

सबैलाई थाहा छ, हामी पृथ्वीमा निश्चित आयु लिएर आएका छौं। यो पनि थाहा छ कि, हामी कोही पनि हजार बर्ष बाँच्दैनौं। यो पनि थाहा छ, समाजलाई हजारौं बर्ष खुशी दिन हामी राजनीति गरिरहेका छौं। मलाई लाग्छ, राजनीतिमा सिर्जनशिलता भयो भने हजार बर्ष बाँच्दछ। कुरा हैन, कामले बाँच्नुपर्ने रहेछ। कुरा धेरै भयो, अब काम गरौं।
आयुले हैन, कामले बाँचेका मान्छेहरु छन् संसारमा। जस्तो कि गौतम बुद्ध, माक्र्स, लेनिन, माओत्सेतुङ, नेल्सन मन्डेला, अब्राहम लिंकन, महात्मा गान्धी आदिआदि।यी सबै मान्छे सधैंका लागि सम्झनयोग्य भए। कारण, उनीहरुमा आआफ्नो समय र सापेक्षतामा सिर्जनशिलता देखियो। मान्छे मरेर पनि बाँचिरहन उहाँहरुले जस्तै हामीले पनि राजनीतिमा सिर्जनशील कर्म गर्नै पर्दछ।
०००
जरा विचार हो भने जनता राजनीतिको जमिन। पछिल्लो समयमा नेपाली राजनीतिमा देखिएको समस्या जरालाई बिर्सनु हो। नेकपा (माओबादी केन्द्र)ले मात्रै हैन, आम राजनीतिक पार्टीले जरा र जमिनसँगको सम्बन्धलाई बलियो र भरपर्दो बनाउनुभन्दा पनि फूल र सुगन्धतिर आकर्षित हुँदै गएको देखिँदै छ। जनताभन्दा पद, पैसा र ‘पावर’का लागि मरिहत्ते गर्ने आम संस्कृति नै बन्दै छ। सवै राजनीतिक शक्ति र खासगरी माओवादी केन्द्रले समीक्षा, आत्मसमीक्षा गर्दै जरा र जमिनतिर फर्केर इतिहासमा जान वा अञ्जानमा जेजति गल्ती गर्यौं, त्यसप्रति जमिन अर्थात् जनतासँग माफी माग्नैपर्छ।
इतिहास पल्टाएर हेर्दा जब राजनीतिक शक्ति जनतासँग मिल्यौं, राणा शासन ढल्यो। पञ्चायत समाप्त भयो। राजतन्त्र समाप्त भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। व्यवस्था बदलियो। तर, देश र जनताको अवस्था बदल्न सकिएन। अवस्था बदल्न पनि व्यवस्था बदल्नजस्तै कठिन हुँदोरहेछ। त्यसैले अवस्था बदल्नका लागि जसरी जमिनको साथ जरालाई आवश्यक हुन्छ, परिवर्तनका निम्ति राजनीतिमा जनताको साथ अपरिहार्य हुन्छ।
वर्तमान राजनीतिक कार्यभारको पहिलो शर्त जनतालाई नुन, पानी र रोटी सुनिश्चित गर्नु, भ्रष्टाचार अशिक्षा र रोग अन्त्य गर्दै समाजिक न्यायसहितको समानतामा आधारित नेपाली विशेषताको समाजवाद निर्माण गर्नु हो। यो कठोर र चुनौतीपुर्ण परीक्षामा फेरि एकपल्ट उत्तीर्ण हुन वृहत् राष्ट्रिय जनएकता निर्माण गर्नैपर्छ। त्यसैले, ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्दै जनताको घरदैलोमा जरा र जमिन खोज्न अर्थात् आफैंलाई खोज्न माओवनदी फर्केका छौं।
