

बामलोकतान्त्रिक गठबन्धनका पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोम प्रसाद पाण्डेले तिनाउँ क्षेत्रको खानी र खनिज पदार्थहरुको उचित व्यवस्थापन गरिने बताउनुभएको छ । उहाँले तिनाउँ क्षेत्रमा चुनढुंगा, फलाम, ग्रेनाइट जस्ता खानिजहरुको उचित व्यवस्थापनको लागि आफू उद्योग मन्त्री हूँदा सर्वेक्षण र अनुसन्धान समेत गरेको बताउँदै त्यसको समुचित व्यवस्थापन गरेर पाल्पाली जनताको विकासमा लगाउने बताउनुभएको छ ।
तिनाउँ गाउँपालिकाको वडा नं. २ दोभन, ३ झुम्सा र ६ नं. मस्याम क्षेत्रमा घरदैलो तथा सभामा बोल्दै उम्मेद्वार पाण्डेयले कतिपय क्षेत्रमा खानीको कारणले बस्ती नै विस्थापित हुनुपर्ने अवस्था आएकोले त्यसको उचित क्षतिपूर्ती सहित राहतको प्याकेज समेत ल्याउने बताउनुभयो । उहाँले यहाँको जनताको समस्या समाधानका लागि निर्वाचित भएपछि जनताकै माग र योजनाको आधारमा काम गर्ने बताउनुभएको छ ।
उहाँले यस क्षेत्रको सडक, पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पशुपालन लगायतको विकासको लागि धेरै बजेट विनियोजन गरेको बताउँदै अझै पनि केही समस्या भएका क्षेत्रमा योजना बनाएर ल्याउन जनतालाई आग्रह गर्नुभयो, जनताले योजना बनाएर ल्याएमा त्यसमा कुनै पनि हालतमा बजेटको कमि हुन नदिने समेत नेता पाण्डेयले बताउनुभयो ।
उहाँले पाल्पा बुटवल सडकको सिद्धबाबा क्षेत्रको बाटोमा आफुनै पहलमा १० अर्वको बजेट सुनिश्चित भएको र अहिले ठेक्का प्रक्रियासँगै सुरुग मार्ग निर्माणको चरणमा रहेको समेत बताउनुभयो । उहाँले सिद्धार्थ राजमार्ग वरपर राजमार्ग क्षेत्रको वस्तीमा टिप्परको धुलो र धुवाँ तथा ध्वनी प्रदुषण नियन्त्रणमा आफूले ध्यान दिने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा (२) २ का उम्मेद्वार तुलाराम घर्तीले आफू पनि तिनाउँ क्षेत्रकै बासिन्दा भएकाले तिनाउँ क्षेत्रको जनतालाई परेको मर्कामा आफू सदैव हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले तिनाउँको दोभान र मस्याम क्षेत्रको समग्र आर्थिक र पूर्वाधार विकासमा आफूले काम गरेको बताउँदै आगामि दिनमा समेत निरन्तरता दिने भएकाले बामलोकतान्त्रिक गठबन्धनलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।
उहाँले दोभान क्षेत्रको पर्यापर्यटन विकास र आयस्तर वद्धिमा लगाउनको लागि रानी झरना, अविरल पार्क लगायतको क्षेत्रमा बजेट विनियोजन गरेको बताउनुभएको छ । यस्तै सिद्धबाबा क्षेत्रको बाटोको बैकल्पिक मार्गको विकास झुम्सा चङ्गे मोटरबाटो, दोभान नुवाकोट मोटरबाटो, दोभान–कचल मोटरबाटोमा समेत आफूले बजेट विनियोजन गरेको बताउँदै यस क्षेत्रको समस्यामा आफूले दत्तचित्त भएर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा बामलोकतान्त्रिक गठबन्धनका जिल्ला संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेपाली काँग्रेसका बरिष्ठ नेता जुद्ध बहादुर थापा, युवा नेता प्रेम पाण्डे, माओवादी केन्द्रका तिनाउँ गाउँपालिकाका अध्यक्ष तथा पूर्व गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठ लगायतका नेताहरुले तिनाउँ र समग्र पाल्पा जिल्लाको विकासको लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउनुपर्ने बताउनुभयो ।
उहाँहरुले दशवर्षे जनयुद्ध, २०६२।६३ को आन्दोलन लगायतका आन्दोलनले देशमा व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएकोले अवस्था परिवर्तनको लागि आफूहरुले बाम लोकतान्त्रिक गठबन्धन गरिएको बताउनुभयो । कार्यक्रममा बामलोकतान्त्रिक गठबन्धनमा आवद्ध दलका नेताहरुले समेत अहिले गठबन्धनमा मत दिन जनतलाई आग्रह गर्नुभयो, उहाँहरुले पहिले एमालेलाई दुईतिहाइ मत दिएपनि जनमत कुल्चेर फालेका कारण अहिलेको गठबन्धन भएको बताउनुभयो ।