरायलबिच एउटा सम्झौता भयो । त्यसलाई क्याप डेभिड सम्झौताको नामले चिनियो । यस सम्झौताको एक वर्र्षपछि अथवा सन् १९७९ मा मिश्रका अनवर सादात र इजरायलका मेनाकम बेगिन
(Monacham Begin) बिच शान्ति सम्झौता भयो । मिश्रले आफ्नो गुमाएको भूभाग यस सम्झौतापछि पुनः प्राप्त गर्यो तर प्यालेस्टाइनीहरूको समस्या जहाँको तहीँ रह्यो । अरबका धेरै संस्था र नेताहरू यस शान्ति सम्झौताबाट सन्तुष्ट थिएनन् र यसको विरोध हँुदै गयो ।
हमास लडाकुहरू
प्यालेस्टाइनी जनताले आफ्ना गतिविधि चर्काउँदै गए
यस सम्झौता भएकै वर्र्ष पश्चिम किनार र गाजा पट्टिमा बसोबास गर्दै आएका प्यालेस्टाइनी जनताले अर्को आन्दोलन र विद्रोह सुरु गरे । पहिलो ‘इन्टीफाडा’ भनिने इजरालयविरुद्धको यो आन्दोलनले इजरायल र पीएलओलाई पहिलो ओस्लो सम्झौतासम्म पु¥यायो । सन् १९९३ मा नर्वेको राजधानी ओस्लोमा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको सहजीकरणमा पीएलओका नेता यासिर अराफात र इजरायलका एरियल सारोन (Arial Sharon) बिच भएको सो सम्झौताले प्यालेस्टाइनी जनताले पश्चिम किनार र गाजापट्टिमा आफ्नो शासन आफैले गर्न पाउने अधिकार प्रदान गर्यो । इजरायल सरकार र प्यालेस्टाइनी सरकारको अस्तित्वलाई एक अर्काले स्वीकार्ने त्यस सम्झौतामा उल्लेख थियो । दुई वर्र्षपछि भएको दोस्रो ओस्लो सम्झौताले इजरायलले पश्चिम किनारका पाँचवटा सहरहरूबाट आफ्ना सैनिकहरू पूर्णरूपमा हटाउनुपर्ने उल्लेख गर्यो । यस सम्झौतालाई पूर्णरूपमा पालन गर्न इजरायल सरकारले आनाकानी गर्दै गयो र आखिरमा प्यालेस्टाइनी जनताले सेप्टेम्बर २००० मा इजरायल सरकारविरुद्ध दोस्रो विद्रोह (इन्टिफाडा) थाले जसले पाँच छ वर्र्षसम्मै निरन्तरता पायो । अन्तर्राष्ट्रिय अनुरोधलाई समेत बेवास्ता गरी इजरायली सरकारले प्यालेस्टाइन बस्ती र यहुदी बस्तीबिच पश्चिम किनारमा अग्लो पर्खाल बनाउने कार्य गर्दै प्यालेस्टाइनी जनतालाई हदैसम्मको विभेद गर्ने र अपमानित गर्ने कार्यमा झन तीव्रता ल्यायो ।
इजरायलको यस्तो गतिविधिले प्यालेस्टाइनी जनताको मुक्तिका लागि गठित अन्य सङ्गठनजस्तै हमास पनि अझ इजरायलको विरुद्ध सक्रिय हुँदै गयो । सन् २०१४ को प्यालेस्टाइनी सरकारमा पीएलओले हमाससँग सरकार साझेदारी गरेपछि इजरायल र पश्चिमा शक्ति सशङ्कित भयो र पुरानो शान्ति सम्झौतालाई लागु गर्ने कार्य पनि बिचमै अड्काइयो । आखिरमा सन् २०१४ देखि हमास र इजरायलबिच आक्रमण र प्रत्याक्रमणको थालनी भएको थियो । एक वर्र्षपछि सन् २०१५ मा भएको आक्रमण र प्रत्याक्रमणपछि पीएलओले ओस्लो सम्झौताले तोकिदिएको सिमाना मान्न प्यालेस्टीन बाध्य नहुने घोषणा गरे तथा इजरायलविरुद्धको प्रदर्शनलाई प्यालेस्टाइनी जनताले बढाउँदै लगे । यसरी इजरायल र प्यालेस्टाइनीबिचको हिंसा फेरि भड्कियो र सन् २०१८ मा भएको आक्रमण र प्रत्याक्रमणमा गाजापट्टिमा गरेको इजरायली हवाई आक्रमणले प्यालेस्टाइनी जनताले ठूलो क्षति बेहोर्नुप¥यो ।