राजनीतिको जमिन जनता हो। सिद्धान्त, विचार, दर्शन, संस्कृति जरा हो। प्रकृतिले हामीलाई यही कुरा सिकाएको छ– जसरी माटोलाई सुहाउने बिरुवा रोपियो भने मात्रै फुल्न सक्छ र फल्न सक्छ। व्यवस्था परिवर्तन गर्दासम्म हामीले माटोको गुण पत्ता लगायौं। अवस्था बदल्न हामीले माटोअनुसारको बिउ वा बिरुवा पत्ता लगाउन सकेनौं। यो आधुनिक युगमा माटोको परीक्षण गरेर बाली लगाएजस्तै अवस्था बदल्नको निम्ति अबको राजनीतिले नेपाली समाजको गहिरो प्राज्ञिक अध्ययन गरी गराइ विचारको आविष्कार गरेर नयाँ कार्यशैलीसहित परीक्षण गर्नैपर्छ।
समाजवाद ल्याउने कि समाजवादमा पुग्ने? हामीले अधिकांश समय ‘समाजवाद ल्याउने’ भन्यौं। कहिले चीनको जस्तो भन्यौं, कहिले रुसको जस्तो भन्यौं। कहिले ल्याटिन अमेरिकाको जस्तो भन्यौं। समाजवादलाई पनि बस्तु आयातजस्तै बनाउन खोज्यौं। समाजवाद आयात–निर्यात होइन, हाम्रो मौलिकतामा विकास गर्ने कुरा हो।
हामी ‘समाजवादमा पुग्ने’ हो। नेपाली समाजमा शताब्दीऔंदेखि खारिएका समाजवादमैत्री अभ्यास, संस्कृति, इतिहास, दर्शनहरु छन्, आधारभूत रुपमा तिनलाई जरा बनाएर समाजवादमा पुग्नुपर्छ, पुग्नेछौं भन्ने सन्देश प्रवाह गर्न सकियो भने मात्रै आजको नेपाली समाजवाद निर्माण हुनेछ, ‘ए समाजवाद भनेको पनि हाम्रै कुरा रहेछ’ भनेर जनतामा समाजवादप्रति विश्वास पैदा हुनेछ।
हामीसँग पुर्खाले सिकाइगएको संस्कृति छ, त्यो प्रकृतिमैत्री संस्कृति हो। त्यो ज्ञान र संस्कृतिलाई आजको विज्ञानसँग जोडेर हाम्रै मौलिकताको पर्यावरणमैत्री समाजवाद रसास्वादन गर्न पाउने छौं।
हाम्रो समाजमा आफ्नैखाले दर्जनौंदर्जन समाजवादमैत्री परम्परागत संस्था र अभ्यासहरु छन्। हिजो लिच्छवी कालमा समाजका पाँचजना व्यक्तिले सामूहिक रुपमा ठाउँको ठाउँ कामकारवाही गर्ने प्रक्रिया होस् वा किरातीहरुको मुन्दुममा आधारित विवाह संस्कारको साँचेप÷साङ्चेप वा थारुको बडघर वा नेवार समाजको गुठी। यी सबै हाम्रो माटोमा आधारित समाजवादका अनुपम भ्रुण हुन् जसलाई हामीले विकास गर्न सके रैथाने स्वाद र स्वामित्वसहितको समाजवाद निर्माण हुन जान्छ।
समाजवाद आजको नेपाली मौलिकतामा आधारित हुनुपर्छ। समाजवाद निर्माणको आधार संविधानले मार्गनिर्देश गरेको तीनखम्बे अर्थनीतिअन्तर्गत सरकारी, निजी र साझेदारी हुनेछ तर रैथानेहरुले अभ्यास गर्दैआएका सामूहिक र सहकारीय प्रकृतिका आर्थिक अभ्यासलाई पनि जरा मान्नैपर्छ।
हामीले आजसम्म पनि प्रतिव्यक्ति आयमा आधारित पश्चिमी औद्योगिक मुलुकका विकास ढाँचा पछ्याइरहेका छौं। जसले असमानताका अनेकथरि दुष्परिणाम भोग्न बाध्य छौं। त्यसैले, यो विकास मोडलको विकल्पमा जानैपर्ने भएको छ। अबको विकास प्रकृति र संस्कृतिमैत्री हुनुपर्छ।