ओस्लो सम्झौतामा यासेर अराफात (दायाँ), एरियल स्यारोन (बायाँ) र विल क्लिनटन (बिचमा)
हमासको आक्रमणले दिएको नयाँ सन्देश
यही आक्रमण र प्रत्याक्रमणको एउटा सिलसिला थियो – पाँच दिनअघि शनिबार (अक्टोबर ६ का दिन) बिहानी समयमा हमासले इजरायलको विरुद्ध गरेको अप्रत्यासित र ठूलो आकारको हमला । संसारका सैनिक शक्तिमध्ये एकदम मजबुत, अत्याधुनिक मानिने इजरायलको सैनिक र संसारकै चुस्ट र दृढ मानिने उसको जासुसी संस्था मोसादकै इज्जतलाई यस हमासको आक्रमणले धुलो चटाइदिएकोमा संसारभरका विश्लेषकहरू सैनिक नेताहरूले यसलाई विभिन्न कोणबाट अध्ययन गर्दै आएका समाचारहरू आउन थालेका छन् । हो, यस पटकको युद्ध हामी नेपाल र नेपालीको लागि ज्यादै पीडादायी हुनपुग्यो । हामीले पनि आफ्ना नागरिक इजरायलको भूमिमा गुमायौँ । यस घटनाले हामीलाई पनि केही सन्देश पक्कै दिएको छ – एकातिर आफ्नो भूमि प्राप्तिको लागि सधैँ सङ्घर्षरत प्यालेस्टाइनी जनता र अर्कोतिर प्यालेस्टाइनीहरूकै जमीन हडपेर उल्टै उनीहरूलाई सधैँ हिंसाको माध्यमले दबाउन उद्यत रहने इजरायली सरकार भएको सो अशान्त र अनिश्चित भूमिको हामीले आफ्ना नागरिकलाई पठाउन नहुने हो । केही वर्र्षपहिले नेपालीले इराक र अफगान भूमिमा पनि यस्तै नियति भोग्नुपरेको थियो । नेपाली युवालाई विदेश पठाएर राजस्व असुल्न पल्केको सरकार र विदेश भनेपछि आखाँ चिम्लेर जान तम्सिने नेपाली युवा जमातलाई हामीले अब पनि झकझकाउन सकेनाँै भने नेपालीले विदेशी भूमिमा फेरि यस्तो नियती भोग्नु नपर्ला भन्न सकिने स्थिति छैन ।
अत्याधुनिक हतियार र सैनिकले मात्र जनताको न्यायोजित मागलाई सधैँ दबाउन हुँदैन र सकिँदैन भन्ने सन्देश यस घटनाले विश्व समुदायलाई दिएको छ ।
हिजो पनि आन्ध्र र प्रशान्त महासागरले घेरेको आफ्नो भूमिलाई अमेरिका अभेद्य ठान्थ्यो तर सेप्टेम्बर ११ मा अलकायदाको हमलाले त्यसलाई झूटो साबित गरिदियो । त्यसै शनिबारको हमासको हमलाले इजरायल पनि अभेद्य होइन भन्ने प्रमाणित गरिदियो । पश्चिमा शक्तिहरू र सधैँ इजरायललाई धाप दिइरहनेहरूले सिङ्गो मध्यपूर्वमा अब औपनिवेशिक सोचाइ र ‘फुटाउने र राज’ गर्ने नीतिलाई त्यागेर त्यहाँका जनताको न्यायोचित मागलाई नयाँ सिराबाट मनन गर्न अब ढिलो गर्नु हुँदैन । होइन भने पश्चिमाहरूको अस्तित्व मध्यपूर्वमा दिउसै मैनबत्ती बालेर खोज्नुपर्ने दिन नआउला भनी भन्न नसकिने अडकल काटिन्छ । हमासको आक्रमणको बदलामा इजरायलको आतङ्क अब कति दिन चल्ने हो त्यो भन्न सकिने अवस्था छैन । हो, हमासले युद्धको नाममा सर्वसाधारणलाई लक्ष्य भएकोमा युद्धको नियमको उल्लङ्घन देखिए पनि बीस लाख प्यालेस्टाइनीको बसोबासको सानो भूमि गाजापट्टिमा बिजुली, पानी र खाद्यानको आपूर्ति बन्द गरेर सर्वसाधारण प्यालेस्टाइनीहरूलाई जिउँदै मार्नु पनि कम अमानवीय होइन । सम्पूर्ण अन्तर्राष्ट्रिय जगत् यसमा सजग हुनैपर्छ र इजरायल–अमेरिकी अत्याचार विरोधको हमासको विद्रोह अन्यायसँग लड्ने एक आक्रोश भनेमा फरक नपर्ला !onlinemajdoor