आर्थिक असमानता हटाई समाजिक न्यायसहितको समतामूलक समाज विकास गर्न हाम्रो परम्परा, संस्कृति, रीतिरिवाजमा विद्यमान समाजवादमैत्री विचारहरुलाई समाजवादी दर्शनको एउटा जरा बनाउनुपर्छ।
०००
राजनीतिमा ‘मिसन ८४’ को हल्लाले प्रदुषण गरिरहेको छ। ‘मिसन ८४’ म्याद नाघेको औषधिजस्तै हो अर्थात् राजनीतिको एक पुरानो प्रपोगन्डा। तपसिलमा प्रदर्शित झाँकीहरु हेर्दा लाग्छ कि बोतल नयाँ रक्सी पुरानै हो।
आज राम्रो काम गर्नु भनेको भोलि राम्रो हुनु हो। भोलि राम्रो हुनु भनेको ८४ मात्रै हैन, ८९ पनि राम्रो हुनु हो र समग्रमा देशै राम्रो हुनु हो। हाम्रा सिद्धान्तलाई व्यवहार बनाऊँ अनि व्यवहार नै संस्कृति बन्यो भने देश सुन्दर बन्नेछ।
जनयुद्धमा हामी गाउँमा थियौं र अरु पार्टीहरु शहर र सदरमुकाममा थिए। शान्ति प्रक्रियासँगै माओवादीहरु शहर र सदरमुकाममा आयौं। नयाँ जोगीले धेरै खरानी घस्छ भनेजस्तै शहर, सम्पत्ति र सुखको होडबाजीमा जानिनजानी लाग्यौं। माओवादीसँग युद्धमैत्री संगठनात्मक संरचना मात्रै भएकोले शान्ति प्रक्रियामा आएलगत्तै नयाँ संगठनात्मक संरचना निर्माणमा होमिनुपथ्र्यो तर भएन। माओवादीको पहिलो गल्ती त्यहाँ भयो।
पहिलो संविधानसभामा जनताले माओवादीलाई अभूतपूर्व मतदान गरे। माओवादीले त्यसलाई जनयुद्धको अनुमोदन ठान्यो जसले गर्दा माओवादीपंक्तिमा अहंकार र अतिरिक्त आत्मविश्वासको ग्राफ स्वाट्टै बढ्यो। दोस्रो गल्ती त्यहाँ भयो।
खासमा माओवादीले उठाएका सवालहरुप्रति आंशिक समर्थन जनाउँदै शान्ति प्रक्रियालाई जनताले अनुमोदन गरेका थिए। भारी जनमत देखेपछि हामीभित्र अहंकार भरियो र ‘जनयुद्धबाटै नयाँ जनवाद ल्याउन सकिन्थ्यो, अब पनि जनविद्रोहबाट नयाँ जनवाद ल्याउन सकिन्छ’ भन्ने बुझाइ बलियो हुन पुग्यो। जसले गर्दा आन्तरिक कलह बेहोर्दै पार्टी विभिन्न चिरामा विभाजित हुनपुग्यो। परिणाम जनतामा ठूलो अविश्वास पैदा भयो, जरा काटियो।
आन्तरिक कलहले माओवादी पार्टी कमजोर नभएको भए अहिलेको भन्दा धेरै प्रगतिशील संविधान बन्थ्यो। जनताका थुप्रै सवालहरु संविधानमार्फत् संस्थागत हुन पुग्दा त्यसको जस पाएर माओवादी पार्टीले जमिनमा बलियो जरा गाड्न सक्थ्यो। त्यसो हुन नसक्दा माओवादी पार्टीप्रति जनतामा वितृष्णा पैदा भयो।
माओवादी पार्टी पनि जुनै जोगी आए पनि कानै चिरेको हुन पुग्यो। अगुल्ठोले कुटिएको कुकुर विजुली चम्किँदा तर्सनु स्वभाविक थियो। जनतामा पैदा भएको त्यो वितृष्णालाई विश्वासमा कसरी बदल्ने?
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ समग्र उत्तर खोज्ने आधार बन्नुपर्छ।
(संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती नेकपा माओवादी केन्द्रका नेता हुन्)